नेपाललाई खेलकुदको पाठ


नेपाल साप्ताहिकको २०७१ श्रावण ५ अंक मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “नेपाललाई विश्वकपको पाठ” को अंश । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


कतारलाई आयोजक चुन्दा भएको मतदानमा नेपालकै अखिल नेपाल फुटबल संघले पनि महत्त्वपूर्ण मत हालेको थियो। आखिर आफ्नै देशको अपारदर्शी फुटबल संघको पनि समर्थनको बलमा आयोजना हुने प्रतियोगिता नेपाली कामदारहरूको शोषण र मृत्युको कारण बनिरहेको छ। खेल र खेलबाहेक अरू विषयसँग सम्बन्धित यस्ता समस्या नेपालजस्ता देशमा पनि प्रशस्त छन्। र, प्रायः ती समस्याका कारण एवं प्रकार उस्तै छन्। जनताको भावनात्मक कमजोरी पहिचान गरेर अपारदर्शी संरचना र सत्ताको प्रवर्द्धन गररिहने पात्रहरू हामीकहाँ पनि छन्। ती कमजोरी राष्ट्रियताका नाममा प्रदर्शित हुन सक्छन् वा राजनीतिक आस्थाका रूपमा वा अन्य सांस्कृतिक मान्यता र आचरणहरूका रूपमा। तीप्रति हाम्रो सम्मानको कारण हामीमाथि नै शोषण गर्न सजिलो हुने वातावरण हामीले बनाइरहेका पनि हुन सक्छौँ।

स्केच: रवीन्द्र मानन्धर
स्केच: रवीन्द्र मानन्धर

जर्मनीको विश्वकप कथा

यसपटकको विश्वकपमा ब्राजिलको तुलनामा व्यक्तिगत प्रदर्शन गर्न सक्ने खेलाडी कम भए पनि जर्मनीको सफलताका थुप्रै अनुकरणीय पक्ष छन्। उसको जित योजना, मिहिनेत र अनुशासनको जित हो। करबि डेढ दशकअघि फुटबल प्रतियोगिताहरूमा असफलता हात लाग्न थालेपछि जर्मनीमा योजनाबद्ध ढंगले सुधारका कार्यक्रम थालिए। छिमेकी नेदरल्यान्ड्स र बेल्जियमको समेत सिको गर्दै उसले देशैभरि फुटबल एकेडेमी, तालिम र छनोट कार्यक्रमहरू सुरु गर्‍यो। यही निरन्तर प्रयासको स्वरूप यसपटक आफ्नो आकर्षण र अनुशासित खेल प्रदर्शन गरेर उसले विश्वकप र थुप्रै प्रशंसक जित्न सक्यो।

एकीकृत जर्मनीका निम्ति आफ्नो तीतो विगत बिर्साउने र वर्जितजस्तै बनेको राष्ट्रप्रेमको प्रदर्शन गर्न फुटबलले सहयोग गरेको छ। यसका अतिरिक्त फुटबल जितले विकसित देशको अर्थतन्त्र र प्रचारमा पनि सकारात्मक भूमिका निर्वाह गर्छन्। विजेता देशका रूपमा उसको राम्रो छवि बन्छ र लगानीको आकर्षण बढ्छ। जितको केही समयसम्म सकारात्मक भावनाका कारण जर्मनीको अर्थतन्त्र चलायमान रहिरहनेछ र खर्च बढ्नेछ। यति मात्र नभएर जर्मन टोली र देशकै छवि एकअर्कासँग सम्बन्धित पनि छन्। जर्मनीलाई कुशल कार्यव्यवस्था गर्न सक्षम र अनुशासित देशका रूपमा चिनिन्छ। फुटबल टोलीको यस्तो सफलता र छविले देशको यो पहिचानलाई झन् बलियो बनाउनेछ। वास्तवमा देशको छवि फुटबल टोलीमा सरेको हो कि फुटबल व्यवस्थापनको छवि देशमा सरेको हो भनेर प्रश्न गर्न पनि सकिन्छ। यस किसिमको सकारात्मक छविले देशको राजनीति, कूटनीति, संस्कृति, आत्मविश्वास र व्यापार आदि व्यापक क्षेत्रहरूलाई प्रभावित पार्न सक्छन्।

