#IamWithDrKC: केसी अनसनको आँखीझ्याल: कहाँ कहाँ चुकेका छौं हामी?


यो लेख पहिलोपटक ५ साउन २०७३ मा नेपालखबर मा प्रकाशित भएको थियो। नेपालखबरमा पढ्नको लागि यहाँ क्लिक गर्नुहोला


डाक्टर गोविन्द केसी आठौँ पटक अनसनमा हुनुहुन्छ र वहाँको ज्यान फेरी खतरामा छ। तर राजनीति र समाचारको शिर्षमा भने सरकार फेरबदलका घटना छन्। विदेशका समाचारमा समेत सरकार फेरिन लागेकोमा खुशी व्यक्त हुँदैछ। देश भित्र सधैँ झैँ कोही खुशी र कोही दु:खी छन्। दलहरूमा आबद्ध नभएका धेरैलाई भने राजनीतिको यो रङ्ग विहीन खेल देखेर वाक्क लागेको छ।

राजनीतिलाई पेसा बनाएका मान्यवरहरू: तपाईँलाई बचाउन जनता सधैँ उठ्नेछन् भन्ने भ्रमबाट बिउँझिँदा निकै ढिलो होला, अहिल्यै ख्याल गर्नुहोस्।

हरेक वर्ष नयाँ सरकार, पद बाँडफाँडको लफडामा आयोजनाहरू अलपत्र, नयाँ मन्त्री र तीनका नयाँ नयाँ चर्तिकला। तिनले बिगार्ने थिती र थप्ने दुर्दशा। हरेक नयाँ सरकारका सदस्यहरू पहिलेका सरकारभन्दा लज्जा विहीन ढङ्गले राज्यस्रोत दोहन गर्ने र जनता पिर्ने काममा तछाडमछाड गरे झैँ लाग्छन्।

images7ccms-image-000000793
Picture: प्रविण ज्ञवाली (nepalkhabar.com)
 

डा केसीले पटक पटक आन्दोलन गर्नुपर्ने स्थिती दु:खद भएपनि त्यसका सकारात्मक पक्षबारे पहिले कुरा गरौँ। मनोरञ्जन गरेर बस्न सक्ने युवाहरू देश-विदेशबाट आफूले सकेको आवाज र समर्थन दिएर डाक्टर केसीको आत्मा नै नेपाली युवाको सास हो भन्ने दर्शाइरहेका छन्। यद्यपी यस तथ्यप्रति पुरै वेवास्ता गरेर हाम्रा आफ्नै राजनीतिज्ञहरू भने हाम्रो सास दबाएर यो जिवित समाजको प्राणपखेरू मार्न उद्दत देखिन्छन्।

दलहरूले यति मनपरी गर्दा पनि नेपालीहरू आफ्नो देशको भविष्यप्रति पुरै उदासिन भएका छैनन्। उनीहरू अझै नेपालमा घर-सम्पत्ति जोडिरहेका छन्, नयाँ व्यापार व्यवसाय खोल्दैछन्। चुनाव हुँदा ठूलो संख्यामा मत हाल्न लाम लाग्नुको अर्थ हो राजनीतिक प्रकृयाप्रति अझै बाकिँ रहेको विश्वास। त्यस्तै सामाजिक कार्य र अरू राजनीतिक अभियानमा पनि धेरै मानिसको सहभागिता देखिन्छ। ती सबै राम्रा छन् वा छैनन् त्यो अलग कुरा हो, तर कसैगरी स्थिती सुधार गर्न सकिन्छ कि भनेर मानिस प्रयास गर्न छोडेका छैनन् र भविष्यको आशा मारेका छैनन्।

डा केसीको आन्दोलन प्रति जनताको ठूलो समर्थन र आस्था पनि यसैको प्रतीक हो। राजनीतिक दलहरू र विशेषगरी नयाँ पुस्ताका नेताहरू यस कुरालाई महत्व नदिएर ठूलो गल्ति गर्दैछन्। नेपाली जनताले आफ्नो राजनीति र देशबाट आश गर्न छोडेको दिन बज्रने पहिलो आवाज यिनै दल र तिनका हर्ताकर्ताहरूको रोदन हुनेछ। राजनीतिलाई पेसा बनाएका मान्यवरहरू: तपाईँलाई बचाउन जनता सधैँ उठ्नेछन् भन्ने भ्रमबाट बिउँझिँदा निकै ढिलो होला, अहिल्यै ख्याल गर्नुहोस्।

