नेपाली भाषा दक्षिण एशियाकै पुरानो मध्ये एक


जति लुकाउन खोजेपनि नेपालमा अहिले एक किसिमको जातीय रीसराग र वैमनश्यता कायम छ । यस्तो आपसी तनाव बारे दुश्मनभावले हैन मैत्रीपूर्ण र समझदार तरिकाले सम्बोधन गर्नु आवश्यक छ । एक-अर्कालाई बुझ्ने र अर्कोको आँखाबाट पनि हेरेर समस्याहरु समाधान गर्न थालेमा मात्र गल्तिहरु सच्याउने र अतिवादी धारलाई असान्दर्भिक बनाउने कार्य सम्भव हुन्छ । नेपालमा धेरै समयसम्म प्रकट नभएको यस्तो घस्रण र सौहाद्र वातावरणमा बसिरहेका मानिसहरुबिचको आपसी मनमुटावबाट आत्तिने हैन कि यसलाई समस्याहरु पहिल्याउने र द्विविधाहरु हटाउने अवसरको रुपमा प्रयोग गर्न सकेको खण्डमा हामी सबैलाई फाइदा पुग्छ ।

यस्ता जातिय र धार्मिक घस्रण आजकल विश्वभरनै देखिएका छन्। सहज बनेको आमसंचार, साँघुरिएको विश्व, बढिरहेको जीवनस्तर र नागरिक जीवनमा सत्ताको घट्दो प्रभावको कारण मानिसहरु आ-आफ्नो व्यक्तिगत मात्र नभएर सामुहिक अभिव्यक्ति र पहिचानको बारे पनि सधैँभन्दा बढि सजग हुँदैछन् । त्यसकारण आ-आफ्नो पहिचान र सामुहिक अभिव्यक्तिको अभिलाषालाई विदेशीको षडयन्त्र वा देश टुक्राउने चाल भनेर वेवास्ता मात्र गरेर हुँदैन । बरु मानिसहरुको यस्तो स्वावाभिक चाहनालाई प्रष्फुटन हुने बाटो हामीले बनाउन सकेनौँ भने त्यसले चाहिँ हाम्रो एकतालाई कमजोर बनाउने र मुलुकमा असौहाद्र वातावरण बनाउन सक्नेछ ।

अनेकतामा एकता

नेपालमा धेरै समयसम्म हामीले सुनिआएको हो, अनेकतामा एकता, नेपाल विभिन्न जातजातीहरुको फुलबारी आदि भनेर । त्यसो भने पनि सबै जात-जातिहरुको लागि नेपालमा समान स्थिति थिएन । हो, तुलनामा नेपालको स्थिति छिमेकका अरु देशहरुभन्दा राम्रो होला । भारतका ठुला शहरहरुमा अहिलेपनि पुर्वोत्तरका मानिसहरुमाथि ठूलो भेदभाव हुन्छ- हत्या र बलत्कार समेत । पूर्वोत्तर भारतीय राज्यका मुख्यमन्त्रीहरु समेतले चिनीया र नेपाली भएको आरोप खेप्नुपर्छ । त्यस्तै बिहारीहरुले असम र महाराष्ट्रजस्ता राज्यहरुमा र असमीहरुले बिहार र दिल्लीमा धेरै दु:ख पाउनुपर्छ, ज्यानको खतरा समेत । उत्तरी र दक्षिणी भारतबिचको होस् वा पूर्व र पश्छिम भारतबिचको, भेदभाव र जातीय हिंसाको समस्या भारतजस्तो परिपक्व लोकतन्त्र र विविधता भएको विशाल राष्ट्रमा पनि रहेको छ । बङ्लादेश र पाकिस्तानमा हिन्दु धर्मावलम्बीहरु प्रति हुने भेदभाव बारे धेरै लेखिएका छन् । भुटानले र बर्माले पुस्तौँदेखि त्यहाँ बसिरहेका नेपालीभाषिहरुलाई के गर्यो भनेर हामीलाई कसैले सम्झाइरहनुपर्दैन । श्रीलङ्काको जातीय युद्ध सामान्यज्ञानको विषय हो । चिनमा तिब्बती, उग्युर र अन्य अल्पसंख्यकहरुको स्थिति दयनीय रहेको छ ।

पहिचान, सम्मान र भाषा-संस्कृति प्रबर्धनमा समस्या भएपनि नेपालमा मधेशी-ब्राह्मन र कायस्थ समुदाय मानव-विकास सुचकाङ्कमा सबैभन्दा माथि रहेका छन् । त्यस्तै समस्याहरु भोग्नुपरेको भएपनि नेवार समुदाय संमृद्धि र व्यापार-व्यसायको हिसाबले अगाडि छ । यसो हुन नहुने भनेर जातीय अहंकारको अभियान जनस्तर बाट र राज्यकै स्तरबाट पनि छिमेकमा जस्तो नेपालमा रहेको देखिँदैन । तर त्यसो भन्दैमा समस्याहरु नै नरहेको भन्न खोजिएको होइन ।

