तराई-मधेश र पहाड-हिमाल


यो लेखको लामो र परिमार्जित संस्करण सेतोपाटीमा प्रकाशित छ ।


तराई-पहाडको बारे कुरा गर्नु आजको वातावरणमा जोखिमपूर्ण छ, विशेषगरी म जस्तो पहाडी मूलको मान्छेको निम्ति । अहिलेको नेपालमा केहि कुराहरु गर्न राजनीतिक रुपले अनुचित र गलत मानिएको छ । त्यसमध्ये प्रमुख हो, पहाडी मूलको नेपालीले संघियता, पहिचान र जातियता जस्ता विषयबारे आफ्नो विचार व्यक्त गर्नु । त्यसकारण सकेसम्म चुप लागेर बसिन्छ, किन विवाद शुरु गर्नु, किन आक्रमणको एक्लो तारो बन्नु, र किन अलोकप्रिय बन्नु भनेर ।

 

सेतोपाटीमा दीपक रौनियारको राम्रो लेख देखेँ । एक अर्कासँग आपसी वार्ताको यो प्रयासलाई आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ भन्ने लागेर यो लेख लेख्दैछु । वहाँको लेखको खण्डन गर्ने प्रयास गर्न लागेको पक्कै होइन, केवल वहाँले शुरु गर्नुभएको छलफलमा योगदान गर्न खोजेको । धेरै अरु बुँदाहरु यहाँ उल्लेख गरेको छैन, वहस अघि बढ्दै गएछ भने गरौँला । हाललाई एउटा शुरुवाती विचार मात्रै प्रस्तुत गर्न चाहन्छु ।

 

रौनियारजीले नेपाली भाषाका राम्रा चलचित्रहरु बनाउनुभएको छ । सर्वप्रथम, हाम्रो देशको र नेपाली भाषामा श्रृजीत कलाको श्रृबृद्धिको निम्ति गर्नुभएको योगदानको निम्ति उहाँलाई मनैदेखि धन्यवाद ।

१ पार्टी र समुदाय छुट्टायाऔँ

मधेशी जनता र मधेशी दलहरु एकै हुन् कि फरक हुन् ? म ती दुईलाई फरक मान्छु । मधेशी नेता र दलले गरेका कार्यको आधारमा मधेशी जनताको मूल्याङ्कन गर्नु हुँदैन । रामचन्द्र पौडेल वा सुवास नेम्बाङ्ले गरेका कामको निम्ति म जिम्मेवार हुँदिन । उनीहरु जस्ता छन्, म पनि त्यस्तै छु भन्न पाईँदैन । त्यसकारण विजय गच्छदार वा जेपी गुप्ता जस्ता भएपनि त्यसको आधारमा मधेशी जनताको बारे कुनै निष्कर्श निकाल्नु ठिक होइन । खुमबहादुर खड्काले भ्रष्टाचार गरे भनेर सबै खड्का वा सबै पहाडी मूलका मानिस भ्रष्ट हुन् भन्नु हास्यास्पद कुरा हो । त्यस्तै मधेशी दलको कुनै गुण वा दोषलाई मधेशी जनताको गुण वा दोषको रुपमा अर्थ्याउने काम गलत हो ।

 

दीपकजीको लेखमा केहि असङ्गतीहरु छन् । शुरुमा वहाँले अजय खनाल र कनक दिक्षितले मधेशी दलका बारेमा गर्नुभएका टिप्पणीलाई मधेशी जनताको बारे गरेको टिप्पणीको रुपमा अर्थ्याउनुभएको छ । कसैले “माओवादीलाई तह लगाऊ” भन्छ भने शायदै कसैले त्यसलाई पहाडी मूलका मानिसलाई तह लगाऊ वा मजदूर वर्गलाई तह लगाऊ भनेको अर्थ लगाउँछ । त्यसोभए मधेशी दलहरुलाई चूप लगाऊ भनेर कसैले भनेको छ भने त्यस कुरालाई मधेशी जनता बारेको कथनको रुपमा लिनु कति सङ्गतीपूर्ण हो ?

