निबन्ध: गाई


Cow slaughter is illegal in Nepal and many Indian states. It is considered a taboo by many buddhists of Sri Lanka and China, apart from Hindus in these countries.
गाई हत्यालाई नेपाल, र भारतका अधिकांश राज्यमा गैह्कानुनी मानिन्छ । यी देशका हिन्दुहरु बाहेक चीन र श्रीलङ्काका बौद्ध धर्मावलम्बिहरु पनि गाईको हत्या र मासु खानुलाई नराम्रो मान्छन् । तस्विर साभार patheos.com

 

गाई एउटा घरेलु चौपाया हो । यो नेपालको राष्ट्रिय जनावर पनि हो । गाई निकै उपयोगी जनावर हो । जिवित हुँदा गाईले दुध दिन्छ । दुध, दही, घ्यू, र मोही बच्चा र बुढा सबैको निम्ति पोषिला खानेकुरा हुन् । गाईको गोबर राम्रो मल हो । यसले बाली उब्जनी राम्रो गरेर अरु खानेकुरा प्रदान गर्न सहयोग गर्छ । गाईको छोरा गोरुको प्रयोग खेत जोत्नको लागि हुन्छ । मृत भएपछि पनि गाईको छाला र हड्डी कपडा, टाँक आदि बनाउन प्रयोग हुन्छ । यसरी हाम्रो खानेकुरा र दैनिक जीवनको निम्ति गाईको निकै महत्व छ । यसैकारण गाईलाई हाम्रो संस्कारमा भगवानको रुपमा पूजा गरिन्छ । तिहारका ५ दिनहरुमध्ये एक गाई तिहार हो ।

मानिस, गाई, सुङ्गुर, कुकुर

सानोमा विद्यालयमा गाईबारे लेखेको निबन्धको अंश ठ्याक्कै यस्तो नभए पनि यस्तै-यस्तै थियो भन्ने मलाई अझै याद छ 🙂 । गाईको याद बेलाबखत अरु तरिकाबाट पनि आउँछ ।

नेपालमा पहिले पनि पहाडी गाउँहरुमा गोरुको मासु खाने गरेको मैले देखेको छु । काठमाडौँका शपिङ् मलहरुमा क्यानमा सुरक्षित गाईको मासु मैले कम्तिमा दश-पन्ध्र वर्ष अघि नै देखेको थिएँ । गाउँका केही ठाउँहरुमा गोरूको मासु बन्ने कुरा सबैलाई थाहै हुन्थ्यो । छिटपुट कसैले अवरोध गर्न खोजेको भए पनि धेरैलाई थाहा भएका यी कुरामा ठूलो विवाद भएको थाहा थिएन । आजकल विवाद बढ्नु दु:खद हो । हालै यसै विषयमा मानिसको मृत्यु भएको कुरा झनै गम्भीर हो । यो कुनै पनि हालतमा स्विकार्य होइन । मानिसको सम्मान, स्वतन्त्रता, र जीवन अरु सबै विषयभन्दा माथि हुन्छन् । कसैको आस्था वा कुनै जनावरको कारण मानिसको ज्यान जाने अवस्था आउनु हामीले समाज र देशको रुपमा अझै धेरै आधारभूत काम‍ गर्न बाँकी रहेछ भन्ने महसुस गर्ने समय हो । यस्ता कार्य निरुत्साहित गर्न मात्रै होइन, समाधानको दीर्घकालिन तरिका पनि सोच्नु जरुरी छ ।

