भुकम्पको एउटा भविष्यवाणी, तर काम लाग्ला ?


भुकम्पको सही भविष्यवाणी गर्ने विज्ञान अहिलेसम्म विकसित भएको छैन । भुकम्पको भविष्यवाणी अहिले असम्भव छ ।

इटली-लाक्विलाको पाठ

इटालीको लाक्विला भन्ने शहर भुकम्प जोखिममा रहेको शहर हो । इतिहासमा पनि बेला-बेलामा भुकम्पहरू आएर त्यहाँ विनाश गरेको थियो । त्यहाँ पनि धेरै भवनहरू भुकम्प प्रतिरोधात्मक तरिकाले बनेका थिएनन् । सन् २००९ मा २-३ महिना जति नै लाक्विलामा स-साना कम्पनहरू भए । मानिसहरूमा त्रास बढ्यो । एक जनाले वैज्ञानिक रुपमा अपुष्ट तरिका अपनाएर भुकम्पको भविष्यवाणी गर्न थालेपछि भयको मात्रा नियन्त्रण गर्न जरुरी ठानेर स्थानीय सरकारले सो व्यक्तिलाई नियन्त्रण गर्यो र इटालेली वैज्ञानिकहरूको भेला गरायो । वैज्ञानिकहरूले आफूलाई थाहा भए जति जानकारी दिए- ठूलो भुकम्पको सम्भाव्यता कम छ, तर जोखिम यथावत् भएकाले भुकम्प आउँदैन भनेर ठोकुवा गर्न सकिँदैन । यसलाई बढाइ चढाइ गरेर एक स्थानीय अधिकारीले पत्रकार सम्मेलन गरेर भनिदिए- स-साना कम्पनहरू आएको राम्रो हो किनकि यसले ठूलो भुकम्पको सम्भावना कम गरिदिन्छ, त्यसकारण ढुक्क भएर बसे हुन्छ, केही हुँदैन ।

तर त्यसको १ हप्ताभित्रै ठूलो भुकम्प आइदियो । रातको समयमा मानिसहरू बाहिर सुरक्षित स्थानमा निस्कने कि ननिस्कने अन्योलमा रहे । सरकार र वैज्ञानिकहरूले केही हुँदैन भनेका छन्, भित्रै बसौँ भन्नेहरू भवनले च्यापिए, धेरैको मृत्यु भयो । भुकम्प आउँदा खुला स्थानमा निस्कनुपर्छ परम्परागत ज्ञान पछ्याउने बुढाबुढीहरु र अन्य मानिस बाँचे । ईटलीमा ती वैज्ञानिकहरू र सरकारी अधिकारी माथि हत्याको आरोपमा मुद्दा चल्यो र पछि पुनरावेदन हुँदा सफाइ पनि मिल्यो । उनीहरूले मानिस मारेको भन्दा पनि मानिसहरूलाई सुरक्षित हुने तरिका नसिकाएको र आफूलाई थाहा भएको ज्ञान राम्री सञ्चार गर्न नसकेको आरोप लागेको थियो । यसले विश्व भर वैज्ञानिक समुदायमा ठूलो हलचल ल्यायो ।

बढि जान्ने भएर मनपरी भविष्यवाणी गर्ने मानिसले पैदा गरेको त्रास कम गरी जनतालाई आश्वस्त पार्न सरकारले वैज्ञानिकहरूलाई बोलाएको थियो । वैज्ञानिकहरूले आफूसँग उपलब्ध ज्ञानको आधारमा दिएको सूचनाको सम्प्रेषण राम्री हुनसकेन । लाक्विलावासीका अनुसार उनीहरूले भविष्यवाणीको आशा गरेका पनि थिएनन्, तर कस्ता भवनका के जोखिम छन्, भुकम्प आइहाले के गर्ने आदि आवश्यक सूचनाको आशा गरेका थिए । तर स-साना पूर्व-कम्पनहरूले ठूलो भुकम्पको सम्भावना कम गरिदिन्छ र ढुक्क भए हुन्छ भन्ने भ्रम पूर्ण सूचनाले धेरैको ज्यान लियो । त्यसको केही पहिले इटलीकै अर्को शहरमा ठूलो भुकम्प आउँदैछ भनेर भविष्यवाणी गरेपछि भूकम्प नआउँदा अनावश्यक त्रास फैलाएको आरोपमा स्थानीय सरकार विरुद्ध मुद्दा पनि परेको थियो । जनतालाई आश्वस्त पार्नुपर्ने जिम्मेवारी र वैज्ञानिक सूचनाको सिमितता नबुझ्दा यस्ता घटना भएका थिए ।

