नेपालले स्कटल्याण्डको जनमत संग्रहबाट के सिक्न सक्छ?


बेलायतसँग नेपालभन्दा युगोस्लाभियाको परिवेश बढि मिल्छ। तर बेलायत वा पश्चिमा युरोपले सामान्य मानेका अभ्यासले त्यति नजिकको भुगोलमा समेत नितान्त फरक रूप लिन्छ। नेपालसँग हुबहु तुलना गर्नु त बौलट्टी नै हो।

स्कटल्यान्डमा केही अघि भएको स्वतन्त्रता जनमतसंग्रहलाई नेपालसँग जोडेर अनेक टिप्पणी गरिए। हालै संयुक्त अधिराज्य युरोपेली युनियन बाट छुट्टिने भनेर गरेको जनमतसंग्रह बारे पनि टिप्पणी हुँदैछन्। तिनले नेपालमा पार्ने असर र नेपालले तीबाट सिक्न सक्ने पाठहरू बारे अवश्यै धेरै कुरा गर्न सकिन्छ। तर स्कटल्याण्ड, बेलायत, स्विजरल्याण्ड, अमेरीका, बेल्जियम वा अन्त कतै कुनै प्रणालीले काम गर्यो भन्नुको अर्थ नेपालमा पनि तिनले त्यसरी नै काम गर्छ भन्ने मान्यता निकै खोटपूर्ण छ। त्यसैले स्कटल्याण्ड जस्तै नेपालले पनि गर्नुपर्छ भन्ने किसिमका टिप्पणी जति अमिल्दा थिए, त्यत्तिकै अस्वाभाविक पनि। किनभने, बेलायतको तुलना नेपालसँग हुनै सक्दैन।

तुलना त अनेकौँ गर्न सकिन्छ। जस्तै ः पोल्यान्डमा कम्युनिस्ट पार्टीको हँसिया-हथौडाको चिह्न प्रयोग र प्रदर्शन गर्नु नै प्रतिबन्धित छ। पोलिसहरू ठान्छन् उनीहरूको इतिहासको ठूलो कलंक कम्यिष्टहरू थिए। पोल्यान्डमा जस्तै जर्मनीमा स्वस्तिक चिन्ह प्रदर्शन गर्न प्रतिबन्धित छ, हिटलरको पार्टीको चिह्न भएको हुँदा। यो धेरै पूर्वीया परम्पराहरूमा सम्मान गरिएको चिन्ह हो। हिटलरको शासनसँग सम्बन्धित अरू कुनै पनि अभिव्यक्ति एवं क्रियाकलापमा बन्देज गरिएको छ। यसलाई स्वतन्त्रतामाथी अंकुश पनि भन्न सकिन्छ।

संयुक्त अधिराज्य र नेपाल दुई फरक देश मात्रै होइनन्, यिनका परिवेश र भू-राजनीतिक इतिहास पनि नितान्त भिन्नै छन्। स्कटल्यान्ड वा बेलायतको प्रचलन र नियम कानुन अनुसार नेपाल चल्दैन। बेलायतकै पूर्वउपनिवेश भारत स्वयं पृथकतावादी अभियान र राष्ट्रविरोधी क्रियाकलापबारे निकै अनुदार छ। यति नजिकको नजिर छाडेर सीधै स्कटल्यान्डसँगको तुलना/तर्क गर्नु बौलट्टीपूर्ण लाग्छ।

देशका सीमाना मेटिएका छैनन्

युरोपेली युनियनको छाताभित्रका देशहरूको सिमाना असान्दर्भिक बन्दै गइरहेको छ। यसअघिका एक-डेढ शताब्दी राष्ट्रिय सिमानाको स्थापना र विघटनकै नाममा युरोपले युद्धै युद्ध भोग्यो, लाखौँ मानिसको ज्यान गयो। थुप्रै स-साना समुदाय र पहिचानका बीच सिमानाको निम्ति युद्ध गररिहँदा पुगेको घाटाबाट पाठ सिकेर लामो संघर्षपछि युरोपेली युनियनले मूर्त रूप पाएको हो।