विदेशीहरु पनि गाईको याद दिलाइरहन्छन् । उनीहरु नेपाल-भारतमा गाईलाई दिने महत्वबारे आश्चर्य मानेर सोध्ने गर्छन् । खानेकुरामा गाईको मासु अपरिहार्य जस्तै भएको हुँदा केही मानिसहरु गाई मार्दैनन् र खाँदैनन् भन्ने कुराको कारण उनीहरुलाई बुझ्न गाह्रो लाग्छ । मुसलमान र यहुदीहरुले सुङ्गुरको मासु खाँदैनन् भनेर त्यति अचम्म मानेको देखिँदैन तर गाईको मासु नखानु किन यस्तो अचम्मको विषय बनेको भनेर मलाई कहिलेकाहिँ अचम्म पनि लाग्छ । कति स्थानहरु र विमानहरुमा समेत मुसलमान र यहुदीहरुको संवेदनालाई ख्याल गरेर सुङ्गुर विनाको मासु वा हलाल र कोशर (इस्लाम र यहुदी धर्ममा हलाल र कोशर गरेको मासु मात्र खान मिल्छ) गरेको मासुको पनि प्रबन्ध गरिएको हुन्छ । तर कतै पनि गाई विनाको विशेष खानाको व्यवस्था गरेको देखेको छैन ।

त्यस्तै समस्या कोरीयन र अन्य एशियालीहरुलाई पनि परेको देखेको छु । धेरै एशियाली देशहरुमा कुकुरको मासु खाने चलन छ । तर पश्चिमेलीहरु घरमा पाल्ने साथीजस्तो जनावर कुकुरको मासु खाने कुरा कल्पना गर्न पनि चाँहदैनन् । कुकुर र बिरालो मानिसजस्तै भावना व्यक्त गर्न सक्ने र बुद्धिमान जनावर हुने हुँदा तिनीहरुलाई मारेर खानु बर्बर र असह्य जस्तो लाग्छ उनीहरुलाई (हुन त सुङ्गुरलाई पनि उत्तिकै बुद्धिमान मानिन्छ) । कोरीया-जापानमा विश्वकप फुटबल हुँदा धेरै मानिसहरु त्यहाँ कुकुर मार्ने काम बन्द हुनुपर्ने माग गर्दै थिए । कुकुर मार्न बन्द नगरे सो विश्वकप वहिष्कार गर्नुपर्ने आवाज पनि उठाउँदै थिए ।

भनिन्छ, One man’s food is another man’s poison ।

पहिचान र कट्टरता

पश्चिमा देशका मानिसहरुको निम्ति कुकुर आफ्नो नजिकको साथीजस्तो जनावर भएजस्तै हाम्रो भुभागका किसानहरुको निम्ति गाई नजिकको उपयोगी जनावर हो । नेपालमा कृषक जीवनयापन गर्ने मानिसहरुको संख्या १ दशकअघिसम्म पनि प्रशस्तै थियो । पहिले त प्राय सबैको जीवनयापन नै कृषिमा आधारित थियो । कृषिमा आधारित अर्थतन्त्रमा गाई एउटा महत्वपूर्ण लगानी पनि हो । गाई चोरी भएमा वा मरेमा ठुलो नोक्सान हुने मात्रै होइन, गाई नभएमा आत्मनिर्भरता नै नहुने र गरीबी आइलाग्ने स्थिति थियो । विपतको समयमा गाई बेचेर गुजारा चल्थ्यो । त्यस्तो उपयोगी जनावरलाई भगवानको रुपमा पूज्य बन्नु आश्चर्यजनक नहुनुपर्ने हो । पूर्वीय संस्कारमा त नीम र तुलसीजस्ता विरुवाको पनि पूजा गरिन्छ । मरुभूमिका मानिसहरुले यसैगरी उँटलाई महत्व दिनेगरेको र उँट मार्नुलाई दण्डनीय अपराध बनाएको पनि पढेको छु । कुकुरको मासु खानुलाई आजको जमानामा पनि नैतिकताको प्रश्नले बेरेर निन्दा गरेको पनि देखेको छु ।

