यसकारण नेपाल हिन्दु राष्ट्र होइन


आपसमा जोडिएर बसेका तमाम धर्म‍-परम्परा र यसले विकास गरेको मौलिक रूपलाई हिन्दु धर्म होइन, “नेपाली धर्म” नामाकरण गरे पनि हुन्छ। हिन्दु धर्मलाई राज्यशक्तिसँग जोड्न खोज्नु आफैँ अहिन्दुवादी काम हो। निश्चित शक्ति सन्तुलन र सिद्धान्त बोक्ने राज्यसँग जोडेर जबरजस्ती साँघुरो पार्ने प्रयास यस्ता फराकिला धर्म–परम्पराको आत्मामै प्रहार गर्ने काम हो ।

हिजोआज देखिएको एउटा गतिविधि हो- हिन्दु राष्ट्रको मागका कार्यक्रमहरू। हुन त न यो मागलाई सञ्चारमाध्यम, आमनेपाली र नागरिकको ठूलो समूहले खासै महत्त्व दिएको छैन। यस अभियानको पर्याप्त वैचारिक आलोचना सार्वजनिक माध्यममा भइरहेकै छ र मागकर्ताहरूको शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकार कसैले कुण्ठित गरेको पनि छैन। तर, नेपाल हिन्दु राष्ट्र हुने कुनै कारण छैन भन्ने कुरामा केही नेपाली अझै पूर्ण विश्वस्त नभएको देखिन्छ।

अरूले वैदिक वा अन्य दक्षिण एसियाली प्राचीन परम्परा बेवास्ता गरेर यस्तो तोडमोड गर्नु एउटा कुरा हो। तर, यी परम्परा हुर्कने आँगन रहिआएको नेपालमै यस किसिमको कार्य हुनु हामी आफ्नैबारे प्रस्ट नभएको र आत्मविश्वास गुमाएको संकेत हो। हाम्रा धर्म परम्पराको विशिष्ठ प्रकृति र विकासक्रमले नै यहाँ syncretic (समन्वयात्मक, मिलेर बस्ने, सहिष्णु) समाज विकसित भएको हो। यस भुभागमा अभ्यास गरिने इस्लाम धर्म परम्परा पनि पश्चिम एशिया भन्दा फरक इतिहास देखि नै syncretic भएको मत धेरै धर्म-सम्बन्धि अध्येताहरूको छ।

त्यसमा पनि भारत वा बाकिँ दक्षिण एशिया भन्दा बढी नेपालमा पहिलेदेखि नै हिन्दु, बौद्ध, बोन, खस, किरँात र अन्य धर्महरू सँगसँगै र सहिष्णु रुपमा विकास भएका छन्। लामो प्रकृयाबाट नेपालमा विकसित भएको हिन्दु परम्परा पनि आफैँमा अनुपम छ। यसमा त नेपालका अरू परम्पराहरूको पनि मिश्रण छ, र यसैकारण यो मौलिक पनि छ। यसलाई भारतको ठूलो हिन्दु समुदायसँग जोडेर हेर्नु आवश्यक छैन। भारतमा भाजपा, शिवसेना वा रासस ले नेतृत्व गर्ने हिन्दुवादी परिभाषालाई नेपालमा पनि भित्राउन खोज्नु त उल्टो दिशाको यात्रा पो हुन्छ।इतिहासमा पनि राजाहरूले आफूलाई हिन्दु र बौद्ध दुबैका संरक्षक भनेर चिनाउने गर्थे। खसहरूले अभ्यास गर्ने हिन्दु परम्परामा पनि उनीहरूको पुरानो मष्ट, कुलदेव र अन्य पुराना परम्पराको अवशेष अझै पनि छ। हाम्रा परम्परालाई भारतीय किसिमले हिन्दुकरण गर्ने अहिलेको प्रयासले यस्ता मौलिकता र इतिहास समेट्न सकेको छ?