Earthquakes in Nepal, from 25 April to 15 May 2015
Earthquakes in Nepal, from 25 April to 15 May 2015

भुकम्पको भविष्यवाणी कसरी गरिन्छ ?

नेपालमा पनि भुकम्पपछि अब ढुक्क हुनुस् भन्ने र अझै ठूलो भुकम्प आउँदैछ भन्ने लेखहरू प्रकाशित भइरहेका छन् । छोटकरी मा भुकम्पको भविष्यवाणी गर्न प्रयोग गरिने गणितीय तरिकाको बारे छलफल गर्न चाहन्छु । त्यो भन्दा पहिले के कुरामा प्रष्ट हुनुहोस् भने भुकम्पको सही भविष्यवाणी गर्ने विज्ञान अहिलेसम्म विकसित भएको छैन । भुकम्पको भविष्यवाणी अहिले असम्भव छ ।

प्वाँस (फ्रेन्च गणितज्ञ Poisson को नाममा) प्रक्रियाले कुनै पनि समय-अन्तरालमा कुनै घटना हुने सम्भाव्यताको व्याख्या गर्छ । जस्तै एउटा चोकमा उभिनुहोस् र दिनभर कति-कति समयमा हरियो रङ्गको गाडी देखियो भन्ने गनेर राख्नुहोस् । केही दिनसम्म यस्तो गरेपछि तपाईँसँग तथ्याङ्क हुन्छन् र यस किसिममा तथ्याङ्कलाई प्वाँस प्रक्रियाद्वारा व्याख्या गर्न सकिन्छ । मानौँ तपाईँले जम्मा गरेका तथ्याङ्कका अनुसार घण्टामा औसतमा १० हरियो रङ्का गाडी देखिन्छन् । यसलाई एउटा प्वाँस प्रक्रियाद्वारा गणितीय शुत्रमा व्यक्त गर्न सकिन्छ, जसको स्थिर मात्रा १० हुन्छ । यो एउटा सामान्य गणितीय नमुना तयार भयो । तपाईँले विगत १० मिनेटमा २ वटा हरिया गाडी देख्नुभयो भने अब अर्को हरियो गाडी देखिन कति समय लाग्ला ? यस्ता गणितीय नमुना प्रयोग गरेर यस्ता प्रश्नको उत्तर दिन सकिन्छ ।

तर साम्भवी शास्त्रको गुण वा अवगुण के हो भने यसले केवल सम्भावना बताउँछ । एउटा घण्टामा अौसतमा १० गाडी देखिने सम्भाव्यता छ भन्नुको मतलब हरेक घण्टा ठ्याक्कै १० गाडी देखिन्छन् भन्नु होइन । कुनै घण्टा एउटा पनि गाडी नदेखिन सक्छन् भने अर्को घण्टा एकैपटक २० गाडी देखिन सक्छन् । नेपाल बन्द भएको दिन एउटै गाडी नदेखिएलान्, तर बिहान कार्यालय जाने समय औसतभन्दा धेरै देखिएलान् । विषयको ज्ञान प्रयोग गरेर गणितीय मोडेल हरुलाई अझ जटिल बनाइन्छ र सकेसम्म यस्ता सबै सम्भाव्यता हरू व्याख्या गर्न सकिन्छ । तर पनि त्यो कहिल्यै पर्याप्त हुँदैन । वर्ष भरी गाडी चल्ने अौसत मात्रा घण्टाको १० हुनसक्छ, तर यो संख्या कुनै पनि दिन वा घण्टामा गलत वा धेरै तलमाथि हुनसक्छ ।

