धर्म, लोकसंस्कृती र इतिहासबिचको सम्बन्ध


यो ब्लग नेपाल साप्ताहिकको अंक ६४७ (२०७२ जेष्ठ १०) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउराली को लेख “भाग्न नसकिने भूगोल र इतिहास” लेखमा आधारित छ । सो लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


आधुनिक देखिन चाहेर जतिसुकै प्राचीन ज्ञानको अवमूल्यन गर्न खोजे पनि तिनै धार्मिक ग्रन्थ र कथाहरूमा मानव जातिको युगौँदेखिको निरन्तरता, अनुभव र चेतना लुकेका छन्।

नेपालको इतिहासमा धेरैपटक भूकम्प र बाढी आएको छ। विसं ११९८ को भूकम्पमा परेर त राजा अभय मल्लको समेत निधन भएको भन्ने छ । के थाहा, धरहराजस्तै भूकम्पमा परेर अद्भुत भनिएको कैलाशकुट दरबार पनि पुरिएको हो कि ? बाढीकै कुरा गर्दा नेपालका खोलानदीले गंगाका फाँटहरू जलमग्न हुने हुँदा त्यहाँका धेरै मानिस सुरक्षित स्थानमा बसाइँ सरेकाले नेपालको तराईका धेरै भूभाग आवाद भएको मानिन्छ। यो क्रम निकट विगत र अहिलेसम्मै पनि चलेकै छ। राजनीतिक राज्यहरूको विकास हुनुअघिसम्म पनि मानवजातिको अस्तित्व रक्षाको एउटा अचूक माध्यम बसाइँसराइ हुने गथ्र्यो। मौसम परिवर्तन भएर विश्वव्यापी तापक्रम बढ्दै गएमा पृथ्वीका एकदम उत्तरी र दक्षिणी भेगका स्थानहरू मात्रै बस्न लायक बन्न सक्छन् वा फेरि अर्को बरफ युग सुरु भएमा भूमध्य–रेखा वरपर मात्रै आवादीयोग्य बन्न सक्छ।

201505248429-600x0

पृथ्वीमा विभिन्न किसिमका प्राकृतिक घटना भइरहेका हुन्छन्। वैज्ञानिकहरूका अनुसार आजभन्दा करिब १० हजार वर्षपहिले पृथ्वीमा हिम–युगको अन्त्य भएको थियो। त्यस युगमा पृथ्वीका अधिकांश स्थान जमेर बरफले पुरिएका थिए। अहिले पृथ्वीका ध्रुव र उच्च स्थानमा मात्र हिउँ छन्। तर, हिम–युगमा पृथ्वीको करिब मध्य भागसम्म बरफ थियो र अहिले समुद्र रहेका स्थानहरू पनि जमेका कारण त्यसमाथि हिँड्न सकिन्थ्यो। तर, बरफ युगको अन्त्यसँगै ती पग्लिन थाले। त्यस बखत सभ्यता बसेका धेरै स्थान पानीले पुरिए, पहिले जोडिएका स्थान र महादेशहरूबीच समुद्र र ताल बने। पानीको सतह बढेपछि मानिसहरू उत्तरतिर बसाइँ सर्न थाले। यो प्रक्रिया पृथ्वीमा चलिरहेको हुन्छ। बरफ युग सुरु हुँदा दक्षिणतिर बसाइँ सर्ने र बरफ युग सकिएपछि उत्तरतिर बसाइँ सर्ने गरेरै हाम्रा पुर्खा बच्दै आएका हुन्।

