एसिड प्रकरण बारे


जातीय संघियताका चर्को वकालत गर्नेहरूले प्रस्तुत गर्ने गरेको सामाजिक समस्याको कारण र समाधानमा यो सबै चित्र कहाँ अट्छ ?

एसिड प्रकरणपछि एकाएक रिसाएको देखिएको काठमान्डु अहिले रनभुल्लमा परेजस्तो देखिएको छ । पहिले फाँसी दिनुपर्छ भन्ने स्वरहरू सुनिएकामा अब समस्यालाई अरू गहिराइमा बुझिनुपर्ने आग्रहहरू सुनिएका छन् । अपराध समाधानको एउटा कानुनी बाटो हुन्छ भने अर्को राजनीतिक र सामाजिक । यो सबै किसिमका अपराधको हकमा लागु हुन्छ । अदालतको सजाय र कानुनको भरमा मात्रै अपराध हराएर जाँदैन । सजायको कारण मानिसले अपराध नगर्ने भए चोरीका घटना उहिल्यै हराउनुपर्ने । जस्तोसुकै कानुनी शाषण भएको देशमा पनि धेरथोर अपराध भइरहन्छन् ।

एसिड प्रकरणले समाजका थुप्रै जटिल विषयहरूलाई एकैपटक बाहिर ल्याइदिएको छ । गरिवी, जातीय भेदभाव, कानुनी व्यवस्था, दण्डहीनता र हिंसामा आधारित राजनीति जस्ता थुप्रै कारणहरू जेलिएर आएको यस विषयमा छोटो-मीठो विश्लेषण गर्न संभव छैन ।

खुला समाज भनेकै स्वतन्त्रता र कानुनी-प्राविधिक समाधान बीचको सम्झौता हो । सरकारले एक-एक नागरिकको निगरानी गरेर वा निकै क्रूर कानुन र सजाय बनाएर अपराध कम गर्न सक्ला, तर त्यसको मूल्य समाजले आफ्नो स्वतन्त्रतामा तिर्नुपर्ने हुन्छ । समाजमा अलिअलि खराब तत्व हुन्छन्, तर त्यसलाई कम गर्दै लाने र स्वतन्त्रतामा अनावश्यक सम्झौता नगर्ने अर्को विकल्प हुन्छ । यस विकल्पमा अपराधको सामाजिक र राजनीतिक समाधान खोजेर दीर्घकालिन रुपमा स्वस्थ समाज निर्माणको बाटो रोज्न सकिन्छ । समाजमा धेरै मान्छे समृद्ध र खुशी भए भने अपराध गर्नुपर्ने कारणहरू आफैँ घटेर जान्छन् । आफ्नो जीवनमा अपराध गरेर गुमाउनुपर्ने कुरा धेरै भएपछि मान्छे आफैँ हिच्किचाउँछ । कडा कानुन बाहेक थोरै आम्दानी भएपनि वा परिवार, जिम्मेवारी वा सामाजिक प्रतिष्ठाकै कारण पनि मानिस अपराध गर्नबाट हच्कन्छ । तर गुमाउनुपर्ने केही नहुने चरम गरिवी र शोषण भएको समाजले नै मानिसलाई अपराधी बनाइरहेको हुन्छ । फाँसीको व्यवस्था नै अपराधको उत्तम उपचार हो भन्नेहरूले यो बुझ्नु आवश्यक छ । फाँसीको व्यवस्था भनेको सरकारलाई नागरिक जीवनमा धेरै हस्तक्षेपको अधिकार दिनु हो । विरोधीलाई समाप्त पार्न र जनतामा त्रास कायम गर्न यो उपयोगी हुनसक्छ, तर अपराध कम गर्न कति उपयोगी हुन्छ, भन्न सकिन्न । खुलापनको यस्तो मूल्यमा अपराध कम गर्ने की अपराधका कानुनी बाहेक अन्य समाधान पनि खोज्ने ?

काठमान्डुको एसिड प्रकरणले समाजका थुप्रै जटिल विषयहरूलाई एकैपटक बाहिर ल्याइदिएको छ । गरिवी, जातीय भेदभाव, कानुनी व्यवस्था, दण्डहीनता र हिंसामा आधारित राजनीति जस्ता थुप्रै कारणहरू जेलिएर आएको यस विषयमा छोटो-मीठो विश्लेषण गर्न संभव छैन । न्यायाधीशलाई पनि यस विषयमा निर्णय सुनाउन पक्कै सजिलो हुने छैन ।

के कुरा पक्का हो भने यस्ता अपराध निरूत्साहित गर्न दोषीलाई कडा सजायको व्यवस्था गरिनु आवश्यक छ । यस अपराधप्रति कुनै पनि तरिकाले बचाऊ गर्ने वा सहानुभूति देखाउने प्रयास हुनु हुँदैन । त्यसको परिणाम अरू एसिड प्रकरण हुनेछन् । तर कानुनी साथै अन्य अपराध निवारणका तरिकाहरूबारे पनि सोच्नु आवश्यक छ । दोषीलाई सुधार गर्ने व्यवस्था हामीसँग छन् कि छैनन् ? अरू सम्भावित दोषीहरुलाई निरूत्साहित गर्ने सामाजिक र राजनीतिक कार्यक्रम कता छन् ?

यस घटनामा कतै बाट कुनै पहाडे खस समुदायको व्यक्ति संलग्न भएको भए प्रेसमा यसको वर्णन के रुपमा गरिन्थ्यो होला ? कुनै एक जात वा समुदायलाई सबै दोष दिएर नेपालका सबै समस्याका काल्पनिक समाधान प्रस्तुत गर्नु एउटा कुरा हो । दलित समुदाय जत्तिको भेदभावमा परेको समुदाय अरू कुनै छैन र त्यसमा सबैभन्दा बढी दोष, र विशेष गरी शुरुवाती जिम्मेवारी शक्तिको नजिक रहेका ब्राह्मण समुदाय (मधेशी र पहाडे ब्राह्मण दुवै) कै रहेको छ । तर समाजलाई सीधा रेखाले विभाजन गरेर रेखाभन्दा यता समाधान र उता समस्या भन्नु संभव छैन । नेपालको जटिल सामाजिक बनोटमा धेरै समुदायको धेरथोर संलग्नता छ, दोषीको रुपमा पनि र पिडितको रुपमा पनि । मात्रा कम-वेशी होला ।

जातीय स्वरूपको संघियताले सबै किसिमका सामाजिक असमानता हल गर्ने डम्फु फुकिएको छ । एसिड प्रकरणले हाम्रो समाजका जटिलताका त्यस किसिमको सरल व्याख्या निकै अपर्याप्त र हचुवा रहेको देखाएको छ । संदीग्ध अपराधीको जातीय पृष्ठभूमि दलित भनिएको छ । पिडितको जातीय पृष्ठभूमि जनजाति छ । प्रहरी अनुसन्धान गर्ने अधिकृत थारू पृष्ठभूमिकी छिन् । जातीय संघियताका चर्को वकालत गर्नेहरूले प्रस्तुत गर्ने गरेको सामाजिक समस्याको कारण र समाधानमा यो सबै चित्र कहाँ अट्छ ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s