विनाकारण र तर्क पनि कुनै व्यक्ति वा समुदायले आफ्नो आस्था, वा मूर्खताकै कारण केहि खान चाँहदैनन् भने त्यो उसको खुशीको कुरा हो । मानिसहरुलाई राष्ट्रवादी भए वा आफ्नो परम्परा मान्ने भए भनेर आलोचना गर्नु अवास्तविक हो । अधिकांश मानिसहरु वास्तविकतामा आफ्नो समूह, इतिहास र परम्परासँगको पहिचान कायम गरिराख्ने स्वभावका हुन्छन् । यो प्राकृतिक कुरा हो । र यो नेपालीहरुको हकमा मात्रै लागु हुँदैन । नेपालीहरु मात्रै धार्मिक, परम्परावादी वा राष्ट्रवादी भए भनेर तिनको आलोचना गर्नुको कुनै तुक छैन । पहिले त मानिसहरु आ-आफ्नै गाउँमा बस्ने हुँदा यस्ता आस्थाहरुको कारण अरुसँग झगडा हुने संभावना कम थियो । अब त विश्व यति नजिकिएको छ कि कोही सहिष्णु र अराष्ट्रवादी मानिस पनि अरुको असहिष्णुताले र राष्ट्रियताले गर्दा झन् कट्टर बन्ने संभावना हुन्छ । पहिले पश्चिमेलीले के खान्छन् भनेर वास्ता नगर्ने भए पनि आफ्नो खानेकुराको रोजाइलाई नैतिकताले हेर्नेहरुसँग अब कोरीयालीहरु झन् कट्टर रुपमा प्रस्तुत हुनेछन् । अमेरीकामा प्रति वर्ष हजारौँ होइन दशौँ लाखको संख्यामा खानेकुराको निम्ति जनावरको हत्या गरिन्छ भन्ने तथ्य सम्झाई सम्झाई उनीहरुलाई दोषी भएजस्तो अनुभूति गराउन चाहन्छन् । झन् नेपालमा पहिचानको बहस बढिरहेको सन्दर्भमा यस्ता जुधाइ र कट्टरता स्वाभाविक भन्दा बढि नै हुनेछ भन्न सकिन्छ ।

प्राचिन इजिप्टमा अन्य जनावरको बलि दिइने गरे पनि पनि गाईको पूजा हुन्थ्यो । गाईलाई इजिप्टियन सभ्यतामा भगवानको रुप मानिन्छ । तस्विर- touregypt.net
प्राचिन इजिप्टमा अन्य जनावरको बलि दिइने गरे पनि पनि गाईको पूजा हुन्थ्यो । गाईलाई इजिप्टियन सभ्यतामा भगवानको रुप मानिन्छ । तस्विर- touregypt.net

जनावर र मानव-विकासको इतिहास

तैपनि बहसकै खातिर एकछिन गाईको मासु नखानु मूर्खता नै हो भन्ने तर्कलाई समातौँ । आधुनिक समाजमा स्वास्थ्य, पहिचान, परम्परा, आर्थिक वा राजनीतिक बाहेक अरु कारणले गाईको मासु खान नहुने म पनि देख्दिन । कसैलाई कुनै पनि प्रकारको मासु खान मन लाग्दैन, तर खानै नहुने त कुनै कारण छैन । केही मानिस यो तर्कलाई अझै तन्काएर इतिहासमा पनि गाई खान नहुने कुनै कारण छैन भन्छन् । माथि कृषिमा आधारित जीवनमा गाईको महत्वको कुरा गरिसकेको छु । अझै अरु कारण पनि हेरौँ ।