 

यस्ता गल्ति गैह्र मधेशी समुदायका मानिसहरु गरिरहन्छन् । दीपकजीले यस्ता कार्यप्रति ध्यानाकर्षण गराएर आफुले पनि फरक अभ्यास गर्नुपर्नेमा उही गल्ति दोहोर्याउनु भएको छ । मधेशी दलहरु र मधेशी जनताबिच भिन्नता छुट्याउने काम मधेशी समुदायकै मानिसहरुको पनि हो । लोकतन्त्रमा दलहरुको कामको आलोचना हुनु स्वाभाविक र आवश्यक छ । तर कुनै जाती र समुदाय विशेषलाई उसको परिचयकै कारण आलोचना गर्नु अनुचित हो । मधेशी मूलका जनताले मधेशी नाम भएका दलहरुको आलोचना नै गर्न नपाइने वातावरण बन्न दिनुको साटो मधेशी नाम भएका दलहरु र मधेशी जनता दुई फरक विषय हुन् भन्ने कुरामा पहिले आफु प्रष्ट हुनुपर्छ ।

 

२ गाली खाने मधेशी दलहरु मात्रै होइनन्

 

दीपकजीले के बिर्सनु भएको छ भने नेपालमा धेरै पहाडी मूलका मानिसहरुको पनि भारतसँगको सम्बन्धको कारण आलोचना भएको छ । हाल भारतीय खुफिया एजेन्सीसँगको सम्बन्ध र त्यसले नेपालको राजनीतिमा पारेको असरबारे केवल मधेशी दलको मात्रै आलोचना भएको छैन । त्यसै किसिमको आलोचना बाबुराम भट्टराई, कृष्ण सिटौला, मृनेन्द्र रिजाल, विष्णु पौडेल र केपी ओली जस्ता नेताहरुको पनि भएको छ । फरक के मात्र हो भने दीपकजीले सजिलैसँग मधेशी नेता र पार्टीहरुलाई पीडितको रुपमा चयन गर्न सम्झनुभएको छ भने अरु सबैलाई बिर्सन चाहनुभएको छ ।

 

मधेशी दलहरुको राजनीतिक सहयात्री एनेकपा-माओवादीले सम्हालेको उग्र कम्युनिष्ट धार को विरासतले यस्ता आरोप अन्य धेरैलाई लगाएको छ । “जनयुद्ध” को शुरुवाती नारा नै भारत विरोधी कृतिम राष्ट्रवादमा आधारीत थियो । त्यस अन्तरगत बिपी कोइरालाहरुलाई नेपालको नदीलाना भारतलाई बेचेको आरोप लगाइन्थ्यो । बिपी र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुलाई उनिहरु भारतमा बसोबास गरेकै कारण राष्ट्रघाती र देश बेचुवाको रुपमा चित्रण गरिन्थ्यो । राजदरबार हत्याकाण्ड पछि राजा ज्ञानेन्द्र र युवराज पारस शाहको आलोचनाको एक मुख्य कारण युवराज्ञी हिमानीको भारतीय पारिवारीक सम्बन्धलाई बनाइन्थ्यो । त्यति मात्र होइन केही पहाडी जनजातीहरुले अहिलेसम्म पनि खस पहाडी समुदायलाई यस्तै किसिमका आरोप लगाउने गरेका छन् । उनीहरुका अनुसार खस समुदायका मानिसहरु केहि सय वर्ष अघि मात्र भारतबाट लखेटिएर नेपाल आएका अतिक्रमणकारीहरु हुन् र त्यसकारण विश्वास गर्न नसकिने देश बेचुवाहरु हुन् । भलै मानवशास्त्री र इतिहासकारहरुले नेपालमा खसहरुको साम्राज्य हजार वर्षभन्दा पुरानो भएको र उनीहरु नेपालमा दक्षिणबाट नभइ पश्चिमबाट प्रवेश गरेर धेरै अघि बसोबास गर्दै आएको प्रमाणहरु पेश गरिरहेका छन् ।

 

३ काँडाहरु सम्झिने, फुलहरु वेवास्ता गर्ने

 