व्यक्तिगत सीप र खुबी महत्त्वपूर्ण कुरा भए पनि तिनकै भरमा मात्रै आजको अति प्रतिस्पर्धी विश्वमा धेरै सफलता हासिल गर्न मुस्किल छ। जर्मनीको जित कुशल योजना, टिमवर्क उत्तरदायी नीति निर्माण र वास्तविकताप्रति संवेदनशील सोचाइको जित हो। र, यो कुरा नेदरल्यान्ड्स र बेल्जियमजस्ता साना देशले फुटबलमा पाएको ठूलो सफलताको हकमा पनि लागू हुन्छ। अनि, लागू हुन्छ, अफ्गानिस्तानले क्रिकेटमा पाइरहेको सफलता र नेपालले भोगिरहेको समस्यामा पनि।

नेपाली क्रिकेट र फुटबल

सफल र आदर्श क्रिकेट कप्तान पारस खड्काकै सुझाव माने पनि नेपालले धेरै सुधार र प्रगति हासिल गर्न सक्थ्यो। तर, विडम्बना नै भन्नुपर्छ, कुनै विश्वविद्यालय, प्रोफेसर वा म्यानेजमेन्ट कन्सल्ट्यान्टले जत्तिकै महत्त्वपूर्ण र गहन कुरा गरेका पारसको सुझावलाई हालसम्म खासै ध्यान दिइएको छैन।

यही कुरा फुटबल खेलका निम्ति मात्रै नभएर संगीत, कला, साहित्य, विज्ञान र अन्य थुप्रै क्षेत्रका हकमा पनि लागू हुन्छ। राम्रो योजना र व्यवस्थापनका साथै उचित प्रक्रियाको अवलम्बन, राजनीतिक-सामाजिक खुलापन र अनुशासित कार्यसम्पादनको नतिजा अक्सर उद्दण्डता, क्रान्तिकारिता, अपारदर्शी र तानाशाही प्रवृत्ति, भ्रष्टाचार तथा संकीर्णता अनि तजबिजी रूपमा जथाभावी कार्यसम्पादनको भन्दा राम्रै हुने गर्छ।

पारसले नेपाली क्रिकेटको व्यवसायीकरणको माग गरेका छन्। उनले अफगानिस्तानको उदाहरण दिँदै नेपालले अरू सफलता पाउने हो भने गर्नुपर्ने कार्यहरूको सूची नै प्रस्तुत गरेका छन्। तीमध्ये महत्त्वपूर्ण सुझावहरू हुन्, नेपाल क्रिकेट संघ (क्यान)मा प्रमुख कार्यकारी नियुक्त गरेर व्यवसायीकरण गर्नु, घरेलु लिग बलियो बनाउनु, क्षेत्रीय स्तरमा खेलाडीहरूको विकासमा ध्यान दिनु र समग्रमा खेललाई अपारदर्शी र जथाभावी क्रान्तिकारिताबाट मुक्त गरेर संयमित एवं अनुशासित व्यवस्थापनको जिम्मा छोड्नु। हाल क्यानमा तलब नखाने र स्वयंसेवकका रूपमा काम गर्ने राजनीतिक पार्टीहरूद्वारा नियुक्त खेलसँग असम्बन्धित मानिसहरूको हालीमुहाली छ। उचित व्यवस्थापन प्रक्रियाको अवलम्बन गर्ने हो भने प्रतिस्पर्धाबाट चुनिएका र दक्ष योजनाकारहरूलाई राम्रो तलब-सुविधासहित नियुक्त गरेर कुनै सफल र पारदर्शी कम्पनीजस्तै क्यानलाई सञ्चालन गर्नुपर्छ। उचित व्यवस्थापन प्रक्रियाको महत्त्वलाई जति जोड दिए पनि कम नै हुन्छ। पारसले भनेजस्तै हालसम्म प्राप्त सफलता खेलाडीहरूको व्यक्तिगत सीप, लगन र कौशलबाट मिलेको हो। तर, यो दीर्घकालीन तरिका हुन सक्दैन। जोस र व्यक्तिगत सीपकै भरमा हासिल हुने सफलताका सीमा छन्।