अनसनरत डाक्टर केसीको असल मनसायमा शंका गर्ने ठाउँ छैन। नेपालीको आशा जिवीत राख्न उनीजस्ता शन्तप्रति जति सम्मान गरे पनि कम हुन्छ। केसीको अभियान चल्दै गर्दा उनको फेरो समातेर आ-आफ्ना राजनीति अभिष्ट पुरा गर्ने भने अरू धेरै छन्। मूलधारका दल र बुद्धिजीवि गैह्र-जिम्मेवार बनिदिँदा जनताको असाहयता उपयोग गर्दै यिनले फाइदा उठाउन खोजिरहन्छन्। आन्दोलनको अग्रभागमा देखिने केही मानिसमा धैर्य र तर्कभन्दा रोष धेरै देखिन्छ। खुला अभियानमा धेरै किसिमका मानिस मिसिन सक्ने भएकोले ती सबैको राजनीतिक विचार र उद्देश्य पनि सफा छ भन्न सकिने स्थिती छैन। उनीहरूको आबद्धता र समर्थन हेर्दा पनि यस्तो संदेह उठेको हो। उनीहरूले गरेका केही दावी पनि अपत्यारिता छन्। डाक्टर केसीका माग पुरा गर्नु अवश्यै जरुरी छ। तर त्यति गरेर सबै कुरा ठीक हुने र अरू केही गर्नै नपर्ने भने होइन।

एकछिन केही प्रश्नहरूमा दिमाग लगाऔँ

पहिले निकै राम्रो भनिने नेपालका ईन्जिनियरिङ्, मेडिकल, कृषि र वनका उच्च शिक्षा संस्थानहरू राजनीतिक युनियन र आन्दोलनले धरासायी हुँदैछन्। तिभन्दा पछि खुलेका छिमेकी देशका संस्थाहरू विश्वस्तरमै चर्चा कमाउने भइसक्दा नेपालमा न तिनको संख्या बढ्न सकेको छ, न गुणस्तर। उल्टै बर्सेनी छिमेकी देशका तेश्रो वा चौथो तहका शिक्षण संस्थामा भर्ना हुन नेपाली विद्यार्थीको तछाड मछाड हुन्छ। वर्षेनी काठमान्डौका शैक्षिक मेलाहरू र होर्डिङ् बोर्डहरूमा यस्ता विदेशी शैक्षिक संस्थाको उपस्थिती बढिरहेको देखिन्छ। सिमीत स्रोत र हतोस्साहित पार्ने वातावरणमा पनि नेपालका धेरै वैज्ञानिकले विदेशमा र नेपालमै पनि स्तरीय काम गरिरहेका छन् क्षेत्रीय स्तरमा इज्जत धानेका थिए र छन्।

तर हिजोआज विज्ञान-प्रविधि मात्रै होइन राजनीति, समाजशास्त्र, अर्थशास्त्र, परराष्ट्र मामीला र सामरीक विषयमा पनि आफ्नै समाज र राज्यका लगानीमा भन्दा विदेशी सरकार र दातृ निकायले चाहेका क्षेत्र र प्राथमिकतामा धेरै काम हुन्छन्। हाम्रै संविधान निर्माण कार्यमा नेपाली समाजको लगानी र चासो कति थियो र विदेशीको कति? त्यसले स्वामित्व, सकारात्मक बहस र विवाद समाधान गर्ने काममा सहयोग गर्यो वा हानी? हामी उत्तर खोज्न सक्छौँ। नेपालीहरू सक्षम हुँदा हुँदै पनि नेपाली समाजको आफ्नो क्षमता भने क्षयीकरण भइरहेको छ। यस्तो किन भयो? जिम्मेवार को हो? स्वयं अख्तियार र अन्य नेपाली संस्थाहरूको यो हालतको पछाडि कसको भुमीका छ? उत्तर छर्लङ्ग छ।

त्यस्तै कुन सेवा सार्वजनिक हीतका हुन् र तीनमा राज्य आफैँ संलग्न हुनुपर्छ? मेडिकल शिक्षा मात्रै हो कि समग्र विश्वविद्यालय शिक्षा पनि हो? अरू के के हो? विगतमा यसमा ध्यान किन दिइएन र त्यसका जिम्मेवारहरू को हुन्? अब ती सेवाहरूलाई गतिलो बनाउन राज्य आफैँ यसो गर्दा कति खर्च हुन्छ र कति समय लाग्छ? हामीसँग राज्यका लगानी र संयन्त्रहरू भुत्ते भएको वा बनाइएको अनुभव छ। त्यसको लागी भुकम्प पुननिर्माण आयोग देखि नेपाल टेलिकम, आयल निगम देखि विद्युत प्राधिकरण, भृकुटी कागज कारखाना देखि नेपाल वायुसेवा निगम, र त्रिभुवन विश्वविद्यालय देखि नेपाल औषधी निगम सम्मका उदाहरण काफी छन्।

