फुटबलको भु-राजनीति


उस्तै-उस्तै मानिसहरुको समुहसँग जोडिन चाहने मानवीय स्वभाव विभिन्न रुपमा अभिव्यक्त हुन्छन् । समाज, संगठन, दल र राष्ट्रको उत्पत्ति यसकै परिणाम हो । समुहले पहिचान प्रदान गर्छ, सुरक्षाको अनुभुति दिन्छ, र ‘हुनु’ को गौरवबोध गराउँछ । औसत मानिसका सपना, द्विविधा एवं अहंको तुष्टि र पुनर्बलन एक्लै भन्दा समुहमा सजिलो हुन्छ । समुहको चेतना नहुने र यो केवल औसत मानिसहरुको दुर्बलताको गठजोड हो भन्ने मत पनि बलियो छ । समूह हुल्याहा, अनुशाषण विहीन हुन्छ, र आफुलाई विशिष्ट सम्झन्छ । यो तर्कच्यूत हुन्छ । यसले आफु र अर्काको फरकमा जोड दिन्छ, घृणा उत्पन्न गराउँछ, भावावेश बढाउँछ र अविवेकी कार्यहरु गराउन प्रेरीत गर्छ । राष्ट्रियता, धर्म, पहिचान आदिका नाममा मानिसका समूहहरुबिच असंख्य युद्धहरु भएका छन्, धेरै क्षती भएको छ । विश्वको निकट विगतको इतिहासमा युद्धहरु कम भएका छन् । संसारको ठुलो भुभागमा धर्म र राष्ट्रियताको नाममा युद्ध, उपनिवेशिकरण, दासता जस्ता कार्यहरु रोकिएका छन् । अन्य भुभागहरु पनि त्यहि दिशामा अग्रसर झैँ देखिन्छन् ।

तर फुटबलसँग यसको के सम्बन्छ ? फुटबलले धेरै मानिसलाई सामुहिक पहिचानको बाटो प्रदान गरेको छ । उग्र राष्ट्रवादलाई आजकल अनुचित मानिन्छ । तर उग्र फुटबल फ्यान हुनुमा हालसम्म त्यस्तो नराम्रो केहि छैन । मेरो फुटबल क्लब तेरो भन्दा राम्रो, मेरो शहर बढि सुन्दर, हामी तिमीहरुभन्दा ठुलो भन्ने भावनाको निकासको निम्ति फुटबल र खेलकुद एउटा सहज माध्यम बनेको छ । मेरो देशको साहित्य राम्रो, मेरो भाषा मीठो, मेरो देश धनी, मेरो देशका वैज्ञानिक उपलब्धिहरु सर्वोत्कृष्ठ जस्ता धेरै स-साना सामुहिक पहिचानहरु कतै पुरानो किसिमको राष्ट्रवादलाई विस्थापित गर्ने माध्यमहरु त हैनन् ? हुन त आजकल फुटबलसँग सम्बन्धित हुलदङ्गाहरुमा पनि कमि आइरहेका छन् । यसको मतलब के राष्ट्रको नाममा गरिने युद्ध हुँदै क्लबको नामना हुने भिडन्त बाट संसार अझै अघि बढिसकेको हो त ? मानिसहरु अन्तत समुहको पहिचान र सुरक्षा नभइकनै पूर्णता महसुश गर्ने अवस्थामा पुगेका हुन् त ? वा फेरी पनि आमसंचार, शहरीकरण, र सामाजिक संजाल हुँदै अभिव्यक्तिका माध्यम र भिडन्तका स्वरुपहरु मात्रै बदलिएका हुन् ?  यि प्रश्नले निम्त्याउने खोजी र जवाफहरु रोचक हुनसक्छन् । यस लेखमा केवल फुटबलका केहि ऐतिहासिक भुराजनीतिक अनुभवहरुको विवरण प्रस्तुत गरिने छ ।

अल्जेरीया भर्सेस जर्मनी

विश्वकपमा आज हुन गइरहेको अल्जेरीया र जर्मनी बिचको खेलले केहि पुराना तनावहरुको स्मृती ताजा बनाउनेछ । अल्जेरीया युरोपको ठ्याक्कै दक्षीणमा रहेको अफ्रिकी देश हो । भुमध्य सागरसँग जोडिएका एशियाली र अफ्रिकी देशहरुको मौसम, बसोवास र प्रवृति आफ्ना महादेशहरुसँग भन्दा दक्षीणी युरोपसँग ज्यादा मिल्छ । दक्षिणी युरोपमा भएका ऐतिहासिक सत्ताहरुको प्रभावबाट यि पनि पर रहेनन् । युरोपीय औपनिवेषिक शाषणको मारमा पनि यि देशहरुले धेरै समय बिताउनुपर्यो ।