“जे गरे पनि भइहाल्ने” हुँदैन

नेपालको फुटबल धेरै सम्भावना बोकेर पनि उचित व्यवस्थापन नपाउँदा थला परेर बसेको छ। हामीकहाँ सफल भएका स्थानीय निकाय, वन संरक्षण, सामुदायिक विकास प्रयासहरूजस्ता सकारात्मक अनुभवहरूलाई पनि संस्थागत नगर्दा र उचित व्यवस्थापन प्रक्रिया नअपनाउँदा धराशयी बन्ने क्रममा बढेका धेरै दृष्टान्त छन्। शिक्षण अस्पताल, पुल्चोक इन्जिनियरङि क्याम्पस, रामपुर कृषि क्याम्पस, प्राविधिक शिक्षालय, विज्ञान प्रविधि अनुसन्धान प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठानजस्ता अन्य क्षेत्रका सफलताहरू पनि यस्तै कारणले गर्दा सुस्ताएका छन्।

खासमा जे गर्दा पनि भइहाल्छ नि भन्ने तदर्थवादी संस्कार र ‘नेपाली विशेषता’को क्रान्तिकारतिाको नाराका पछाडि लाग्दा हामीलाई धेरै घाटा पुगेको छ। केही प्रक्रिया, व्यवस्थापन सीप र कार्यकौशलताका तरिका अचेल विश्वव्यापी रूपमा स्थापित भइसकेका छन्। तिनमा नेपाली मौलिकता खोजिरहनु पर्दैन, केवल कार्यान्वयनमा सिर्जनशीलता प्रयोग गरेर आफ्नो ढाँचाका काम गरे हुन्छ। तर, ती आधारभूत सिद्धान्त र तरिकाको बेवास्ता गरेर वर्षौं संविधान नबनाएर समय खेर फाले पनि चलिहाल्छ, दुई दशक स्थानीय निकाय चुनाव नगरे पनि बाटोघाटो बनेकै छन्, जथाभावी संस्थाहरू चलाए पनि खेल जितिएकै छ, नेपाली वीर छन्, जसरी पनि गरखिान्छन्, भन्ने जस्ता अनावश्यक आत्मविश्वास हाम्रा निम्ति हानिकारक छन्। यिनले दीर्घकालीन रूपमा हाम्रो क्षमता र प्रतिस्पर्धी क्षमता ह्रास गररिहेका छन्।

Advertisements

नेपाली एकताका सूत्र


मैले जति पनि मधेसी समुदायका मानिस चिनेको छु वा बेलाबेलामा भेट्न पाइरहन्छु, उनीहरू कोही पनि नेपाली हुन नचाहेको, नेपाली बोल्न नखोजेको वा हिमालको कुरा गर्दा खुसी नभएको देखेको छैन।

हामी देख्न सक्छौँ, वाग्मती सफाइ अभियान र डा गोविन्द केसीको अनशनमा नेपालीले आफू एकै भएको भावना मुखरति गर्न खोजिरहेको। वा, अन्य यस्तै यस्तै कुरामा। यस्ता अभियानका आफ्नै महत्त्व छन्। तर, देश एकताबद्ध हुने यस्ता कुराले होइन।

नेपाल एउटा देश हो र देश भइरहने हो भने देश हुनुका कारण पनि यथावत् रहनुपर्छ। सांस्कृतिक विविधता भएका देशमा विभिन्न समुदायलाई जोड्ने केही तत्त्व सधैँ हुन्छन् वा निर्माण गरिन्छन्। जस्तो: सबैले स्वीकार र गर्व गर्ने संविधान कुनै देशको एकताको सूत्र हुन सक्छ। त्यस्तै, अनिवार्य सैनिक तालिममार्फत धेरै समुदायलाई देशप्रति अपनत्वको भावना विकास गर्ने गरिन्छ। कुनै एउटा साझा भाषा वा देशको भौगोलिक सिमाना र प्रकृति पनि जनतालाई जोडेर राख्ने माध्यम बन्न सक्छन्। यस्ता एकताका सूत्र जनताले आफैँ स्वीकार र विकास गरेको हुनुपर्छ। तर, देशलाई त्यसरी भावनात्मक रूपमा आपसमा जोड्ने कुनै कडी नरहने र अरू देशभन्दा फरक हौँ भन्ने महसुस हुने कुनै तत्त्व नहुने हो भने देश एक रहिरहन सक्दैन।