माथिको नमुनालाई अझ जटिल यस प्रकार बनाउन सकिन्छ । हरियो गाडी बिहानको समयमा धेरै देखिन्छन् होला, दिउँसो कम देखिन्छन् होला, साँझ फेरी धेरै देखिन्छन् होला र राती देखिँदैनन् होला । साझा बस चल्ने रुटमा अन्यत्र भन्दा धेरै देखिन्छन् होला । यस्ता सबै किसिमका तथ्याङ्क जम्मा गरेपछि साम्भवी शास्त्रको प्रयोगद्वारा भविष्यको बारे केही भन्न सकिन्छ । जस्तै पहिलेको सामान्य नमुनाको आधारमा कुनै पनि घण्टामा १० वटा र दुई घण्टामा २० हरियो गाडी देखिने भविष्यवाणी गर्न सकिन्थ्यो । तर पछिल्लो जटिल नमुनाको प्रयोग गरेर बिहान, साँझ, दिउँसो वा साझा बसको रुट भएको-नभएको आधारमा भविष्यमा कुनै पनि घण्टामा कति गाडी देखिन्छन् भन्ने अनुमान गर्न सकिन्छ ।

तर, भुकम्प भविष्यवाणीको निम्ति यसरी चाहिने जति तथ्याङ्क जम्मा गर्न सकिँदैन, किनकी ठूला भुकम्पहरू दुर्लभ हुन्छन् । त्यसमाथि पृथ्वीको बारेमा हामीसँग पर्याप्त ज्ञान पनि छैन । माथि भनेको जस्ता गणितीय नमुनामा भुगर्वबारेको ज्ञानबाट थप जानकारीहरू थप्न सकिन्छ । कति वटा गाडी देखिन्छन् भन्ने कुरा तलमाथि परेपनि वा कुनै दिन गलत भएपनि खास फरक पर्दैन । तर भुकम्पजस्तो घटनाको सही वा गलत भविष्यवाणीले मानिसहरूको र समाजको मनोविज्ञानमा ठूलो असर पार्न सक्छ । वैज्ञानिकहरू र अन्य समुदायले यस विषयमा होसियार हुनुपर्छ ।

भविष्यवाणी काम लाग्छ त?

यस कुरालाई थप व्याख्या गर्न मैले भूकम्प वैज्ञानिकहरूको समुदायमा लोकप्रिय एउटा गणितीय नमुना (अरू धेरै नमुना पनि छन्) लिएर केही अध्ययन गरेँ । नेपालमा १२ वैशाख देखि यो लेख लेख्दाको दिन शुक्रबारसम्म गएका सबै ४ रेक्टर स्केलभन्दा माथिका भुकम्पलाई यो नमुना प्रयोग गरी हेर्दा माथिको चित्रजस्तो देखिन्छ । यसमा पहिलो दिन (०) र १७ औँ दिनमा ठूला भुकम्प गएको प्रष्ट देखिन्छ । अब यसको प्रयोग गरेर अर्को ५ रेक्टर स्केल भन्दा माथिको भुकम्प अबका २० दिनमध्ये कहिले जान्छ त भनी खोज्दा आजबाट ५ औँ दिनसम्म, र १५औँ दिन देखि २०औँ दिनसम्म यस्तो सम्भाव्यता बढि रहेको देखियो । मतलब अब आउने बुधबारसम्म र त्यसको २ हप्तापछि यस्ता भुकम्पहरू जाने सम्भावना धेरै छ । यसै गरी अर्को ६ वा त्यसभन्दा माथिको भुकम्प आउने सम्भावना कहिले छ भन्ने हिसाब गर्न सकिन्छ । तर म पाठकहरूलाई साथैमा के भन्न चाहन्छु भने यस सूचनाको खास कुनै महत्व छैन । यी दिन हरुमा भूकम्प जानपनि सक्छ, नजान पनि सक्छ । यी अङ्कहरूको खास धेरै केही मतलब छैन भने पनि हुन्छ । नेपालमा अहिले आइरहेका भुकम्प हरू केवल पूर्वकम्पनहरू (foreshocks) पनि हुनसक्छन्, र अझै ठूलो भुकम्प बाकिँ नै हुनसक्छ । वा अर्को भुकम्प अझै धेरै वर्ष नआउन पनि सक्छ, अर्को हप्ता मात्रै पनि आउन सक्छ ।