मानवशास्त्री र इतिहासकारहरुले जनावरकै कारण मानिसहरुको विकास फरक फरक रुपमा भएको भन्ने तथ्यतिर इङ्गित गर्ने अनुसन्धान र निचोडहरु निकालेका छन् । समुद्री एशिया (अष्ट्रेलिया र वरिपरिका साना टापूहरु) का आदिवासीहरुको जीवनयापन अझै पनि निकै परम्परागत छ । उनीहरुको शिकार खेल्ने, कपडा लगाउने, र समग्र जीवन जिउने तरिका संसारका अन्य मानिसहरु भन्दा धेरै बढी hunter-gatherer समाजहरुसँग (शिकार खेलेर, बसाईँ सराई गर्दै जीवन यापन गर्ने पुरानो मानव सभ्यताको रुप) मिल्छ भनिन्छ । धेरै अनुसन्धानकर्ताहरुका अनुसार यी समाजहरु कमजोर हुनु र अरुजस्तै विकसित हुन नसक्नुमा जनावर र प्रकृतिसँगको सम्बन्धको भूमिका छ । अन्य स्थान मानिसहरुले जनावरलाई घरपालुवा बनाए, तीबाट फाइदा लिए, साथीजस्तो बनाएर बलिया भए, आफ्ना कमजोरीहरु कम गर्न सके । तर यी स्थानका मानिसहरु धमाधम जनावरहरुको शिकार गर्दै तिनलाई खानमा मात्र प्रयोग गरे । जनावरलाई घरेलु बनाएर प्रयोग गर्ने समाजहरु कुकुर, कुखुरा, सुङ्गुर, बाख्रा, गाईजस्ता प्राणीबाट निरन्तर दुध, मासु पाउन सके र घरपालुवा बनाएर तिनको संख्या बढाउँदै लगे । मल, मासु, कपडा र भारी बोक्नको निम्ति पनि जनावरको प्रयोग गरे । हात्ती, घोडा जस्ता जनावरलाई सहज यात्राको निम्ति प्रयोग गरे भने हड्डी र छालाबाट हतियारहरु बनाई शिकार र युद्धमा पनि अरुभन्दा अगाडि रहन सफल रहे । तर जनावरलाई केवल शिकार गरेर खाने समाजहरुले यी सबै विकासका चरणहरुबाट गुज्रन सकेनन् । विस्तारै तिनले खाने जनावरहरुको संख्यामा कमी आएर कति लोप हुन थाले । मध्य अमेरीका र समुद्री एशियामा मानिसहरु पुगेका केही वर्षमै धेरै जनावरहरु लोप भएका तथ्यहरु भेटिएका छन् । तुलनामा युरोप र जमीनी एशियाका मानिसहरुले जनावरको प्रयोग अन्य किसिमबाटै गरेको हुँदा त्यहाँ जनावरहरुको पनि विकास हुन सक्यो भने मानव समाजको पनि ।

यति भनेपछि केही मानिसहरु फेरि “hunter-gatherer हुनुलाई असभ्य भन्न पाइन्छ?” भनेर प्रश्न गरिहाल्छन् । नराम्रो हामीले सोचेर वा हामीले लादेर पो भएको भनिहाल्छन् । यसलाई आफैँमा नराम्रो भन्न खोजेको होइन, तर यसले उनीहरुलाई अन्य समाजसँगको प्रतिस्पर्धामा पछाडि पारेको छ । माथि नै भनेँ, जबसम्म अरुको सम्पर्कमा हुँदैनन्, तबसम्म कुनै समाज जसरी बाँचेपनि उसलाई फरक पर्दैन । तर जब अरुको सभ्यता, क्रुरता, वा कट्टरताको सामना हुन्छ, तब कुनै समाजको मूल्याङ्कन निरपेक्षतामा हुन सक्दैन । Hunter-gatherer समाजहरु आफूभन्दा विकसित हतियार बोक्ने समाजसँगको युद्धमा पराजित हुने नै भए । आज उनीहरुको समाज र सभ्यता लोप हुने स्थितिमा पुगेको छ । पहिले युद्धहरु हतियारबाट हुन्थे होलान्, हिजोआज आर्थिक विकास, शिक्षा आदि रुपमा पनि हुन्छन् । त्यसकारण मलाई लाग्छ बाँकी समाजहरुसँगको अन्तरकृया र घस्रणको विश्लेषण विना कुनै पनि समाजलाई उसको स्वरुपको निम्ति आलोचना गर्नु अपुरो हो । आखिर कुनै समाजको स्वरुप विकासमा अरुसँगको अन्तरकृयाको पनि भूमिका रहेको हुन्छ ।

गाईको बारे के गर्ने ?