नेपालको हकमा नेपाली भाषा त्यस्तै एकताको एउटा सूत्र हो। यस किसिमको भाषा अन्य बहुसांस्कृतिक देशमा पाउन निकै गाह्रो छ। यस अर्थमा हामी भाग्यमानी हौँ। सबै समुदायका आ-आफ्ना भाषा पनि प्रवर्द्धन र संरक्षण गर्नुपर्छ र यसमा नेपाली भाषा बाधक हुनुपर्ने कुनै कारण छैन। मैथिली भाषाको विकास भएर त्यसको स्वचालित अनुवाद गर्ने सफ्टवेयर अन्य देशमा होइन, नेपालमै बन्यो भने त्यो म गैरमैथिलीभाषीका निम्ति पनि गर्वको विषय हुनेछ। त्यसरी हामीले आफ्ना भाषाहरूको विकास गर्दा नै तिनमा हाम्रो दाबी र हक अरू देशको भन्दा बलियो हुनेछ।

त्यस्तै नेपालको भौगोलिक विशेषताले पनि हामीलाई जोडेको छ, जुन अन्यत्र पाइँदैन। हिमाल सबैलाई मन पर्छ। हामी घुम्न, सूर्योदय हेर्न, फेसबुकमा राख्न वा अरूलाई सुनाउनकै निम्ति भए पनि विश्वका सबैभन्दा अग्ला हिमालसँग जोडिन चाहन्छौँ। उग्र नारा दिनका निम्ति हिमाल पहाडी समुदायको मात्रै पेवा हो भन्न त सजिलो छ तर वास्तविक रूपमा हिमालमा स्थायी बसोवास गर्ने त शेर्पालगायतका केही सीमित समुदाय मात्रै हुन्। पहाडकै खोँच परेको ठाउँ वा नजिकै कुनै होचो डाँडो रहेको ठाउँबाट हिमाल देखिँदैन तर तराईका धेरै खुला फाँटहरूबाट हिमालको मनोरम दृश्य देखिन्छ। यसले नेपाली भूगोलसँग जोडिएको र नेपाली परचियको बोध गराउँछ।

यस्ता नेपाली एकताका सूत्रहरूसँग तराईका मधेसी जनताको कुनै लगाव छैन भन्नु उनीहरूको अपमान गर्नु हो। मैले जति पनि मधेसी समुदायका मानिस चिनेको छु वा बेलाबेलामा भेट्न पाइरहन्छु, उनीहरू कोही पनि नेपाली हुन नचाहेको, नेपाली बोल्न नखोजेको वा हिमालको कुरा गर्दा खुसी नभएको देखेको छैन। पहाडका विभिन्न समुदायको हकमा पनि यही लागू हुन्छ। बरू अरूले तिनलाई त्यस विपरीतको आरोप लगाउँदा तिनलाई चोट पुगेको देखेको छु। त्यस्ता आरोप लगाउनेहरूको कारण बरू झनै बल गरेर आफूलाई धेरै नेपाली भएको देखाउनुपर्ने नराम्रो बाध्यता रहेको पाएको छु। के यो उनीहरूको अपमान होइन? इतिहासमा पूर्वी तराईको विजयपुर क्षेत्रमा हिमालदेखि तराई फैलिएका राज्य थिए। मधेस र पहाडका राजाहरू मिलेर आफ्नो सिमाना विस्तार गर्थे र त्यो साझा भूगोलमा सत्ता चलाउँथे। नेपालको पौराणिक परचिय पनि हिमवत् खण्ड, पशुपति, पर्वत, खोलाहरूसँग जोडिएको छ।

यस्तो ऐेतिहासिक निरन्तरता र साझा परचिय भएको भूगोललाई आज कसैको मात्र बनाउने जबरजस्ती प्रयास चलिरहँदा नेपाली मन दुखेको छ। नेपाली भाषामार्फत राष्ट्रिय एकता झन् बलियो बनाउने अवसर हुँदा हुँदै देशवासीबीच पर्खाल खडा गर्ने दुष्प्रयत्नले आमजनतामा अन्योल छाएको छ। अरू केही नहुँदा पनि साझा भूगोल, भाषा वा संविधानले नेपालीलाई एकताको सूत्रमा बाँध्न सक्छ। तर, यी सबैका विरुद्ध उभिनेहरूसँग जनता नराम्रोसँग रिसाएका छन्।


