हिंसाको सम्पूर्ण रूपमा निन्दा गर्न २०९२ सालसम्म कुर्ने ?


५२ साल देखि ७२ सालसम्म आइपुग्दा हामी नेपालीहरुले धेरै देखे-भोगेका छौँ। पहिले अधिकांश समय देशभित्रै गुजार्ने नेपालीहरु आजसम्म आइपुग्दा बाँकी विष्व पनि प्रत्यक्ष-अप्रत्यक्ष देखेका छौँ। आधुनिक राष्ट्र, राजनीति र समाजका सिद्दान्त र चलनहरु बुझेका छौँ। आजकल बन्दको क्रममा हुने प्रतिकार र बन्द-विरोधी प्रदर्शनहरुप्रति प्राय सबै सचेत नागरिको समर्थन रहने गरेको देखिएको छ।

हिजो भर्खर आधुनिक बस सेवा शुरु गरेको एउटा कम्पनीका बस आज तोडफोड भएका छन्। करीब साढेँ दुई वर्ष अघि ड्यास माओवादीले धुलिखेलमा बस जलाउँदा यस लेखको पहिलो रूप लेखेको थिएँ। त्यसयता हिंसा, तोडफोड र घृणाका घटना एक किसिमले घटे पनि अर्को किसिमले बढेका छन्। माओवादी हिंसा कम हुँदै अहिले निकै कमजोर भइसकेको छ। तर जातीय, नश्लिय र अन्य राजनीतिक हिंसा तथा अराजक अापराधिक काम बढेका छन्। तिनीहरूको विरोध र प्रतिवाद गर्ने नागरिक तप्का कमजोर छ। बलिया र स्थापित नागरिक नेतृत्व लोकरिँझ्याइ र पपुलिजम् को पछि लागेको सबैले देखेका छन्। उनीहरूको अवसरवाद र शक्तिकेन्द्रका प्रवक्ता जस्तो भुमिका नाकाबन्दी र लामो सकसपूर्ण समयपछि अब कसैबाट लुकेको कुरा होइन। यसले हिंसालाई अझै हाम्रो समाजको राजनीतिक माग राख्ने तरिकाको मान्यता दिइराख्न सहयोग गरेको छ। त्यस्ता हिंसालाई अरू सामान्य परिघटना भन्दा बढि गम्भिर रूपमा लिइने गरेको छैन। २०५२ देखि २०७२ सम्म आउँदा एक किसिमका हिंसा निन्दित, कुकर्म र घृणित भएपनि अर्को किसिमका हिंसा चाहिँ झन् स्थापित, आकर्षक र सम्मानित बन्दैछ। के यी सबै किसिमका हिंसा निन्दित हुन हामीले अझै २० वर्ष खेर फाल्नु पर्ने हो?

घृणायुक्त कृयाकलाप, भाला बोकेर उत्रने आह्वान, देशकै दानापानी रोकिदिने धम्कि र साम्प्रदायिक नाराको भरमा नश्लिय भावनाको प्रबर्धन प्रति नेपाली मूलधार को अडान के हो? बस तोडफोड गर्नेहरू कुनै “महान उद्देश्य” को नाममा घृणा फैलाउने तत्व हुन्थे भने मिडिया र नागरिक नेतृत्वको प्रतिक्रिया कस्तो हुन्थ्यो?

Picture: ekantipur.com
Picture: ekantipur.com

काठमाडौँमा आज बस तोडफोड हुँदा इन्टरनेट र पत्रपत्रिकाहरुमा देखिएको विरोधको स्पष्ट आवाज सकारात्मक सङ्केत हुन्। माडीको बादरमुढेमा बस जलाइँदा र त्यस्तै अन्य ध्वंसका कार्यहरु हुँदा यत्तिको स्पष्ट आवाज त मत सुन्न पाइएको थिएन। हामीलाई हिंसा पनि माग पुरा गर्ने तरिका हुनै सक्दैन भन्ने कुरामा अहिलेजस्तो प्रष्टता थिएन। महान् उद्देश्यको निम्ति महान् युद्ध हुँदा केही मानिसहरु बलिदान हुनैपर्छ, जसरी चामल पिस्दा केही कीराहरु मर्नैपर्छ भन्ने युक्तिलाई हामीले मन्त्रमुग्ध भएर पत्याएका थियौँ। राज्यको गैह्रजिम्मेवारपूर्ण व्यवहार र विद्रोहीको युद्धमुखी-अवसरवादले गर्दा फाइदा राज्य-विरोधीहरुलाई नै पुग्न गयो र घाटा हामीजस्ता जनसाधारणलाई र देशको भविष्य अनि वर्तमानलाई।

तर अहिलेपनि तोडफोड गरिएको वस्तु बस नभएर टेलिफोनको टावर भएको भए हाम्रो अडान के हुने थियो भनेर हामी सबैले एकपटक सोच्नैपर्छ। तोडफोड गर्नेहरू प्रतिस्पर्धि बस व्यवसायी नभएर कुनै राजनीतिक पार्टी, वा कुनै “महान उद्देश्य” को नाममा घृणा फैलाउने तत्व हुन्थे भने मिडिया र नागरिक नेतृत्वको प्रतिक्रिया कस्तो हुन्थ्यो?