बरू नेपालका यी आपसमा जोडिएर बसेका तमाम धर्म‍-परम्परा र यसले विकास गरेको मौलिक रूपलाई हिन्दु धर्म होइन, “नेपाली धर्म” नामाकरण गरे पनि हुन्छ। नेपालले आत्मविश्वास जुटाएर आफ्ना मौलिकता र सबल पक्षहरूलाई पो अङ्गाल्नुपर्ने र संबर्धन गर्नुपर्ने? किन छिमेकी देशको असुहाउँदो र विभाजक राजनीतिक-धार्मिक गठजोडको सिको गर्ने?

यसको अर्थ नेपालले धर्म निरपेक्षता अङ्गाल्नु पर्छ भन्ने पनि होइन। त्यसबारे आफ्ना तर्क मैले अर्कै लेखमा राखेको छु।

हिन्दु धर्मको राजनीति

पहिलो कुरा त हिन्दु धर्मलाई राज्यशक्तिसँग जोड्न खोज्नु आफैँ अहिन्दुवादी काम हो। हिन्दु, बौद्ध वा अन्य दक्षिण–एसियाली धर्मको प्रकृति र उत्पत्ति क्रिस्चियन वा इस्लाम धर्मजस्ता अब्राहमिक धर्म-परम्पराभन्दा फरक छ। अब्राहमिक धर्महरू राज्यशक्तिसँग जोडिएका छन्। त्यही कारण हिन्दु धर्मलाई पनि त्यस्तै बनाउनुपर्छ भन्नु हिन्दु धर्मलाई यसको आधारभूत प्रकृतिबाट च्यूत गरेर अब्राहमीकरण गर्नु हो। बेलायत वा नर्वे क्रिस्चियन भएका कारण वा कतार वा साउदी अरेबिया इस्लामिक भएका कारण नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर जिकिर गर्नु हिन्दु धर्मलाई नै परिवर्तन गरेर अब्राहमिक वा अरू धर्मजस्तो बनाउनु हो।

23082015042838Bibek-poudel_Dharma_J-600x0

मध्यपूर्व र पश्चिमा राज्य र त्यहाँको धर्मको विकास एकआपसमा सँगसँगै जोडिएर भएको हो। ती धर्म र त्यहाँका राज्यशक्तिबीचको सम्बन्ध अन्योन्याश्रित थियो र केही हदसम्म आज पनि छ। राज्यशक्तिसँग जोडिएर राज्यका हिंस्रक कार्य, उपनिवेशीकरण, दास प्रथा, फरक धर्म र नश्लप्रति गरिएको दमन, महिला माथिको समलिङ्गि र बालकहरू माथि हिंसा आदिमा यी तत्तत् धर्महरू तत्तत् राज्यसँग सधँै सँगै रहे।

ती धर्मका आधिकारिक संगठनात्मक संरचना, नेतृत्व र शक्ति बनोट छन्। त्यहाँका राज्य र धर्मको निकट सम्बन्धकै कारण ती एकआपसमा आश्रित हुँदै विकसित भएका छन्। कि धेरैपटक त धर्मले राज्यलाई निर्देशित र परिभाषित पनि गरे। समयक्रममा राज्यको आधिकारिकतालाई समेत चुनौती दिने गरी धर्मको प्रभाव बढेको र यसले धेरै विवाद ल्याएका कारण पश्चिममा धर्म र राज्यलाई अलग गर्ने धर्मनिरपेक्षता भन्ने सिद्धान्तको विकास भएको हो।

शक्तिसँगको सम्बन्धमा पनि हिन्दु–बौद्ध–वैदिक धर्म अब्राहमिक धर्मभन्दा नितान्त फरक छन्। कुनै शासकले धर्मका नाममा हिंसा वा दमन गरेको होला तर यहाँका धर्म आफैँ कहिल्यै पनि राज्यसँग जोडिएर उपस्थित भएको छैन, जसरी पश्चिममा भएको छ। जसरी नास्तिक कम्युनिस्टहरूले गरेको हिंसा र दमनको दृष्टान्त दिएर नास्तिक परम्परा नै हिंस्रक हो भन्न सकिँदैन, त्यसरी नै हिन्दु धर्म मान्ने वा त्यसका नाममा शक्ति प्रयोग गर्नेहरूलाई उनीहरूको राज्यशक्तिसँग सैद्धान्तिक वा संगठनात्मक दुवै रूपमा नजोडिएको परम्परालाई कसरी दोष दिन मिल्छ ? यसरी संगठनात्मक रूप पनि नभएको र राज्य वा त्यसको आधिकारिक शक्तिसँग सैद्धान्तिक रूपमा पनि नजोडिएको धर्मलाई जबरजस्ती जोड्न खोज्ने प्रयास हाम्रो परम्परा र अभ्यासको पनि विपरीत हो ।