यो ब्लग नेपाल साप्ताहिकको अंक ६४२ (२०७२ वैशाख ६) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउराली को लेख “एमाओवादीलाई सुझाव” लेखमा आधारित छ । सो लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला

धर्म, लोकसंस्कृती र इतिहासबिचको सम्बन्ध


यो ब्लग नेपाल साप्ताहिकको अंक ६४७ (२०७२ जेष्ठ १०) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउराली को लेख “भाग्न नसकिने भूगोल र इतिहास” लेखमा आधारित छ । सो लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


आधुनिक देखिन चाहेर जतिसुकै प्राचीन ज्ञानको अवमूल्यन गर्न खोजे पनि तिनै धार्मिक ग्रन्थ र कथाहरूमा मानव जातिको युगौँदेखिको निरन्तरता, अनुभव र चेतना लुकेका छन्।

नेपालको इतिहासमा धेरैपटक भूकम्प र बाढी आएको छ। विसं ११९८ को भूकम्पमा परेर त राजा अभय मल्लको समेत निधन भएको भन्ने छ । के थाहा, धरहराजस्तै भूकम्पमा परेर अद्भुत भनिएको कैलाशकुट दरबार पनि पुरिएको हो कि ? बाढीकै कुरा गर्दा नेपालका खोलानदीले गंगाका फाँटहरू जलमग्न हुने हुँदा त्यहाँका धेरै मानिस सुरक्षित स्थानमा बसाइँ सरेकाले नेपालको तराईका धेरै भूभाग आवाद भएको मानिन्छ। यो क्रम निकट विगत र अहिलेसम्मै पनि चलेकै छ। राजनीतिक राज्यहरूको विकास हुनुअघिसम्म पनि मानवजातिको अस्तित्व रक्षाको एउटा अचूक माध्यम बसाइँसराइ हुने गथ्र्यो। मौसम परिवर्तन भएर विश्वव्यापी तापक्रम बढ्दै गएमा पृथ्वीका एकदम उत्तरी र दक्षिणी भेगका स्थानहरू मात्रै बस्न लायक बन्न सक्छन् वा फेरि अर्को बरफ युग सुरु भएमा भूमध्य–रेखा वरपर मात्रै आवादीयोग्य बन्न सक्छ।

201505248429-600x0

पृथ्वीमा विभिन्न किसिमका प्राकृतिक घटना भइरहेका हुन्छन्। वैज्ञानिकहरूका अनुसार आजभन्दा करिब १० हजार वर्षपहिले पृथ्वीमा हिम–युगको अन्त्य भएको थियो। त्यस युगमा पृथ्वीका अधिकांश स्थान जमेर बरफले पुरिएका थिए। अहिले पृथ्वीका ध्रुव र उच्च स्थानमा मात्र हिउँ छन्। तर, हिम–युगमा पृथ्वीको करिब मध्य भागसम्म बरफ थियो र अहिले समुद्र रहेका स्थानहरू पनि जमेका कारण त्यसमाथि हिँड्न सकिन्थ्यो। तर, बरफ युगको अन्त्यसँगै ती पग्लिन थाले। त्यस बखत सभ्यता बसेका धेरै स्थान पानीले पुरिए, पहिले जोडिएका स्थान र महादेशहरूबीच समुद्र र ताल बने। पानीको सतह बढेपछि मानिसहरू उत्तरतिर बसाइँ सर्न थाले। यो प्रक्रिया पृथ्वीमा चलिरहेको हुन्छ। बरफ युग सुरु हुँदा दक्षिणतिर बसाइँ सर्ने र बरफ युग सकिएपछि उत्तरतिर बसाइँ सर्ने गरेरै हाम्रा पुर्खा बच्दै आएका हुन्।