576cfb1c2200002e00f82c23
Brexit results. Picture: huffingtonpost.co.uk

युनियनको राजनीतिक उद्देश्य सिमानाहरूलाई स्वीकार गर्ने तर तिनलाई अनावश्यक पनि बनाउने हो। काम, व्यापार वा भ्रमण गर्न, आपसी सहयोग, भाइचारा र समझदारी बढाउन र साझा नीति नियमहरू तय गर्न सारा युरोप एकै देशजस्तो छ। यहाँ सिमानाहरू फेरबदलको निम्ति संघर्ष गर्नु अनावश्यक मात्रै होइन, घाटा हुने स्थिति बनेको छ। किनभने, त्यसो गर्दा साझा बजार, आपसी व्यापार र त्यसका फाइदा गुम्नेछ भने रोजगारीका अवसर हराउनेछन्, नागरिक जीवनमा पनि समस्या थपिनेछन्।

युरोपेली युनियनको सदस्य बनेपछि पाइने यस्तै अवसरका कारण चेक गणराज्य टुक्रिने घटना शान्तिपूर्ण र रक्तपातविहीन रह्यो। तर, पश्चिम युरोपेली देशहरू भन्दा भिन्नै राजनीतिक विकासक्रम, भूगोल र इतिहास बोकेको युगोस्लाभिया टुक्रिँदा दसौँ हजारको ज्यान गयो र लाखौँ मानिस विस्थापित भए। करबि एक दशकभन्दा लामो समय चलेका डरलाग्दा युद्धहरूले नेपालभन्दा थोरै मात्र ठूलो युगोस्लाभियालाई सात देशमा टुक्र्याए। जातीय र धार्मिक सफायाको क्रम निरन्तर चल्यो। केही क्षेत्रमा युद्धका घाउ र क्षतिसँग जुध्ने काम अझै सकिएको छैन, सायद पुस्तौँसम्म सकिने छैन। बाल्कन क्षेत्र युरोपकै सबैभन्दा पिछडिएको क्षेत्र बनेको छ। गरबिीसँगै अचेल जातिवाद, नश्लवाद र फासीवादजस्ता नयाँ एवं जटिल समस्या देखा पर्न थालेका छन्। बेलायतसँग नेपालभन्दा युगोस्लाभियाको परिवेश बढि मिल्छ। तर बेलायत वा पश्चिमा युरोपले सामान्य मानेका अभ्यासले त्यति नजिकको भुगोलमा समेत नितान्त फरक रूप लिन्छ। युरोपभन्दा टाढा र नेपालसँग बढी मिल्दाजुल्दा सुडान, श्रीलंका आदि देशमा पृथकतावादले निम्त्याएका समस्याका बारे त भनिरहनै परेन। त्यसबाहेक संयुक्त अधिराज्य फरक-फरक देशको आपसी समझदारीको संगठन हो भने नेपाल एउटा सिंगो अविभाज्य देश। यी देशहरू- बेलायत, वेल्स, स्कटल्याण्ड, र उत्तरी आयरल्याण्ड मिलेर संयुक्त अधिराज्य बनेको हुँदा यि देशहरू पहिले जस्तै छुट्टिन पनि स्वतन्त्र छन्। यीनको इतिहास र बनोटको सीधा नेपालसँग तुलना कतैबाट पनि मेल खाने कुरा होइन।

महत्त्वपूर्ण कुरा के भने युरोपेली युनियनजस्तो उदार र राष्ट्रिय सिमानाहरू असान्दर्भिक बन्दै गएको क्षेत्रमा पनि देशको अखण्डता, सिमाना र एकता महत्त्वपूर्ण विषय रहेछन् भन्ने प्रदर्शन भएको छ। स्कटल्यान्डको जनमतसंग्रहका बेला व्यक्त भएका विचार र भावनाले यही प्रमाणित गर्छन्। केही समयअघि स्कटल्यान्डको स्वतन्त्रता पक्काजस्तो देखिए पनि मतदान नजिक हुँदै गर्दा देश टुक्रिनुको जोखिमबारे सचेत हुँदै गएर स्कटिस जनताले विचार बदलेको देखिन्छ। स्वतन्त्रताको विपक्षमा नतिजा आउनुका केही कारण छन्। युरोपेली युनियन र नेटोजस्ता बहुराष्ट्रिय संगठनको सहयोगबिना उसको स्वतन्त्र राष्ट्रको यात्रा सहज हुने थिएन। आर्थिक समस्याका अलावा आक्रामक बन्दै गरेको रुसका कारण सुरक्षा समस्या पनि थपिने थियो। बेलायत, स्पेन र इटालीजस्ता देशले बदला भावका कारण स्कटल्यान्डलाई युनियनमा सामेल नगर्न दबाब दिन सक्थे र त्यसो भएमा स्कटल्यान्ड झन् एक्लो हुने थियो।