कमल थापाजी, आँट गर्नुस्

तपाईँको आलोचनासँग जोडिएर यी धर्म–परम्परा पनि आलोचित हुने स्थितिमा पुगेका छन् । तपाईं वा राज्यका दोषको कारण धर्मलाई आलोचित हुने मौका प्रदान गरेर तपाईं यी धर्मको सेवा गरिरहनुभएको छैन, उल्टै घाटा पुर्‍याइरहनुभएको छ ।

आज विश्वमा थोरै स्थानमा मात्र जीवित रहन सकेका प्राचीन परम्परामध्ये हाम्रो एक हो । यस परम्परामा धेरै आस्था र जीवन पद्धति स्वीकार गर्ने बहुआस्थावादी प्रकृति छ । यस परम्परामा भगवान् पूजा गर्ने वा नगर्ने, भगवान् मान्ने वा नमान्ने आदि छुट पनि प्राचीनकालदेखि अभ्यास भइरहेको छ । त्यसैले एउटा निश्चित शक्ति सन्तुलन र सिद्धान्त बोक्ने राज्यसँग जोडेर जबरजस्ती साँघुरो पार्ने प्रयास यस्ता फराकिला धर्म–परम्पराको आत्मामै प्रहार गर्ने काम हो ।

यस्तो कुरा जानीबुझी धर्मलाई राजनीतिसँग जोड्ने कमल थापा र हिन्दु–राष्ट्र अभियानमा लागेकाहरूले आँट छ भने सनातन धर्मलाई आफ्नो राजनीतिबाट अलग गर्नूस् । अहिल्यै पनि तपाईँको आलोचनासँग जोडिएर यी धर्म–परम्परा आलोचित हुने स्थितिमा पुगेका छन् । तपाईं वा राज्यका दोषको कारण धर्मलाई आलोचित हुने मौका प्रदान गरेर तपाईं यी धर्मको सेवा गरिरहनुभएको छैन, उल्टै घाटा पुर्‍याइरहनुभएको छ । जसरी पश्चिमा उपनिवेशीकरण, दास प्रथा, आदिवासीको सफाया आदिका निम्ति सत्तासँगसँगै शक्ति अभ्यास गरेका त्यहाँका धर्महरू आलोचित रहिआएका छन्, हाम्रो भूभागको परम्परालाई सोही नियति भोग्न बाध्य पार्न तपाईं सक्नुहुन्न, पाउनुहुन्न ।

किनभने, बाहिरी शक्तिको आक्रमण भएपछि मात्र दक्षिण एसियामा धर्मले केही संगठन र शक्तिको अभ्यास सुरु गरेको हो, आत्मरक्षाका निम्ति । विदेशी परम्परासँगको संसर्गसँगै त्यताका शक्तिसम्बन्ध, धर्मका नाममा संगठन र शोषणजस्ता कार्यको सिको हुन थाल्यो । आज हिन्दु राष्ट्र बनाउने अभियान पनि त्यही सिको हो । यो हाम्रो वास्तविक धर्मपरम्पराको विपरीत छ । त्यसकारण नेपालको प्रकृति नै हिन्दु–राष्ट्रका रूपमा परिभाषित हुनु होइन । यो अमिल्दो कुरालाई कसैले पनि राजनीति गर्ने बाटो नबनाऊन् ।


यो लेख भाद्र ६, २०७२ को नेपाल साप्ताहिकमा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख अतिवादको दलदलमा मा आधारित छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s