हाम्रा लेख्ने मान्छेहरु


मेरो नजरबाट हेर्दा नेपालमा धेरै मानिसलाई “लेख्ने मान्छे” बन्ने भित्री लालसा रहेको देख्छु। पत्रिकामा लेख्ने, र आफ्नो नाम छपाउने। प्राय चिनेका मान्छेले आलोचला गर्ने चलन छैन, छुच्चो र इर्ष्या गरेको जस्तो देखिन्छ भनेर। वाहवाही पाइन्छ, क्या लेखिस्, विद्वान भइस भनेको सुन्न पाइन्छ। केहि आलोचना गरिहाले पनि स्तरीय आलोचना कमै हुन्छ, त्यसैले “मेरो रीस गरेर त्यस्तो भनेको” भन्ने मौका बाकिँ रहिरहन्छ। पत्रिकामा नाम देखिन थालेपछि ठुलै बुद्धजीवि, विचारक वा चिन्तक भएजस्तो लाग्छ होला। हुन पनि किन नहोस्, त्यस्तै भन्दै-देख्दै हुर्किएकै हुन्छौँ हामी।

सानैदेखि गाउँघरमा देख्न पाइन्छ, केहि नगरे पनि एस-एल-एसी गरेको मान्छे छ भने उसको फुर्ती अर्कै हुन्छ। अझै धेरै पढेको छ भने उसँग असहमत हुनु अलि डर मान्नैपर्छ। “ठूलो मान्छेसँग मुख-मुखै लाग्छस्” भनेर अरुले उपयुक्त आचरण पनि सिकाइहाल्छन्। पढ्ने-लेख्ने मान्छेले अरुलाई अलिअलि हप्किदप्कि गर्न छुट पाएकै हुन्छ, बच्चालाई कुन स्कूल पढाउने देखि लिएर घर कस्तो बनाउनेसम्म सबै सल्लाह लिन मान्छे उसकैमा जान्छन्। सबैले नमस्कार टक्र्याउँछन्, सर, हजुर भनेर सम्मान गर्छन्। एस-एलए-सी पास गर्न नसक्ने तर सिकर्मी-डकर्मी वा अन्य कुनै कला र सीप जानेको मान्छे छ भने उसलाई कसैले गन्दैन। कालान्तरमा त्यस्तो मान्छेले कि गाउँ छोडेर अन्तै जानुपर्छ, वा दुर्व्यसनीमा लाग्ने वा टोलको गुण्डा बन्नुपर्छ। पढेको मान्छेको यत्रो फुर्ती हुन्छ भने लेख्ने मान्छे भनेको त झन् लेख्ने मान्छे पो त। अझ काठमान्डुका ठूल-ठूला पत्रिकाहरुमा नाम लेखाउन पाए त कत्रो शान, देशकै बुद्धिजीवि।

लेख्ने मान्छे बन्न मन लाग्ने कारणहरु सोच्छु। अहिल्यै एकाएक आएको चलन त हैन हो। पहिले पनि वेद जानेको, शास्त्रहरु पढेको मान्छे मात्रै ठूलो भन्ने संस्कार विकसित भयो। भलै शास्त्रहरुले अन्य काम गर्ने मानिसहरुलाई पनि सम्मान गर्न सिकाएका किन नहुन्। विश्वकर्मा हाम्रो क्षेत्रका सीपालु व्यक्ति थिए, कसैले उनलाई प्रथम इन्जिनियर पनि भन्छन्। उनलाई भगवान मान्ने र स्वर्गको डिजाइनर मान्ने शास्त्र पढ्नेहरु आफैँ भने शीपभन्दा अक्षर सँधै ठूलो हुन्छ भन्ने मान्यताका प्रचारक बन्न पुगे। त्यसछि यो क्षेत्रमा बेलायतीहरु आए, तीनले आफुलाई लेख्ने कार्यहरु, हाकिमी पदहरु आदिमा राखे र स्थानियहरुलाई हेपिएको महशुस हुने काम र पदहरुमा राख्न थाले। गोरो छाला, राम्रो अङ्ग्रेजी, राम्रो लेखन र हाकिमी पदको आकर्षन ह्वात्तै बढाइदिए। हिन्दु धर्म-संस्कृतीलाई सबै विकृतीको दोष दिनेहरुले भन्नेगरेको अझ परिष्कृत धर्म-संस्कृतीले बोकाएको यो भारी बारे पनि कहिलेकाहिँ बोलिदिए हुने हो।