अहिले संयुक्त अधिराज्य आफैँ युरोपेली युनियनबाट अलग्गिने निर्णय गर्न तयार भएको हुँदा अब स्कटल्याण्डलाई  युनियन प्रवेशमा अवरोध हुने सम्भावना कम छ। त्यसैकारण अब संयुक्त अधिराज्यबाट स्कटल्याण्ड र संभवत उत्तरी आयरल्याण्ड पनि छुट्टिने छ। यो प्रकृया लामो हुनेछ र यो कसरी अघि बढ्नेछ भन्ने बारे ठ्याक्कै भन्न सक्ने कोही छैन। त्यसैकारण यसका प्रभाव र असरहरू के हुन्छन् भनेर अहिल्यै दावी गर्नसकिने अवस्था छैन।


यो लेख आश्विन ५, २०७१ को नेपाल साप्ताहिकमा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख पृथकतावादभन्दा डरलाग्दो लोकप्रियतावाद मा आधारित छ।

Advertisements

यसकारण नेपाल हिन्दु राष्ट्र होइन


आपसमा जोडिएर बसेका तमाम धर्म‍-परम्परा र यसले विकास गरेको मौलिक रूपलाई हिन्दु धर्म होइन, “नेपाली धर्म” नामाकरण गरे पनि हुन्छ। हिन्दु धर्मलाई राज्यशक्तिसँग जोड्न खोज्नु आफैँ अहिन्दुवादी काम हो। निश्चित शक्ति सन्तुलन र सिद्धान्त बोक्ने राज्यसँग जोडेर जबरजस्ती साँघुरो पार्ने प्रयास यस्ता फराकिला धर्म–परम्पराको आत्मामै प्रहार गर्ने काम हो ।

हिजोआज देखिएको एउटा गतिविधि हो- हिन्दु राष्ट्रको मागका कार्यक्रमहरू। हुन त न यो मागलाई सञ्चारमाध्यम, आमनेपाली र नागरिकको ठूलो समूहले खासै महत्त्व दिएको छैन। यस अभियानको पर्याप्त वैचारिक आलोचना सार्वजनिक माध्यममा भइरहेकै छ र मागकर्ताहरूको शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकार कसैले कुण्ठित गरेको पनि छैन। तर, नेपाल हिन्दु राष्ट्र हुने कुनै कारण छैन भन्ने कुरामा केही नेपाली अझै पूर्ण विश्वस्त नभएको देखिन्छ।

अरूले वैदिक वा अन्य दक्षिण एसियाली प्राचीन परम्परा बेवास्ता गरेर यस्तो तोडमोड गर्नु एउटा कुरा हो। तर, यी परम्परा हुर्कने आँगन रहिआएको नेपालमै यस किसिमको कार्य हुनु हामी आफ्नैबारे प्रस्ट नभएको र आत्मविश्वास गुमाएको संकेत हो। हाम्रा धर्म परम्पराको विशिष्ठ प्रकृति र विकासक्रमले नै यहाँ syncretic (समन्वयात्मक, मिलेर बस्ने, सहिष्णु) समाज विकसित भएको हो। यस भुभागमा अभ्यास गरिने इस्लाम धर्म परम्परा पनि पश्चिम एशिया भन्दा फरक इतिहास देखि नै syncretic भएको मत धेरै धर्म-सम्बन्धि अध्येताहरूको छ।

त्यसमा पनि भारत वा बाकिँ दक्षिण एशिया भन्दा बढी नेपालमा पहिलेदेखि नै हिन्दु, बौद्ध, बोन, खस, किरँात र अन्य धर्महरू सँगसँगै र सहिष्णु रुपमा विकास भएका छन्। लामो प्रकृयाबाट नेपालमा विकसित भएको हिन्दु परम्परा पनि आफैँमा अनुपम छ। यसमा त नेपालका अरू परम्पराहरूको पनि मिश्रण छ, र यसैकारण यो मौलिक पनि छ। यसलाई भारतको ठूलो हिन्दु समुदायसँग जोडेर हेर्नु आवश्यक छैन। भारतमा भाजपा, शिवसेना वा रासस ले नेतृत्व गर्ने हिन्दुवादी परिभाषालाई नेपालमा पनि भित्राउन खोज्नु त उल्टो दिशाको यात्रा पो हुन्छ।इतिहासमा पनि राजाहरूले आफूलाई हिन्दु र बौद्ध दुबैका संरक्षक भनेर चिनाउने गर्थे। खसहरूले अभ्यास गर्ने हिन्दु परम्परामा पनि उनीहरूको पुरानो मष्ट, कुलदेव र अन्य पुराना परम्पराको अवशेष अझै पनि छ। हाम्रा परम्परालाई भारतीय किसिमले हिन्दुकरण गर्ने अहिलेको प्रयासले यस्ता मौलिकता र इतिहास समेट्न सकेको छ?