भविष्यमा तिनलाई प्रभावकारी र चुस्त बनाउन के-के गर्नुपर्छ? त्यसो गर्न कत्तिको तयारी पुगेको छ? कि सरकारले कलेज खोलिदिए मात्र सबै आफैँ ठीक हुने हो? खर्च कसरी उठाउन सकिन्छ? हाल चलेका निजी व्यवसायलाई राज्यले खरिद गर्दा कसरी क्षतिपूर्ती र समय दिन सकिन्छ? नीजि लगानीको वातावरण र अन्य क्षेत्रमा उचित प्रतिस्पर्धा कसरी गराउने हो? चाहिने भन्दा बढि र मापदण्ड नपुगी खुलेका कलेजहरूलाई अनुमती दिनेहरूलाई के कारवाही गर्ने? भोली त्यस्तो नहोस् भन्न कस्तो दण्ड र प्रोत्साहन प्रकृया अपनाइनु पर्छ?

स्कूल शिक्षा, अस्पताल, सार्वजनिक यातायात, विज्ञान अनुसन्धान्, राज्यलाई चाहिने अन्य नितीगत अध्ययन र सुझाव दिने प्रणाली आदि बारे चाहिँ के गर्ने? ठेक्कापट्ठा, सडक निर्माण, परराष्ट्र नीति, राजदुत नियुक्ति, कृषि विकास र अनुसन्धान, जलश्रोत, वातावरण, जडिबुटी प्रसोधन, पुरातत्विक महत्वका क्षेत्र, आदिमा पनि सबै क्षेत्रका मानिसले समस्या विकराल बनेपछि आन्दोलन गर्ने कि अहिल्यै केही गर्ने?

झन्झन् सत्तारुढ दलमा आबद्ध हनुमानहरू वा तिनका निकटका बाहेक बाहेक अरूले अवसर नपाउने र हरेश खाने नियती बनेको छ। अर्थतन्त्रमा मनपरी गरेर राज्य कमजोर बनाउँदै गैह्र-राज्य तत्वहरू बलिया हुँदैछन्। बरू राज्यका निकायलाई खुला चुनौती दिनेगरी देशभित्रका सिन्डिकेट र देश बाहिरका एजेण्डा बाहकहरूको अगाडी नागरिकका चासोको कहिल्यै सुनुवाइ नहुने स्थिती बनिरहेको छ।

डाक्टर केसीको अनसन नहुँदा यि सबै विषयहरू किन ओझेल पर्छन्? डाक्टर केसीले आठ-आठ पटक आफ्नो ज्यान दाऊमा लगाइसक्दा पनि किन मेडिकल बाहेक इन्जिनियरिङ्, कृषि, उद्योग, यातायत, वातावरण जस्ता अन्य क्षेत्रका तमाम बेथितीहरू मा ध्यान समेत जान सकेको छैन? समाधानको प्रयास त पर को कुरा भयो। संसदमा न प्रतिपक्षले यस्ता कुरा उठाउँछन्, न कुनै संसदीय समितीले हाम्रा चासोका विषयम छलफल मात्रै पनि गरेका छन्।

नागरिक अगुवा र बुद्धिजीवि भन्नेहरूले डाक्टर केसीका मागलाई बल पुग्ने गरी समग्र नितीगत बहस, तथ्यगत तुलना र विभिन्न विकल्पका बारे छलफल गराउन पनि सकेका छैनन्। उनीहरूले गरेका छन् केवल समर्थन गर्नेलाई जय र विरोध गर्नेलाई गाली। कहिलेकाहिँ कसले के बोल्यो भन्ने रिपोर्ट पढिन्छ र अरूबेला कसले डाक्टर केसीलाई गाली गर्यो भनेर त्यसको खण्डन पढिन्छ। माथेमा आयोग र डाक्टर केसीकै माग समेटेका विचार धेरै पटक दोहोरिन्छन् पनि। मूल प्रश्नहरू ओझेल नै पर्छन्।