हामी आज न मूलत: कृषि जीवनयापन बिताउछौँ, न त hunter-gatherer समाजमा नै छौँ । तर पहिचान, इतिहास र परम्परा सबैका निम्ति प्रिय हुन्छन्, झन् अरुसँगको सम्पर्कका विभिन्न आयामहरुका कारण । नेपाल संसारकै पुराना देशमध्ये हो र यसको उत्पत्ति एउटा nation-state को रुपमा भएको हो । Nation state मा राष्ट्र विकास गर्नेहरुका धर्म, भाषा र चलनहरुको स्थान अन्य किसिमले विकास भएका राष्ट्रहरुमा भन्दा फरक हुन्छ । धेरै समुदायहरुको साझा घर नेपालमा यस्तो नभइदिएको भए आदर्श नै हुने थियो । तर वास्तविकता अर्कै भएको हुँदा आदर्शका कुरा भन्दा समाधानका यथार्थवादी तरिकाहरु बारे सोच्नु उपयोगी हुन्छ । नेपालका धेरै मानिसहरुको आस्थामा जानी जानी चोट पुर्याउने कामहरु हिजोआज भइरहेका छन् भन्ने एकथरीको मान्यता छ । अर्काथरी भन्छन् धेरै मानिसहरु भएको समुदायले हामीलाई जानी जानी पेलेर राखेको छ, त्यसकारण हामी उनीहरुलाई चोट पुर्याउने काम गर्नै चाहन्छौँ । गाईबारे विवाद यसकै एक कडी हो जस्तो मलाई लाग्छ । पहिचानको खिचातानी बढ्दै जाँदा यस्ता घटना बढ्दै जाने छन् ।

नेपाल र नेपालीहरुको उद्देश्य आधुनिक देशका विकसित नागरिकहरु बन्नु नै हो । यसका निम्ति आधुनिक राष्ट्रका तरिकाहरु अपनाउनुको विकल्प छैन । आफ्नो परम्परा, इतिहास र पहिचान एक ठाउँमा छन् । आधुनिक राष्ट्रको विकासको निम्ति ती सबै छोड्नुपर्दैन । तर तिनको बचाउ गर्न सक्ने हैसियत बनाउन पनि पहिले आधुनिक देशतर्फको यात्रा शुरु गरेको विश्वास दिलाउनुपर्छ । जनावरको भन्दा मानिसको जीवनको मूल्य कम छ भन्ने भान पर्ने कामहरु गरीरहँदा परम्पराको बचाउ गरेको कसैले सुन्दैन र पत्याउँदैन पनि । नेपालमा गाईको मासु खान मन लाग्नेहरुलाई खाने छुट हुनुपर्छ । त्यस्तो गर्न नदिने नियमहरु छन् भने परिमार्जन गर्नुपर्छ । पशुपालन र वध वस्ती रहेकै स्थानमा गर्नु यसैमा पनि अस्वस्थकर, जोखिमपूर्ण र बच्चाहरुको निम्ति हिंस्रक हुनसक्छ । त्यसकारण पशुपालन र वध गर्ने निश्चित क्षेत्रहरु तोक्ने र तिनलाई वस्तीबाट पर राख्नुपर्ने आवश्यकता छ । त्यस्तै मासुको गुणस्तर नाप्ने र कायम गर्ने कदमहरु चाल्न जरुरी छ । कुनै कुरा जति रोक्न खोज्यो त्यसको आकर्षण उति बढी हुन्छ । त्यसमा पनि आधुनिक राष्ट्रमा व्यक्तिको स्वतन्त्रता, जीवन र सम्मान भन्दा ठूला कुरा केही हुँदैनन् । स्वाभाविक रुपमा आफूलाई मनपरेको खानेकुरा खाने र त्यसो गर्दा अरुलाई चोट नपुर्याउने काम गर्दैजाँदा बरु आफ्ना आस्थाहरुप्रति अरुले पनि सम्मान गर्दै जालान् । नत्र हात लाग्ने मुठभेड र दोषारोपणको अन्त्यहीन शृंखला नै हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s