बरू नेपालका यी आपसमा जोडिएर बसेका तमाम धर्म‍-परम्परा र यसले विकास गरेको मौलिक रूपलाई हिन्दु धर्म होइन, “नेपाली धर्म” नामाकरण गरे पनि हुन्छ। नेपालले आत्मविश्वास जुटाएर आफ्ना मौलिकता र सबल पक्षहरूलाई पो अङ्गाल्नुपर्ने र संबर्धन गर्नुपर्ने? किन छिमेकी देशको असुहाउँदो र विभाजक राजनीतिक-धार्मिक गठजोडको सिको गर्ने?

यसको अर्थ नेपालले धर्म निरपेक्षता अङ्गाल्नु पर्छ भन्ने पनि होइन। त्यसबारे आफ्ना तर्क मैले अर्कै लेखमा राखेको छु।

हिन्दु धर्मको राजनीति

पहिलो कुरा त हिन्दु धर्मलाई राज्यशक्तिसँग जोड्न खोज्नु आफैँ अहिन्दुवादी काम हो। हिन्दु, बौद्ध वा अन्य दक्षिण–एसियाली धर्मको प्रकृति र उत्पत्ति क्रिस्चियन वा इस्लाम धर्मजस्ता अब्राहमिक धर्म-परम्पराभन्दा फरक छ। अब्राहमिक धर्महरू राज्यशक्तिसँग जोडिएका छन्। त्यही कारण हिन्दु धर्मलाई पनि त्यस्तै बनाउनुपर्छ भन्नु हिन्दु धर्मलाई यसको आधारभूत प्रकृतिबाट च्यूत गरेर अब्राहमीकरण गर्नु हो। बेलायत वा नर्वे क्रिस्चियन भएका कारण वा कतार वा साउदी अरेबिया इस्लामिक भएका कारण नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर जिकिर गर्नु हिन्दु धर्मलाई नै परिवर्तन गरेर अब्राहमिक वा अरू धर्मजस्तो बनाउनु हो।

23082015042838Bibek-poudel_Dharma_J-600x0

मध्यपूर्व र पश्चिमा राज्य र त्यहाँको धर्मको विकास एकआपसमा सँगसँगै जोडिएर भएको हो। ती धर्म र त्यहाँका राज्यशक्तिबीचको सम्बन्ध अन्योन्याश्रित थियो र केही हदसम्म आज पनि छ। राज्यशक्तिसँग जोडिएर राज्यका हिंस्रक कार्य, उपनिवेशीकरण, दास प्रथा, फरक धर्म र नश्लप्रति गरिएको दमन, महिला माथिको समलिङ्गि र बालकहरू माथि हिंसा आदिमा यी तत्तत् धर्महरू तत्तत् राज्यसँग सधँै सँगै रहे।

ती धर्मका आधिकारिक संगठनात्मक संरचना, नेतृत्व र शक्ति बनोट छन्। त्यहाँका राज्य र धर्मको निकट सम्बन्धकै कारण ती एकआपसमा आश्रित हुँदै विकसित भएका छन्। कि धेरैपटक त धर्मले राज्यलाई निर्देशित र परिभाषित पनि गरे। समयक्रममा राज्यको आधिकारिकतालाई समेत चुनौती दिने गरी धर्मको प्रभाव बढेको र यसले धेरै विवाद ल्याएका कारण पश्चिममा धर्म र राज्यलाई अलग गर्ने धर्मनिरपेक्षता भन्ने सिद्धान्तको विकास भएको हो।