माथि भनेजस्तै cherry picking गरेर रोजी रोजी केहि खराब कुराहरुको सम्झना गरिराख्ने र अरु सबै कुरा बिर्सने कामले समस्या पहिल्याउने र समाधान निकाल्ने दिशातर्फ सकारात्मक योगदान दिन सकदैनन् । यसले वहस र वादविदादलाई पनि धमिल्याउँछ । मधेशी समुदाय नेपालको सामर्थ्यवान र अग्रणी समुदाय हो । इतिहास देखि हालसम्म विभिन्न रुपले यसले नेपालको राष्ट्रिय चरित्रलाई परिभाषित गरेको छ र नेतृत्व पनि प्रदान गरेको छ । यो समुदाय माथि विभिन्न विभेद र अन्याय भएका होलान्, तर ती सँधैभरी जारी रहँदैनन् । रहन सक्दैनन् । मधेशी समुदायका चिन्तकहरुले पनि आफुलाई सधैँभरी पीडितको रुपमा प्रस्तुत गर्नुभन्दा अलि माथि उठेर चिन्तन गर्नु जरुरी भइसकेको छ ।

 

Cherry picking को एउटा उदाहरणको रुपमा हालै तराईमा घटेको एक घटनालाई प्रस्तुत गर्न चाहन्छु । अब्दुल रहमानलाई प्रहरीले अनुचित ढङ्गद्वारा विद्युतीय कारोवार ऐन अन्तरगत थुनामा राख्यो । त्यसको विरोध गर्नेहरुमा पहाडी मुलकै मानिसहरु पनि प्रशस्तै थिए । वास्तवमा त्यसअघि नै पहाडी मुलका दिनेश आचार्य, सुशील पन्त, र तराईमै पनि पहाडी मूलका अन्य मानिसहरुलाई अनुचित ढङ्गमा विद्युतीय कारोवार ऐन अन्तरगत नै थुनामा राखिएका समाचारहरु आएका थिए । यि समाचारहरुबारे त्यति चर्चा कहिल्यै भएन । तर तराई मूलमा १-२ मानिस थुनामा पर्दा सारा राष्ट्रिय संयन्त्र नै षडयन्त्रमुलक रुपमा मधेशीहरुको दमन गर्न उत्रिएको भान पर्ने गरी चर्चा चुलिएको थियो । सीके लालले नश्लिय आरोपकै शैलीमा सरकारको आलोचना गर्ने अधिकार पहाडेहरुलाई मात्रै भएको जिकिर गर्नुभएको थियो, मानौँ वहाँसँग सो पुष्टि गर्ने गर्ने तथ्याङ्क वा कुनै प्रमाणिक आधार नै थियो । यस विषयमा तुला नारायण साहले पत्रकार सम्मेलन नै गरेर मधेशीहरुलाई तारो बनाइएको आरोप लगाउनुभएको थियो ।

 

शायद यी र यस्तै नश्लीय आरोप र cherry picking मा आधारीत तर वैज्ञानिक तथ्यजस्तै गरी प्रस्तुत हुने दोषारोपणले हैरान भएर  एक मित्रले मलाई भनेका थिए की हाल नेपालमा पहाडी मूलका मानिसहरुको स्थिति दोश्रो विश्वयुद्ध अघि जर्मनीका यहुदीहरुसँग तुलना गर्न सकिने खालको छ ।

 

४ राष्ट्र र राष्ट्रियताहरुको रुप

भारतमा देशको निम्ति धेरै पदकहरु जितेकी सानीया मिर्जाको राष्ट्रियतामा अझै प्रश्न उठिरहन्छ । हालै पनि यस विषयमा विवाद भएको थियो । तर क्यानडामै जन्मे-हुर्केका एक वैज्ञानिकले गणितको सम्मानित पुरस्कार पाउँदा त्यसलाई भारतीय राष्ट्रिय गौरव ‍जसरी लिइयो । कुनै विशेष किसिमको राष्ट्रवाद नेपालको मात्र विशेषता वा परिचय होइन । भुटानमा त एकै किसिमका मानिस र संस्कृती बाहेक अरुलाई बस्नै नदिने गरी लखेट्ने काम पनि भएकै हो । तिब्बतमा चीनले हान जातीसँगको विहेबारीमा जोड दिने नीति नै लिएको छ । पश्चिमी प्रान्तका उग्युरहरुलाई त्यस्तै किसिमको समस्या छ ।