यो क्रम संसारभरकै सभ्यतामा चलेको मानिन्छ। त्यस कारण नेपालमा अहिले पनि इन्डोनेसिया र अस्ट्रेलियातिरका आदि–मानव र भाषाहरूको अवयव जीवित छ। त्यस्तै यस भूभागका मानव पनि निकै परसम्म पुगेका प्रमाणहरू भेटिएका छन्। विश्वभरकै लोककथा, किंवदन्ती र धर्महरूमा आदिम कालमा आएको बाढीको वर्णन पाइन्छ। जबरजस्ती आधुनिक देखिन चाहेर जतिसुकै प्राचीन ज्ञानको अवमूल्यन गर्न खोजे पनि तिनै कथा, धार्मिक ग्रन्थ, गीत र लोक–परम्परामा मानव जातिको युगौँदेखिको निरन्तरता, अनुभव र चेतना लुकेका छन्। तिनमै हाम्रो प्रजातिले सिकेको अस्तित्वको खोजी र रक्षाका इतिहास लिपिबद्ध भएका छन्। तिनलाई एकोहोरो निन्दा गर्नु र अन्ध–अनुसरण गर्नुभन्दा तिनको अध्ययन र विश्लेषण गर्नुपर्ने हो। भूकम्प आउँदा पनि हामीले एक–आपसमा मिलेर बस्ने, गीत गाउने, पूजा–आजा गर्ने, जीवन र जगत्को अर्थ सोध्ने, अस्तित्व रक्षाका प्रश्नहरूले घेरिने अनुभव धेरैले गरेका छौँ, भोग्नेहरूले अझ बढी।

डेढ महिनाअघि मात्रै रसुवा र नुवाकोट क्षेत्र भ्रमण गर्दा बस र पदयात्राका दौरान थुप्रैसँग बात मार्ने अवसर मिलेको थियो। विभिन्न समुदाय, पेसा र वर्गका मानिसमा त्यस क्षेत्रमा बन्दै गरेका जलविद्युत् योजनाहरू र नयाँ मोटरबाटाले आशा सञ्चार गरेका थिए। तिनको बोलीमा केही समय लागे पनि बिस्तारै अझै राम्रा दिन आउनेछन् भन्ने विश्वास थियो। माथि लाङटाङ क्षेत्र पुग्दा पर्यटन र नेपाली समाजको जटिल बनोटका थुप्रै आयाम देखिएका थिए। विभिन्न स्थानमा नेपाली समाजको अचम्मको सौहार्दता अनुभव गर्न पाइयो। पथप्रदर्शक, होटल सञ्चालक, कामदार, स्थानीय, पर्यटकदेखि विभिन्न व्यक्तिसँग केही बेरमै मित्रवत् भइन्थ्यो, जुन सायद संसारका निकै कम मात्र स्थानमा सम्भव हुन्छ। विदेशी पर्यटकमा पनि आफू सुरक्षित रहेको भावना प्रस्टै देखिन्थ्यो र एक्लै हुँदा पनि डराउने स्थिति नरहेको उनीहरू नै भनिरहेका थिए।

नेपाली समाजका मौलिकता, सौहार्दता र मेलमिलाप भूकम्पपश्चात् पनि प्रचुर मात्रामा देखिए। नेपालजस्तै आर्थिक–सामाजिक स्थिति भएका देशमा यस किसिमका प्रकोपपछि लुटपाट र हिंसा मच्चिएका दृष्टान्त छन्। अमेरिकामा पनि गत दशकमै मात्र आँधी आएपछि व्यापक लुटपाटका घटना भएका थिए। नेपालमा त्यस्तो केही भएन। भूकम्प आएकै दिनदेखि सरकारको अनावश्यक आलोचनामा केही सञ्चारमाध्यम लागिपरे र केही विदेशी संस्था र मिडियाले पनि पाटन क्षेत्रमा लुटपाट चलेको अफवाह चलाउने कोसिस गरे। तर, समाजमा सहयोग र सौहार्दता कायमै रह्यो। यो हाम्रो शक्ति र ठूलो पुँजी हो। दशकौँको कुशासन, गृहयुद्ध, आर्थिक कठिनाइजस्ता बाधाले पनि हाम्रो समाजका यस्ता राम्रा गुण ध्वस्त पार्न सकेको रहेनछ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s