शक्तिसँगको सम्बन्धमा पनि हिन्दु–बौद्ध–वैदिक धर्म अब्राहमिक धर्मभन्दा नितान्त फरक छन्। कुनै शासकले धर्मका नाममा हिंसा वा दमन गरेको होला तर यहाँका धर्म आफैँ कहिल्यै पनि राज्यसँग जोडिएर उपस्थित भएको छैन, जसरी पश्चिममा भएको छ। जसरी नास्तिक कम्युनिस्टहरूले गरेको हिंसा र दमनको दृष्टान्त दिएर नास्तिक परम्परा नै हिंस्रक हो भन्न सकिँदैन, त्यसरी नै हिन्दु धर्म मान्ने वा त्यसका नाममा शक्ति प्रयोग गर्नेहरूलाई उनीहरूको राज्यशक्तिसँग सैद्धान्तिक वा संगठनात्मक दुवै रूपमा नजोडिएको परम्परालाई कसरी दोष दिन मिल्छ ? यसरी संगठनात्मक रूप पनि नभएको र राज्य वा त्यसको आधिकारिक शक्तिसँग सैद्धान्तिक रूपमा पनि नजोडिएको धर्मलाई जबरजस्ती जोड्न खोज्ने प्रयास हाम्रो परम्परा र अभ्यासको पनि विपरीत हो ।

कमल थापाजी, आँट गर्नुस्

तपाईँको आलोचनासँग जोडिएर यी धर्म–परम्परा पनि आलोचित हुने स्थितिमा पुगेका छन् । तपाईं वा राज्यका दोषको कारण धर्मलाई आलोचित हुने मौका प्रदान गरेर तपाईं यी धर्मको सेवा गरिरहनुभएको छैन, उल्टै घाटा पुर्‍याइरहनुभएको छ ।

आज विश्वमा थोरै स्थानमा मात्र जीवित रहन सकेका प्राचीन परम्परामध्ये हाम्रो एक हो । यस परम्परामा धेरै आस्था र जीवन पद्धति स्वीकार गर्ने बहुआस्थावादी प्रकृति छ । यस परम्परामा भगवान् पूजा गर्ने वा नगर्ने, भगवान् मान्ने वा नमान्ने आदि छुट पनि प्राचीनकालदेखि अभ्यास भइरहेको छ । त्यसैले एउटा निश्चित शक्ति सन्तुलन र सिद्धान्त बोक्ने राज्यसँग जोडेर जबरजस्ती साँघुरो पार्ने प्रयास यस्ता फराकिला धर्म–परम्पराको आत्मामै प्रहार गर्ने काम हो ।

यस्तो कुरा जानीबुझी धर्मलाई राजनीतिसँग जोड्ने कमल थापा र हिन्दु–राष्ट्र अभियानमा लागेकाहरूले आँट छ भने सनातन धर्मलाई आफ्नो राजनीतिबाट अलग गर्नूस् । अहिल्यै पनि तपाईँको आलोचनासँग जोडिएर यी धर्म–परम्परा आलोचित हुने स्थितिमा पुगेका छन् । तपाईं वा राज्यका दोषको कारण धर्मलाई आलोचित हुने मौका प्रदान गरेर तपाईं यी धर्मको सेवा गरिरहनुभएको छैन, उल्टै घाटा पुर्‍याइरहनुभएको छ । जसरी पश्चिमा उपनिवेशीकरण, दास प्रथा, आदिवासीको सफाया आदिका निम्ति सत्तासँगसँगै शक्ति अभ्यास गरेका त्यहाँका धर्महरू आलोचित रहिआएका छन्, हाम्रो भूभागको परम्परालाई सोही नियति भोग्न बाध्य पार्न तपाईं सक्नुहुन्न, पाउनुहुन्न ।

किनभने, बाहिरी शक्तिको आक्रमण भएपछि मात्र दक्षिण एसियामा धर्मले केही संगठन र शक्तिको अभ्यास सुरु गरेको हो, आत्मरक्षाका निम्ति । विदेशी परम्परासँगको संसर्गसँगै त्यताका शक्तिसम्बन्ध, धर्मका नाममा संगठन र शोषणजस्ता कार्यको सिको हुन थाल्यो । आज हिन्दु राष्ट्र बनाउने अभियान पनि त्यही सिको हो । यो हाम्रो वास्तविक धर्मपरम्पराको विपरीत छ । त्यसकारण नेपालको प्रकृति नै हिन्दु–राष्ट्रका रूपमा परिभाषित हुनु होइन । यो अमिल्दो कुरालाई कसैले पनि राजनीति गर्ने बाटो नबनाऊन् ।


यो लेख भाद्र ६, २०७२ को नेपाल साप्ताहिकमा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख अतिवादको दलदलमा मा आधारित छ।