आजकल सामाजिक संजालमा “यो फिल्म हेरेँ” भन्नुभन्दा “यो पुस्तक किनेँ” भनेर पुस्तकको तस्विर राख्नु बढि फेसनेबल भएको छ। पढ्न जान्नु र पढ्ने अवसर पाउनु दुर्लभ रहेन, त्यसकारण यसको महत्व पनि पहिलेजस्तो रहेन। पढ्ने मान्छेहरु धेरै हुनु राम्रै कुरा हो। तर पढेको कुरा कति र कसरी बुझिन्छन् भन्ने कुराले महत्व राख्ने रहेछन् भन्ने पण्डितहरुको शास्त्रहरुको अल्पबुझाई र गलत व्याख्याले गरेको हानीले प्रष्ट पारेकै छन्।

पढ्ने शीपको सर्वसुलभता बढ्दै गएपनि लेख्ने शीप, र राम्रो लेख्ने शीप अझै केहि समय दुर्लभ रहन्छ होला। लेख्ने मान्छे बन्ने लालसा यति धेरै हुनुको एक कारण यो हुनसक्छ।

एकैछिन लेख्ने मानिसहरुलाई परिभाषित गरौँ। यहाँ “लेख्ने मान्छे” को अर्थ पत्रिकाहरुमा स्तम्भ-समाचार लेख्ने, समाचारमा नाम आउने वा कुनै विषयमा जसको विचार वा राय मागिन्छ, तिनलाई भन्न खोजिएको हो। नभए लेखनका अन्य धेरै रुपहरु छन्, जस्तै अनुसन्धनात्मक र वैज्ञानिक लेखहरु छापिने जर्नल। तर तिनको बारे र तिनका लेखकहरु बारे हामी त्यति कुरा गर्दैनौँ। तिनलाई खासै महत्व पनि दिँदैनौँ। काठामान्डुमै प्रत्येक वर्ष केहि वैज्ञानिक सम्मेलनहरु भइरहेका हुन्छन्, नेपालभित्रैबाट पनि केहि राम्रा अनुसन्धनात्मक कार्यहरु र जर्नलहरु प्रकाशित भइरहेका हुन्छन्। तर त्यसमा लेख्ने विषय-विज्ञहरुलाई पनि गुमनामीले पिरोलेको हुन्छ। हुन त हाम्रो पत्रकारीता त्यहाँ पुग्दै होला, विस्तारै त्यसस्ता लेखहरु पढ्ने, बुझ्ने र तिनको बारे पत्रिकामा लेख्ने क्रम बढ्दै जाला। तर हालको लागि कुनै विषय-विज्ञले आफ्नो विषयको बारे वहस पनि पत्रिकामै लेखेर मात्रै गर्नुपर्ने वाध्यता कायमै देख्छु।

यसप्रकार लेख्ने मान्छे नबनेसम्म नदेखिने र नसुनिने भएका कारण पनि लेख्ने मान्छे बन्ने लोभ यति रहेको होला। ठूलो मान्छे बन, सबैले चिन्ने मान्छे बन, सबैको नाम राख भनेर सानैदेखि पाइने आशिर्वादको “ठूलो मान्छे” यहि “लेख्ने मान्छे” हो कि जस्तो लाग्छ मलाई कहिलेकाहिँ। नभए डाक्टर नै बनेपनि लेख्ने डाक्टर वा पाइलट नै बनेपनि लेख्ने पाइलट हामीलाई बढि सफल, ठूलो र राम्रो किन लाग्थ्यो होला र? अरुले गरेका अरु धेरै कामहरु वा अन्यत्र लेखेका लेखहरुको बारेमा भन्दा तीनले “लेख्ने मान्छे” बनेर गरेका कामहरुले उनीहरुलाई परीभाषित गरीरहेका किन हुन्थे र?