सन् १९८२ को विश्वकपमा तत्कालिन युरोपेली च्याम्पियन पश्चिम जर्मनीलाई पराजित गरेर अल्जेरीयाले विश्वलाई चकित बनाएको थियो । अल्जेरीयाको फुटबलको रोचक इतिहास सो देशकै इतिहाससँग जोडिएको छ । फ्रान्समा व्यवसायिक फुटबल खेल्ने अल्जेरीयालीहरु फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्ने मौका त्यागेर आफ्नो देशको स्वतन्त्रता आन्दोलनमा सरीक भएका थिए । उनीहरु फ्रान्सको औपनिवेशिक शाषण विरुद्ध लडिरहेका थिए । १९८२ को खेल अगाडि जर्मन खेलाडीहरुले सजिलै अल्जेरीयालाई पराजित गर्ने सार्वजनिक गर्ने अभिव्यक्ति गिएका थिए । सो क्रममा उनीहरुले अमर्यादित भाषा र अति घमण्ड प्रदर्शन गरेर अल्जेरीयाली टोलीको मनोबल गिराउन खोजेका थिए । तर वर्षौँदेखि भावनात्मक रुपले बाँधिएका अल्जेरीयालि खेलाडिहरुको खेल कौशल र राष्ट्रिय भावनाले जगाएको जोसले विजय हासिल गर्यो । तत्पश्चात विक्षिप्त बनेको जर्मनीले अष्ट्रियासँगको आफ्नो खेलमा खेलभावना विपरीत व्यवहार प्रदर्शन गरेर अल्जेरीयालाई प्रतियोगिताबाट बाहिर्याएको थियो । त्यसै समयदेखि समूह चरणमा अनुचित प्रदर्शन नहोस् भनेर अन्तिम २ खेलहरु सँगसँगै खेलाउने गरिन्छ ।

आज फेरी अल्जेरीया जर्मनीसँग भिड्दै गर्दा जर्मन टोलीको खेल शैली सन् ८० को दशक भन्दा धेरै फरक र आकर्षक भइसकेको छ । तर पुरानो पुस्ताका अल्जेरीयालीहरु र देशको स्वतन्त्रा लडाईँका यादहरु जिवितै छन् । उनीहरुको लागि आजको खेल केवल खेल मात्रै हुने छैन । समूह चरणबाट निर्मम रुपमा बाहिरिनुपरेको धेरै वर्षपछि बल्ल अल्जेरीया नकआउट चरणमा प्रवेश गरेको छ । आज घाऊ सम्झिइने छ र जितेमा केवल खेल होइन, वर्षौँदेखिको हिसाब बराबर गरेको अनुभुति हुने छ । औपनिवेशिक महादेश युरोप र अफ्रिकाबिचको भावनात्मक र राजनीतिक तनावको र राष्ट्रवादको अर्को प्रदर्शनी आज हुनेछ ।

जर्मनी भर्सेस हल्याण्ड, अर्जेन्टिना भर्सेस इङ्ल्याण्ड, केल्टिक भर्सेस रेन्जर्स, बार्सेलोना भर्सेज म्याड्रिड

फुटबलको भुराजनीतिका महादेशीय, राष्ट्रिय, धार्मिक र अन्य धेरै आयामहरु छन् । यस लेखमा सबैको विस्तृत चर्चा गर्नुभन्दा केहिको बारे छोटोमा परिचय दिइनेछ ।

दुई विश्वयुद्धहरुमा भुतपूर्व शाषकहरुले गरेका गल्तिहरुको निम्ति जवाफ दिनुपर्ने र गाली खाइरहनुपर्ने नियती नै बनेको छ, युद्ध पश्चातका जर्मन पुस्ताहरुको समेत । आजकल युरोपेली देशहरुमा युद्धसँग जोडिएका राष्ट्रवादी भावनाहरु निकै कम भएपनि त्यसमा लुकेको भावनात्मक शक्ति र व्यापारको अवशर बुझेका पत्रिकाहरु जर्मनीसँगको हरेक खेललाई युद्धसँग तुलना गर्छन् । बेलायत र जर्मनी बिचको होस् वा फ्रान्स र जर्मनी बिचको, खेलपूर्व र पछि युद्धसँगका तुलनाहरु आफसेआफ निस्किन्छन् । अझै कडा प्रतिद्विन्दिता छ हल्याण्ड र जर्मनी बिचको । छिमेकि यि दुई देशहरु बिच सन् १९८८ मा भएका खेलमा प्राप्त भएको जितमा पुरा नेदरल्याण्ड भरी नै युद्ध जितेको अभिव्यक्ति स्वरुप खुशियाली मनाइएको थियो ।