हामीले विविधता र फुलबारी भनेर मख्ख परेपनि नेपालमा सबै जात-समुदायको भाषा र संस्कृतिलाई राज्य र समुदायको तर्फबाट पर्याप्त ध्यान पुग्न सकेन । हाम्रा हिमाली भेगहरुमा आजपर्यन्त सभ्यता कायम गर्ने शेर्पा र अन्य समुदायहरुको बारे हामीलाई कति थाहा छ ? उनीहरुले हिमाल चढेर रेकर्ड राख्दा, वा थान्का कलाबारे विदेशीले कुरा गर्दा, वा क्याराभान जस्ता चलचित्र प्रख्यात हुँदा गर्व गर्नु बाहेक उनीहरुका खानेकुरा, भाषा, कला आदिबारे हामी धेरैलाई सतही मात्र ज्ञान छ । त्यस्तै धेरै अन्न र फलफुलको उब्जनी स्थन मात्र नभई बुद्ध-जनकको स्थान र मिथिला-कला सभ्यताको भुमी तराई-मधेस फाँटका मानिसहरुबारे हामीलाई कति थाहा छ ? हुनुपर्ने हैन ?

 

समस्याहरु बुझौँ

अन्य समुदायका मानिसहरुले नेपालीभाषी पहाडि समुदायको आँखाबाट पनि हेर्ने प्रयास गर्नु उत्तिकै शिक्षाप्रद हुनसक्छ । नेपाल भन्ने देशको निम्ति अहिलेका पुस्ताका हामीले केहि नगरेका भएपनि तथ्य के हो भने यो देशको वर्तमान स्वरुप बनाएको यहि समुदायले हो । लडेर, मरेर, छल-कपट, षडयन्त्र आदि गरेर नेपालको भुगोल जोगाएको यिनिहरुले नै हो । यहि भुगोल भएकै कारण आज हामीलाई आ-आफ्नो पहिचान र विकासको निम्ति अवसर मिलेको छ, जुन छिमेकका देशहरुमा अरु गाह्रो हुनसक्थ्यो । नेपाल भन्ने देश यो देशका निर्माताहरुको सामुहिक अभिव्यक्तिको माध्यम हो । यो देश विना नेपाली भाषी र अन्य पहाडि समुदायको पहिचान सुरक्षित हुन संभव थिएन ।

त्यति मात्र नभएर नेपाल जस्तो भुगोलमा बसेको छ, त्यहाँ हामीले इतिहासमा सधैँ बाह्य आक्रमण र हस्तक्षेपको सामना गरिरहनुपर्यो । कतिसम्म भने २-३ दशक अघिसम्म पनि शीतयुद्ध र इन्दीरा-राजीव गान्धिको कारण नेपालीहरुलाई आफ्नो देश नै रहने हो कि नरहने हो भन्ने डर रहिरहन्थ्यो । यहि मनोविज्ञानको कारण उनीहरु रक्षात्मक र अन्य समुदायप्रति शंकालु बनेको अनुमान गर्नु अतिशयोक्ति हुँदैन होला । यस्तो बाह्य वातावरणको बिचमा नेपालको इतिहास नै कसरी आफ्नो अस्तित्व जोगाउने भन्नेमा केन्द्रित रह्यो । त्यहि भएर होला, नेपालको इतिहास बारे एउटा सम्मानित अङ्ग्रेजी पुस्तकको नाम नै “Nepal: A Struggle for Survival” रहेको छ ।

आफ्नो इतिहासको अघिकांश समय अस्तित्व रक्षामै ध्यान दिनुपरेको देश र त्यसका शाषकहरुबाट बाकिँ विषयहरुमा पर्याप्त ध्यान नपुग्नु त्यति अचम्म नहुनुपर्ने । शक्तिसंघर्ष केन्द्रित राज्यमा तानाशाहहरु र जातीय सफायाहरुको सम्भावना अझै बढि हुनेगर्छ । सौभाग्य नै मान्नुपर्छ, त्यस्ता हिँसात्मक र जातीय द्वन्द र सफायाका कार्यहरुबाट बच्न नेपाल सफल नै रह्यो । यो यहाँको बलियो सहिष्णु र उदार समाजको कारण मान्न सकिन्छ । त्यसैगरी अस्तित्व रक्षाको निम्ति संघर्षरत राज्यको निम्ति आफुलाई अरुभन्दा फरक देखाउनुपर्ने टड्कारो आवश्यकता पनि हुन्छ । नभए कसरी देशको औचित्य पुष्टि गर्ने ? हामी तिनीहरुभन्दा फरक हौँ, हामी राम्रा र असल हौँ, भन्ने भावना नआएसम्म देशको रक्षा गर्न कसरी त्यहाँको जनसंख्या तयार हुन्छ ? त्यसैकारण नेपालको सत्ताले एक-किसिमको राष्ट्रवादको पक्षपोषण गरेको बुझ्न कठिनाई छैन । नेपालको पहाडि समुदाय र नेपालबिचको यहि भावनात्मक सम्बन्धको कारण धेरै समुदायहरुलाई चोट पुग्न गएको तथ्य नजरअन्दाज गर्न भने हुँदैन ।