बस र विशेषत: त्यसका यात्रुहरुले गर्दा हामीमा मानवीय भावना आउँछ, मानिसहरुले जलेको वा त्यस्तै प्रत्यक्ष दु:ख पाएको कुरा हामीले सिधै आफुसँग तुलना गर्न सक्छौँ र त्यसै मानवीयताको आधारमा यस्ता कार्यको विरोध गर्न हामीलाई धेरै द्विविधा हुँदैन। बल्लतल्ल यहाँसम्म आइपुग्न पनि हामीलाई ५२ देखि ७२ सम्मको लामो, कष्टपूर्ण र धेरै घाटायुक्त यात्रा तय गर्नुपर्यो। तर आम नागरिकको यात्रा गर्ने अधिकार, बस्ने, राजनीतिक गतिविधि गर्ने अधिकार, शिक्षा प्राप्त गर्ने, बसाईँ सराईँ गर्ने अधिकार बारेको हाम्रो धारणा के हो? घृणायुक्त कृयाकलाप, भाला बोकेर उत्रने आह्वान, देशकै दानापानी रोकिदिने धम्कि र साम्प्रदायिक नाराको भरमा नश्लिय भावनाको प्रबर्धन प्रति नेपाली मूलधार को अडान के हो? टेलिफोन टावर, पुल, कसैको पसल, बाटोको रेलिङ्ग, बाटो वरपरका रुख काटेर गरिने अवरोध, लाठि-मुङ्ग्री लिएर र टाउकोमा रातो फिता बाँधेर तर्साउन उभिने कार्यकर्ताहरु बारे हाम्रो धारणा के हो?

मान्छेको बाँच्न पाउने अधिकारजस्तै खुला र प्रजातान्त्रिक समाजमा सम्पत्ति र व्यसाय गर्न पाउने अधिकार पनि उत्तिकै महत्वपूर्ण हुन्। निजी सम्पत्तिको सम्मान विना मानिसको जीवनको मात्र सम्मानको खासै कुनै तात्विक महत्व हुँदैन। किनकी आफ्नो सम्पत्तिमाथि सुरक्षा नभएसम्म उसको कमाउने, खाने, परिवार पाल्ने र सुखी भविष्यप्रति लम्किने कुनै संभावना हुँदैन र प्रकारान्तले सम्मानजनक जीवन हुँदैन। अभिव्यक्ति र निजी सम्पत्तिको अधिकार विना मानिस केवल शास सहितको एउटा जीव हुन्छ, आधुनिक युगको मानिस हुन सक्दैन।

बस जल्दा बसका यात्रुहरु प्रति हाम्रो मनमा भावना आएजस्तै बसको मालिकप्रति केही भावना आयो कि आएन? भोलि यो देशमा व्यापार गर्न चाहने वा पेशा गर्न चाहनेहरु प्रति केहि भावना आयो कि आएन? पसलहरु तोडफोड हुँदा वरिपरिकालाई चोट लागेकोमा दु:खी भएजस्तै हामी पसलेप्रति दु:खी भयौँ कि भएनौँ? यस्तो जोखिमयुक्त वातावरणमा व्यापार गर्नुपर्दा पसलेले महङ्गोमा बीमा गर्नुपर्ने, त्यसमा पनि अनिश्चितताले गर्दा महङ्गोमा समानहरु बेच्नुपर्ने र तैपनि व्यवसाय गर्न गाह्रो भएपछि अन्य पेशा वा देशमा पलायन हुनुपर्ने स्थिती प्रति हामीलाई चासो आउन ७२ सालदेखि ९२ सालसम्म कुर्नुपर्ने हो त?

त्यसो भयो भने हामी सबैलाई धेरै घाटा हुनेछ, हाम्रो देश धेरै पछाडि परिसकेको हुनेछ। ७२ सालमै बुझौँ, हिंसा मानव जीवनको निम्ति मात्रै हैन, आधुनिक चेत प्रतिपनि निकै हानिकारक हुन्छ। शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार मात्र हैन, स्वतन्त्र रुपमा विचार राख्न पाउने र नियमपूर्वक व्यापार-व्यसाय गर्न पाउने अधिकार पनि उत्तिकै आधारभूत अधिकारहरु हुन्। हाम्रो विकास र अर्थतन्त्र यिनै आधारभुत अधिकारमा निर्भर छन् र जबसम्म हामीले तिनलाई स्थापित गर्न सक्दैनौँ, हामी पिछडिएको राष्ट्र र मानव-संसाधन निर्यात गर्ने समाजकै रुपमा अँध्यारोमा रहिरहने छौँ।


(यो लेख केहि समय अघि सेतोपाटिमा प्रकाशित भएको लेखमा आधारित छ। सो लेख यहाँ उपलब्ध छ)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s