फल्कल्याण्डको युद्धको कारण अर्जेन्टिना र इङ्ल्याण्ड बिचका खेलहरुले सन् ८० को दशकमा निकै भावनात्मक र राष्ट्रवादी आवेगहरु निम्त्याउँथे । म्याराडोनाको कौशलले युद्ध हारे पनि खेल जितेर बराबरी गरेको मलम अर्जेन्टिनी जनताले महसुस गरेका थिए भनिन्छ । स्कटल्याण्ड र ईङ्ल्याण्डका ब्लबहरुका खेलले पनि राष्ट्रवादी भावनाहरु जगाउँछन् । बेलायतमा केहि समय अघिसम्म पनि फुटलब सम्बन्धि हुल्दङ्गा र हिंसा ठुला समस्याका रुपमा रहन्थे । स्कट्ल्याण्टका दुई क्लबहरु केल्टिक र रेन्जर्स बिचको दुश्मनी त अझै उदाहरणीय मानिन्छ । यि दुई क्लबले प्रतिनिधित्व गर्ने समर्थक र तिनका पक्षधरताको पृष्ठभुमी खेलभन्दा धेरै अलग राजनीति देखि, अर्थनीति, जीवनशैली, धर्म र क्षेत्रियतासम्म फैलिएको छ । यि बिचको द्वन्द र यिनका समर्थकहरुबिचको तनाव फुटबल फुटबल भन्दा धेरै बृहद भएको कुराको प्रमाणको रुपमा लिन्छन धेरैले । फुटबलले प्रतिनिधित्व गर्ने वा अभिव्यक्त गराउने मानव समुहहरु बिचका अनेकौँ तनावको झल्को यिनीहरुबिचको दुश्मनीमा प्रकट हुन्छ ।

धेरै समयसम्म स्पेनका तानाशाह फ्रान्को र उनको सत्ताबाट अल्पसंख्यामा रहेका क्याटालन र बास्क समुदायका मानिसहरुले अन्याय भएको महसुस गरेका थिए । राजनीतिक, सांस्कृतिक र सामाजिक कृयाकलापहरुमा कडाइ गरिएको समयमा यि समुदायका मानिसहरुलाई आ-आफ्नो फुटबल क्लबका रङ्गशालाहरु अभिव्यक्तिमा माध्यम बन्ने गर्थे । बार्सेलोना क्लबले त फुटबल मात्रै होइन, क्याटालन सामुहिक पहिचान, समाजवादी आदर्श र सामुहिक स्वामित्वको व्यापार नमुना समेत प्रतिनिधित्व गर्दथ्यो । सो क्लबको उदय, विकास, स्टेडियम र खेलहरुमा क्याटालान जनता, राजनीति र स्वतन्त्रता आन्दोलनको  निकट भावना जोडिएको छ । केन्द्रिय सत्ताको राजधानी म्याड्रिडको क्लब रियाल म्याड्रिडसँगको खेल बास्क र क्याटालन समुहको निम्ति सधैँ महत्वपूर्न हुने गर्दथ्यो । फुटबल इतिहासकारहरुका अनुसार त्यस्ता खेलहरुमा बिल्बाओ र बार्सेलोनाका रङ्शाला खेलमञ्च कम र राजनीतिक जमघट बढि लाग्ने गर्दथे । बिल्बाओ क्लबको नीति आजसम्म पनि टोलीमा बास्क प्रदेशकै मानिसहरुलाई प्रस्रय दिनु रहेको छ ।

हालैको इतिहासको कुरा गर्दा आइभरी कोष्टका चर्चित खेलाडि ड्रोग्बालाई आफ्नो देशमा गृहयुद्ध रोकेको जश दिइने गर्छ । ड्रोग्बा युद्ध पछिको देशको नयाँ पहिचानको प्रतिनिधि र आदर्श बनेका छन् । उनले सन् २००६ को विश्वकपको सेरोफेरोमा युद्धरत समूहहरुलाई युद्ध रोक्न आह्वान गरे, खेलस्थल बाटै । आइभरी कोष्ट २००६ मा प्रथम पटक विश्वकपको निम्ति छनोट भएको थियो र युरोपेली क्बलमा आफ्नो खेलले प्रभावित पारेका ड्रोग्बा को अपील को परिणाममा गृहयुद्ध अन्त्यो भयो । धेरै वर्षहरु अघि नाइजेरीयाको गृहयुद्ध पनि फुटबलकै कारण केहि समय स्थगित भएको थियो । फुटबलका महाहस्ती पेलेको खेल हेर्नको निम्ति सो देशमा २ दिनको निम्ति युद्धविराम भएको थियो ।

अन्त्यमा,

फुटबललाई एक समय युद्ध झैँ महत्वपूर्ण मान्ने गरिन्थ्यो । युद्धहरुको कमी सँगै यो क्रममा परिवर्तन भएको होला । खेलमा हुने व्यवसायिक लगानी र स्वार्थले पनि यसलाई कम हिंसात्मक र बढि रमाइलो बनाउन सहयोग गरेको छ । विकसित देशहरुमा फुटबल सम्बन्धि हिंसाहरु क्लब-फुटबलका घटनाहरुमा पहिले भन्दा निकै कम हुने गरेका भए पनि यदाकदा अझै हुन्छन् । कम विकसित देशहरुमा भने फुटबलमा व्यसायिकीकरण ढिलो हुँदा, राजनीतिक विकास सोचेजस्तो नहुँदा र राष्ट्रिय अभिव्यक्तिका अन्य माध्यमहरु कम हुँदा फुटबलको सम्बन्ध भु-राजनीति र राष्ट्रिय भावनासँग अझै केहि समय रहने देखिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s