 

आपसी-सम्मान विकास गरौँ

Divergence and age of languages. Nepali is older than many other South Asian languages (including Hindi), as indicated by the length of the language branches. [Nature 426.6965 (2003): 435-439.]
Divergence and age of languages. Nepali is older than many other South Asian languages (including Hindi), as indicated by the length of the language branches. [Nature 426.6965 (2003): 435-439.]
महाभारत र अन्य प्राचिन ग्रन्थहरुमा कतै-कतै नेपालका खस र किँरातीहरुलाई हेयको दृष्टिले व्याख्या गरेको पाइन्छ । यि समुदायहरु हिन्दु धर्मभन्दा बाहिरका प्रकृतिपुजकहरु थिए । उनीहरुको आफ्नै सभ्यता र जीनवयापन थियो र महाभारतमा पनि उनीहरु कौरव सेनाको (पराजित सेना) तर्फबाट लडेका थिए । उनीहरुको रहनसहन पनि समथर फाँटहरुको भन्दा फरक थियो । तर फाँटहरुमा विकसित भइरहेको हिन्दुधर्मको शाखाले यि मानिसहरुलाई पहिलेदेखि नै म्लेच्छ र अपवित्र जस्तो मान्ने गरेको बुझ्न सकिन्छ । वास्तवमा खस र किँरातहरुको आफ्नै बृहत सभ्यता थियो । अहिले पनि दुल्लु र जुम्लाबाट फर्कने मानिसहरु भन्ने गर्छन् कि त्यहाँ जताततै पुराना शिलालेखहरु फालिएका देख्न सकिन्छ र भग्नावषेशहरु नाश हुँदै गरेको भेटिन्छ । अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको टोलीले प्राचीन सिंजा उपत्यका सभ्यताका भग्नावषेशहरु जोगाउन र त्यसक्षेत्रलाई “युनेस्को सांस्कृतिक सम्पदा” को रुपमा विकसित गर्ने सिफारिस गरेर गएका छन् । तर नेपालको सत्ता र समाजले ति सम्पदा रक्षा गर्न केहि पहल गरेको छैन । त्यहाँका सम्पदाहरु लोप र नष्ट हुने खतरा बढेर गएको छ ।

हाल नेपाली भाषाको बारेमा पनि विवाद गर्न खोजिँदै छ । नेपाली भाषाको लिखित इतिहास हजार वर्षजति भए पनि यो भाषा दक्षीन एशियाका सबैभन्दा पुराना भाषाहरु मध्ये एक भएको तथ्य अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले धेरै वर्ष अघि स्तापित गरिसकेका छन् । नेपाली भाषामा चासो राख्ने मेरा केहि मित्रहरुका अनुसार ‘नेचर’ भनिने अति-प्रतिष्ठित वैज्ञानिक जर्नलका अङ्कहरुमा प्रकाशित यि सोधहरुले दक्षिण एसियामा नेपाली भाषाभन्दा पुरानो भाषा सिंहाली र कश्मिरी मात्र रहेको देखाएका छन् (हेर्नुहोस् माथिको चित्र) । नेपाली अनुसन्धानकर्ताहरुका अनुसार नै १००० वर्षदेखि लिखित नेपाली भाषाका अभिलेखहरु भेटिएका छन् (हेर्नुहोस् तलको चित्र) । तर अनुसन्धानको कमी र हाम्रो उदासिनताले यस्ता अन्य धेरै अनुसन्धान र अभिलेखहरु नष्ट हुने खतरामा पुगेका छन् । उचित अनुसन्धान भएको खण्डमा नेपाली भाषाको वास्तविक उमेर अझै पुरानो भएको पत्ता लाग्नसक्छ ।