 

यी कुराहरुलाई राम्रो भनेर अवश्यै भन्न खोजेको हैन । तर आदर्श एक ठाउँमा हुन्छ भने वास्तविकता अर्को । मूल्याङ्कन भने चाहेको आदर्श तर्फ गइरहेका छौँ कि छैनौँ भन्ने आधारमा हुनुपर्छ । नेपालमा आदर्श स्थिति पक्कै छैन । तर हाम्रा प्रयासहरु त्यसलाई सच्याउने दिशातर्फ गइरहेका छन् कि छैनन् ? मूल्याङ्कन त्यस आधारमा गर्नु ठिक हुन्छ । आक्रोशले भरिएको तातो तातो लेख लेख्न सजिलो छ । तर सुझबुझपूर्ण तरीका भनेको वास्तविकताको हेक्का र समाधानमुखी प्रयासहरुमा सहयोग गर्नु हो ।

 

देशहरुको मनोविज्ञान आ-आफ्नै किसिमले विकसित भएको हुन्छ । त्यसमाथी कमजोर र साना देशहरुमा राष्ट्रियताको भावना अन्य देशमा भन्दा बढी नै हुन्छ र त्यसको विकास क्रम पनि मौलिक हुन्छ । त्यसको अनुपस्थितिमा ती देशहरुको अस्तित्व जीवित रहनै सक्ने थियो वा थिएन भन्ने प्रश्न आफ्नै ठाउँमा छ । नेपालको हकमा यी सबैको माथि भुगोलको छुट्टै भुमिका छ । उत्तरमा अग्ला हिमाल र कम जनघनत्व भएको भुभागले किटानी गरेको स्पष्ट सीमाना छ भने दक्षीणमा एउटा देश कहाँ सकिन्छ र अर्को कहाँ शुरु हुन्छ भनेर छुट्याउन गाह्रो छ । देशको पहिचान छुट्टाउने प्रयासको रुपमा केहि चरित्रहरु राष्ट्रिय पहिचानका रुपमा विकसित हुनु अचम्मलाग्दो कुरा होइन । आफुलाई फरक राष्ट्रको रुपमा स्थापना गराउन सहयोग गर्ने यस्ता पहिचानहरु धर्म, भाषा, पोषाक, भुगोल, संस्कृती आदि वा यिनका मिश्रण हुनसक्छन् । यस प्रकारको राष्ट्र विकासका धेरै उदाहरणहरु दिन सकिन्छ, दक्षिण एशीयामा होस् वा मध्यपूर्व वा पूर्वी युरोपमा हालसम्म चलिरहेका विवादहरु समेत मध्यनजर गरेर होस् ।

 

 

 

५ सकारात्मक प्रयासहरु

फेरी छिमेककै केहि वास्तविकताहरु बारे छोटो प्रशङ्ग । भारतमा आरक्षणको प्रावधानको विरोधमा त्यहाँका सबैभन्दा प्रतिष्ठित शैक्षिक संस्था र व्यक्तिहरुबाट त्यसको चर्को विरोध भएको थियो । दिल्लीमा AIIMS र देशैभरका IIT र अन्य क्षेत्रहरुमा सडक प्रदर्शन, हडताल र आत्मदाह हरु समेत भएका थिए । मूलधारका विचारक र राजनीतिक शक्तिहरुले नै आरक्षणको निकै ठुलो विरोध गरेका थिए । नेपालमा शान्ति सम्झौता हुनुभन्दा अघि वि सं २०६० ताका आरक्षणको शुरुवात भएको थियो । शैक्षिक संस्थाहरुबाट शुरु भएको त्यस्तो आरक्षण विस्तारै प्रशासनिक र अन्य क्षेत्रहरुमा पनि लागु गरियो । फेरी पनि, लोकतान्त्रिक समाजमा कुनै कार्य वा नीतिको विरोधै नहोस् भनेर आवाजहरु चुप गराउने प्रयास निन्दनीय नै हो । आरक्षणको नीतिको पनि केहिले विरोध गरे, जुन अस्वाभाविक होइन । कुनै नीतिबारे सबैको एकमत र बुझाई हुँदैन ।