यो क्रम संसारभरकै सभ्यतामा चलेको मानिन्छ। त्यस कारण नेपालमा अहिले पनि इन्डोनेसिया र अस्ट्रेलियातिरका आदि–मानव र भाषाहरूको अवयव जीवित छ। त्यस्तै यस भूभागका मानव पनि निकै परसम्म पुगेका प्रमाणहरू भेटिएका छन्। विश्वभरकै लोककथा, किंवदन्ती र धर्महरूमा आदिम कालमा आएको बाढीको वर्णन पाइन्छ। जबरजस्ती आधुनिक देखिन चाहेर जतिसुकै प्राचीन ज्ञानको अवमूल्यन गर्न खोजे पनि तिनै कथा, धार्मिक ग्रन्थ, गीत र लोक–परम्परामा मानव जातिको युगौँदेखिको निरन्तरता, अनुभव र चेतना लुकेका छन्। तिनमै हाम्रो प्रजातिले सिकेको अस्तित्वको खोजी र रक्षाका इतिहास लिपिबद्ध भएका छन्। तिनलाई एकोहोरो निन्दा गर्नु र अन्ध–अनुसरण गर्नुभन्दा तिनको अध्ययन र विश्लेषण गर्नुपर्ने हो। भूकम्प आउँदा पनि हामीले एक–आपसमा मिलेर बस्ने, गीत गाउने, पूजा–आजा गर्ने, जीवन र जगत्को अर्थ सोध्ने, अस्तित्व रक्षाका प्रश्नहरूले घेरिने अनुभव धेरैले गरेका छौँ, भोग्नेहरूले अझ बढी।

डेढ महिनाअघि मात्रै रसुवा र नुवाकोट क्षेत्र भ्रमण गर्दा बस र पदयात्राका दौरान थुप्रैसँग बात मार्ने अवसर मिलेको थियो। विभिन्न समुदाय, पेसा र वर्गका मानिसमा त्यस क्षेत्रमा बन्दै गरेका जलविद्युत् योजनाहरू र नयाँ मोटरबाटाले आशा सञ्चार गरेका थिए। तिनको बोलीमा केही समय लागे पनि बिस्तारै अझै राम्रा दिन आउनेछन् भन्ने विश्वास थियो। माथि लाङटाङ क्षेत्र पुग्दा पर्यटन र नेपाली समाजको जटिल बनोटका थुप्रै आयाम देखिएका थिए। विभिन्न स्थानमा नेपाली समाजको अचम्मको सौहार्दता अनुभव गर्न पाइयो। पथप्रदर्शक, होटल सञ्चालक, कामदार, स्थानीय, पर्यटकदेखि विभिन्न व्यक्तिसँग केही बेरमै मित्रवत् भइन्थ्यो, जुन सायद संसारका निकै कम मात्र स्थानमा सम्भव हुन्छ। विदेशी पर्यटकमा पनि आफू सुरक्षित रहेको भावना प्रस्टै देखिन्थ्यो र एक्लै हुँदा पनि डराउने स्थिति नरहेको उनीहरू नै भनिरहेका थिए।

नेपाली समाजका मौलिकता, सौहार्दता र मेलमिलाप भूकम्पपश्चात् पनि प्रचुर मात्रामा देखिए। नेपालजस्तै आर्थिक–सामाजिक स्थिति भएका देशमा यस किसिमका प्रकोपपछि लुटपाट र हिंसा मच्चिएका दृष्टान्त छन्। अमेरिकामा पनि गत दशकमै मात्र आँधी आएपछि व्यापक लुटपाटका घटना भएका थिए। नेपालमा त्यस्तो केही भएन। भूकम्प आएकै दिनदेखि सरकारको अनावश्यक आलोचनामा केही सञ्चारमाध्यम लागिपरे र केही विदेशी संस्था र मिडियाले पनि पाटन क्षेत्रमा लुटपाट चलेको अफवाह चलाउने कोसिस गरे। तर, समाजमा सहयोग र सौहार्दता कायमै रह्यो। यो हाम्रो शक्ति र ठूलो पुँजी हो। दशकौँको कुशासन, गृहयुद्ध, आर्थिक कठिनाइजस्ता बाधाले पनि हाम्रो समाजका यस्ता राम्रा गुण ध्वस्त पार्न सकेको रहेनछ।