तर महाभारत युगमा जस्तै पहाडि समुदायहरुलाई हेयको दृष्टि र सभ्यता विहिन समुदायको रुपमा स्थापित गर्ने प्रयास फेरी शुरु हुन थालेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । यि मानिसहरु सधैँ नै अछुतको दर्जामा हुनुपर्छ, यिनीहरुको आफ्नो देश, सभ्यता र पहिचान हाम्रोभन्दा सानो हुनुपर्छ, यि “पहाडि काठाहरु” सधैँ हामीभन्दा तल्लो स्तरका हुन् र अहिले पनि यिनले धेरै अगाडि बढ्नु हुँदैन भन्ने खालको जातीय विद्वेष फैलाउने काम निरुत्साहित गर्नुपर्छ । झुठ र आधारविहीन प्रचारवाजीमा आधारीत तर्कगराई यसैपनि हानीकारन नै हुन्छ । भारतवर्षका फाँटहरुमा फस्टाएको हिन्दु धर्मको शाखाले मान्ने गरेजस्तै नेपालका पहाडि जातीहरु अपवित्र, पिछडिएको र पिडित हुनुपर्ने तर हाल जस्तो आफ्नो अभिव्क्ति र अस्तित्व बलियो बनाएर बस्न नहुने धारणा यदि विस्तार गर्न खोजिएको हो भने हामीले भन्नैपर्ने हुन्छ, त्यस्तो प्रवृत्ति दु:खद मात्रै होइन निन्दनीय हो । यस्तै प्रवृत्तिको कारण पहाडि समुदायहरुलाई पनि हाल उनीहरुको अस्तित्व, पहिचान र सम्पूर्ण इतिहासलाई नै समाप्त पार्न नियोजित कार्य भइरहेको आशंका बढेको छ । यस्तो किसिमको कार्यले समस्या समाधान गर्नभन्दा चर्काउन र आपसी घृणा बढाउन मात्रै सहयोग गरिरहेको छ ।

नेपालका खस र किँरात शाषकहरुले तिब्बत देखि बनारस र पुर्वोत्त भारतसम्मका भुभागहरुमा शाषण गर्थे । तर अन्य समुदायको जस्तै हिन्दुकरण तथा अन्य कारणहरुले गर्दा यि पहाडि समुदायहरुको पहिचान पनि लुकेको र संकटमा परेको स्थिति छ । यसलाई यि समुदाय र यिनका सभ्यता माथि हमला गर्ने बहाना नबनाऔँ । यि समुदायहरुले प्रगती गर्नै नहुने र सधैँ बहिष्करणमा परेर हेय भावमा रहनुपर्ने भन्ने आग्रह हो भने त्यो निकै खतरनाक हुनेछ ।

त्यस्तै मिथिला र तराई-मधेसका अन्य सभ्यताहरु पनि निकै प्राचिन र सम्पन्न छन् । नेपाल देश विकास र निर्माणमा उनीहरुको योगदान उच्च रहेको छ । तर उनीहरुलाई हाल गरिने अपमानको स्थितिको अब अन्त्य गर्नु जरुरी छ । त्यसो गर्न सकेमा यो देशको अझ विकास गर्न र सबै समुदायहरुलाई अभिव्यक्तिको माध्यम प्रदान गर्न हाम्रो यो सुन्दर देश सफल हुनेछ र फाइदा सबैलाई हुनेछ ।

 

One of the earliest discovered records of Nepali language from a thousand years ago. The stone inscription, found in Dullu (Dailekh).
One of the earliest discovered records of Nepali language from a thousand years ago. The stone inscription, found in Dullu (Dailekh).

अन्त्यमा

समस्या समाधानमा अनेक तरिका हुनसक्छन् । स्कूलहरुमा नेपालका धेरै समुदायहरुको बारेमा अझै जानकारी प्रदान गर्ने, एक-अर्काका गुनासा र समस्याहरु सुन्ने, सामुहिक गल्तिहरु नदोहोर्याउने वाचा गर्ने, नेपाल र नेपाली सभ्यताहरुको विविधता, सम्पन्नता र महानता मनन गरेर तिनलाई अझै बृहद र सम्पन्न बनाउन लाग्नुपर्ने आवश्यकता छ । साथै घृणा र जातीय द्वेश फेलाउन उद्धत रहने अतिवादी कदमहरुको मिलेर प्रतिवाद गर्नु जरुरी छ । त्यस्ता अभिष्टहरुले बल्ल बल्ल स्वाभाविक गतिमा चल्न थालेको र आफ्नो अस्तित्व-रक्षाबाट आन्तरीक समस्याहरुमा ध्यान दिन बल्ल शुरु गरेको हाम्रो देशको समय र श्रोत फेरी बर्बाद गर्ने निश्चित छ । नयाँ वर्षको अवसरमा हामीहरु एक-आपससँग अझै वार्ता र समझदारी बढाउँदै जाऔँ र नेपालको वास्वविक गरीमालाई प्रष्फुटन हुने वातावरण बनाउन सजग र सुझबुझ अपनाएर अघि बढौँ ।

 

सबैलाई शुभकामना !

 


यो लेख सेतोपाटीमा पनि प्रकाशित भएको थियो ।


Advertisements

One thought on “नेपाली भाषा दक्षिण एशियाकै पुरानो मध्ये एक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s