तर समग्रमा नेपाली समाज र राजनीतिको मूलधारको प्रतिकिया के रह्यो भन्ने वास्तविकता महत्वपूर्ण छ । भारतमा जस्तो चर्को विरोध नेपालमा हालसम्म भएको छैन । न कुनै परिचित र सम्मानित विचारक वा कुनै स्थापित राजनीतिक शक्ति वा मूलधारको अन्य संस्था वा व्यक्तिले नै यस नीतिमा असहयोग वा विरोध गरेको छ । सरकार र संसदले विना कुनै उल्लेखनीय अवरोध यी आरक्षण नीतिहरु बनाए र कानूसम्मत रुपमा लागु भएपछि यिनको कार्वान्यनमा पनि खासै समस्या देखिएको छैन । के नेपाली समाजको यस्तो परीपक्व व्यवहारको बारे कहिल्यै कसैले केहि भन्नु पर्दैन ?

आखिर समाज नै हो, मानिसहरु नै हुन्, सँधै गाली, घृणा र आरोप मात्रै सुनेपछि यिनीहरुको पनि कट्टर हुने र प्रतिरक्षात्मक हुने स्वरुप हुन्छ । नेपालमा हाल लागु भइरहेको सामाजिक सुधार, समावेशीता र समानुपातिक प्रतिनिधित्वको प्रयासलाई नेपाली समाजले विना कुनै उल्लेखनीय अवरोध सहयोग गरिरहेको विषयमा कहिल्यै कुनै सकारात्मक टिप्पणी मैले पढ्न वा सुन्न पाएको छैन । छिटपुट हुने स-साना विरोधका स्वरलाई पनि ठुलो बनाएर बरु सम्पूर्ण पहाडी समुदाय नै परिवर्तन विरोधी रहेको जस्तो तस्वीर प्रस्तुत गरिन्छ । विचारको विविधता र स्वतन्त्रता कै बर्खिलाप हुने गरी सत प्रतिशत मानिसले उही स्वर र उत्साहका साथ प्रस्तुत हुनुपर्ने जिकिर गरिन्छ । जबकी छिमेकसँगकै तुलनाका आधारमा पनि पहाडी समुदायको र नेपालकै मूलधारले सम्पूर्ण रुपमै हाल चलिरहेका सुधारमा कामहरुको स्वागत गरिरहेको छ । तर तिनलाई चिढ्याउने काम भने चलिरहेकै छ । मानौँ तिनीहरु चिढिए र उग्र बनिदिए राम्रो हुने थियो, तब न असहिष्णुताको घिनलाग्दो तस्वीरको सत्यता स्थापित हुन्छ ।

अन्त्यमा,

दीपकजीलाई कुराकानीको शुरुवातको निम्ति फेरी पनि धन्वाद । आपसी संवाद चलिरहनुपर्छ र त्यसैमार्फत समझदारी र समाधानहरु पहिल्याउनु पर्छ । तर भावावेषमा गरिने ताता-ताता तर्कहरु र cherry picking ले समाधान तर्फ होइन झन् टाढा लैजाने सम्भावना हुन्छ । स्थापित अन्य विचारकहरुको बोझ हामी सबैले बोकि रहनु पर्दैन, हामीले नयाँ तरीकाले वास्तविक भएर वहसको थालनी गर्न सक्छौँ । माथि भनेजस्तै विभिन्न असङ्गत विषय र वहसहरुको छ्यास्मिस मिसावटले विषय प्रष्ट बनाउन भन्दा झन् गाँठो झन् कस्ने काम गर्छन् । एक एक गरी र सही तरीकाले वहसको शुरुवात गर्दै अघि बढाउनु तपाईँ हाम्रै जिम्मेवारी हो, आउनुस् मिलेर गरौँ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s