तर के कुरा पक्का हो भने हामी संसारका धेरै भुकम्प जोखिम भएका क्षेत्रहरू मध्ये एकमा बस्छौँ । यो नयाँ जानकारी पनि होइन । नेपालमा भुकम्प आउँने सम्भावना धेरै छ किनकी हामी धेरै जोखिम क्षेत्रमा बस्छौँ । यो नै सबैभन्दा ठूलो भविष्यवाणी हो । तर हामीसँग अरू पनि सूचना र जानकारी छन् । जस्तै कस्ता घर बनाए जोगिन सजिलो हुन्छ, कस्तो माटो भएका स्थानमा भुकम्पको प्रभाव केही कम हुन्छ, कस्तो राज्यसंयन्त्र भए जोखिम व्यवस्थापन राम्रो हुन्छ , आदि । अहिलेसम्म हामीले यस कुराहरूमा त्यति ध्यान दिएका छैनौँ । काम चलिहाल्छ नि भनेर वेवास्ता गरेका छौँ । अब के बुझ्नुपर्छ भने यसरी काम चल्दैन । त्यही मानसिकता बोकेर हिँड्यौ भने त्यही हाम्रो मृत्युको कारण बन्न सक्छ । यसपटक भूकम्प केही थोरै रेक्टर स्केलको आयो, दिउँसो, र शनिबार आयो । धेरै विनाश भएपनि सोचे भन्दा कम क्षति भएको छ । यो हाम्रो निम्ति मौका हो, हामीलाई दोस्रो अवसर हो । अब हामीले पहिले गरेका गल्ती कामहरू गरिराख्यौँ भने अहिले जस्तो मौका नमिल्न सक्छ । पहिले गरेका गल्ती गरिरहेर फेरी सही नतिजा निस्कन सक्दैन, अहिलेको जस्तो दु:ख हुन्छ । हाम्रो राज्य किन भुकम्प अघि प्रभाव हीन भयो? हाम्रो राजनीति किन यति भ्रष्ट र केन्द्रिकित भयो ? हाम्रो हातमा हाम्रै बारे निर्णय गर्ने क्षमता किन गुम्यो ? अरूले भुकम्प मा सजिलै ढल्ने घर बनाउँदा पनि किन हामी चुपचाप हेरेर बस्न बाध्य हुने स्थितिमा पुग्यौँ ? जथाभाबी वाटो, घर र शहर विस्तार हुँदा पनि किन केही गर्न सकेनौँ ? राजनीतिको लगाम हामी सामान्य जनताको हातबाट फुस्केको छ । हामीसँग न स्थानीय निकाय छ, न नीति निर्माण र विकास प्रक्रियामा कुनै हस्तक्षेप गर्ने क्षमता बाकिँ छ । न सरकार र राजनीतिक दलहरूलाई जिम्मेवार बनाउने र निगरानी गर्ने संस्था र अभ्यासहरू छन् । अब ती सबैमा ध्यान दिनुपर्छ । किनकि सही किसिमको राजनीति, व्यवस्थापन, संरचना र आचरणले हो हामीलाई जोगाउने, भविष्यवाणीले होइन । भुकम्पको राम्रो भविष्यवाणी गर्नै पनि राम्रा संस्थाहरू चाहिन्छन्, राम्रा गणितीय नमुना र हाम्रो आफ्नै भुगोलको बृहत्तर अध्ययन चाहिन्छ ।

धन्यवाद दिऊँ, यसपटक मुख्य सचिव, योजना आयोगका पदाधिकारी, सेना, प्रहरी, अस्पताल आदिले निकै राम्रो तरिकाले काम गरे । तर सरकारका राम्रा तत्त्वलाई बलियो बनाउने र यो उत्तरदायित्त्वको भावना जारी राख्ने तरिका के हुन् ? अरू संस्थाहरूलाई पनि सुधार कसरी गर्न सकिन्छ ? हामीले बेलामै विचार पुर्याएनौँ भने थाहा दिएरै आएको कुनै विपत्तिपनि हाम्रो आफ्नै मृत्युको कारण बन्नसक्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s