डाक्टर केसीको अभियानको अग्रभागमा बाबुराम भट्टराई र उनका समर्थक पनि देखिएका छन्। भट्टराई तिनै पात्र हुन् जसलाई आफू निकटका निजी मेडिकल कलेजलाई सम्बन्धन दिन केयू का उपकूलपति सुरेशराज शर्मालाई राजीनामा दिन बाध्य पारेको आरोप लागेको छ। अख्तियारको नियुक्तिमा आफ्नो भुमीका उनी स्वयंले सगर्व बचाऊ गरेको अभिलेख छ। वर्षौँसम्म अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि धरासायी पार्न उनको नेतृत्वमा गरिएको रक्ताम्य अभियानको ठूलो भुमिका छ। गाउँमा शिक्षकको हत्या, विद्यालय र पुस्तकालयहरूमा आक्रमण, र विद्यार्थी र बालक समेतलाई जबरजस्ती सेनामा भर्ती गरिएको थियो भने बुर्जुवा शिक्षाको नाममा शहर बजारका विद्यार्थी र शिक्षण संस्थाहरूलाई आतंकित बनाइएको थियो।

लामो समय चलेको यो क्रमले नेपालीको आत्मविश्वास डगमगाउन थाल्यो। आफ्नै इतिहास, संस्कृति, पहिचान र क्षमतामा निरन्तर प्रहार र बाहिरी प्रभाव र चलनलाई सर्वोपरी जसरी स्थापित गराउन खोजेको यो अभियानलाई नेपाली समाजले धेरै क्षती भोगेर परास्त त गर्यो। तर त्यसले बनाएका घाउका खाटाहरू बाकिँ नै छन्। त्यस्तै एउटा खाटा हो उत्तेजना, चर्को स्वर र बलमिँच्याइद्वारा सबै कुरा समाधान हुन्छ भन्ने भ्रम। यसले ध्वंस गरेर केही कुरा भत्काएपछि क्रान्तिभरमा एकै वर्ष वा सरकारको पालोमा सबै कुरा सोचेजस्तै हुन्छ भन्ने अराजक मानसिकता विकास गरेको छ।

डा केसीको आन्दोलनलाई समर्थन गर्नुपर्छ। मागहरू पुरा गर्न दबाब पनि दिनुपर्छ। तर यसको नाममा अवान्छित तरिका अपनाउनुलाई समर्थन गर्न सकिँदैन। जुन प्रवृतिको कारण डा केसीले पटक पटक अनसन बस्नुपर्ने स्थिती बन्यो, तिनै प्रवृतीलाई यो आन्दोलन सुम्पिने लामो प्रयास ले गोविन्द केसीले बचाएको नेपाली आशाको दियोलाई कमजोर बनाएर निराशाको धुँवा पुत्ताउन सक्छ।

रातारात सोचेजस्तो परिवर्तन कहिँ पनि हुँदैन। कुनै पनि अभियान, त्यो जतिसुकै राम्रो किन नहोस् त्यसको विरोध र फरक मत नै नहुने कुरा जिवीत समाजमा संभव हुँदैन। सकारात्मक कुराहरूमा ध्यान दिएर कसरी नेपालीको जागरुकतालाई उर्जामा बदल्ने, त्यो सोच्नुपर्छ। तथ्यगत बहसका आधारमा दीर्घकालीन सुधारहरू कसरी गर्न सकिन्छ? समाजका भविष्यसँग जोडिएका ठूला प्रश्नहरूमा विवेचनात्क भएर सोच्ने र संयमित बहस गर्ने बानी कसरी बनाउन सकिन्छ?

त्यसले अहिलेको नेपाली युवाको चाहना र शक्तिलाई खेर जान नदिइ सार्थक बहसमा सघाउन सक्छ। साँघुरो स्वार्थ बोकेका २-४ जना मात्र होइन, आ-आफ्नो क्षेत्रका सुधारमा लागिरहेका र नेपाल धानीरहेका अनाम अभियन्ताहरूलाई समाविष्ट गरेर दुरगामी यात्रा र बाटो तय गर्न डाक्टर केसीको अनसनले उठाएका प्रश्नहरू सहयोगी हुन सक्छन्। डाक्टर केसीको आठौँ माग पुरा गरेर त्यसपछिको दिनलाई यस तर्फ काम गर्न थाल्नको लागि प्रश्थान विन्दु मान्ने हो कि!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s