लेख्ने मानिसको यो आकर्षणले गर्दा उनीहरुले ठूलो छुट पाएको त छदैँछ, विस्तारै विस्तारै समाज नै बदलिरहेको पनि छ। सबै लेख्ने मानिस बन्ने हो भने अन्य उत्पादनका काम कसले गर्ने? शीप हुनेहरु वा सिक्न चाहनेहरु धेरै विदेशीनुपर्ने स्थिती त्यसै आएको होइन होला। लेख्ने मानिसहरु समाजमा यो भएन, त्यो भएन भनेर वर्षौँदेखि लेखनलाई नै पेशा बनाएर बसिरहेका छन्। उनीहरुमध्ये कतीले चाहेजस्ता परिवर्तन पनि देशमा भएका छन्, तैपनि उनीहरु लेखन पेशा मै छन्, हर दिन, हर हप्ता समाजलाई सिकाइरहेका हुन्छन्। तर समाजमा यति महत्व पाएको स्थानमा बसेर उनीहरुले गरिरकेको कार्य र तीनको परीणामको बारे कहिल्यै जिम्मेवारी लिएको देखिँदैन।

लेख्ने मान्छेको यो आकर्षणकै माझ आजकल सुनिन्छ धेरै लेख्ने मान्छेहरु निकै शङ्कास्पद प्रकृतिका छन्। कोहि विदेशी जाशुसी संस्थाको निम्ति काम गर्छन् रे, कोहि संदिग्ध समूहहरुका उद्देश्यपूर्तीको निम्ति लेख्छन् रे र कोहि कुनै पार्टी र नेताहरुको स्वार्थसिद्ध गर्न लेख्छन् रे। तर हामीजस्ता पाठकहरुको निम्ति उनीहरु अझै पनि त्यहि ठूला लेख्ने मान्छेहरु हुन्। हामी तीजस्तै बन्न खोजिरहेका छौँ र थाहा नपाईँदै त्यस्तै बनिरहेका पनि छौँ।

राम्रोसँग लेख्ने मानिसहरुप्रति केहि सद्भाव र सम्मान जाग्नु अस्वाभाविक होइन होला। तर राम्रो लेखन र तर्ककै आधारमा कुनै कुरालाई अकाट्य सत्य मान्नु र हुबहु त्यसको अनुशरण गर्नु हाम्रो निम्ति उति लाभदायी नहोला। भाषा राम्रो हुनको पछाडि व्यक्ति पनि राम्रै र असल नै हुनुपर्छ भन्ने छैन। लेखन पनि एउटा शिप हो, राम्रो तालिम र अभ्यासद्वारा यसको विकास हुनसक्छ। त्यस्तै कुनै कुरा लेख्नुको मतलब लेखकले त्यस्तै आचरण गर्छ वा त्यस्तै मान्यता राख्छ भन्ने पनि हुँदैन। आँफुले नमान्ने आदर्शहरु पनि लेख्न सकिन्छ, र विशेष कसैको लुकेको प्रयोजनको निम्ति लेखेको लेख हो भने यस्तो गर्नु पर्ने नै हुन्छ। लेख्ने मानिसहरुले शब्द र तर्कका खेलहरु जानेका हुन्छन्। कति कुरा प्रष्ट रुपमा नलेख्ने, जस्तो अर्थ पनि निकाल्न मिल्ने र सधैँ राम्रो र लोकप्रिय कुरा गरेकोजस्तो मात्र देखिने तर कुनै स्पष्ट विचार प्रवाह नर्गने, आदि तरीकाहरु पनि लेखाईमा सामान्य नै हो। जटिल शब्दावल, घुमाउरो र भ्रमपूर्ण तर्कगराई, अनि नाम नसुनेका लेखक-दार्शनिकहरुका भनाईहरु मिसाएर लम्बेतान कुरा गर्ने लेखकहरु हामीलाई धेरै जानेको र विद्वानजस्तो लागेपनि राम्रोसँग तीनको अध्ययन गर्ने हो भने तिभित्रि लुकेका अभिष्टहरु थाहा पाउन सकिन्छ। विशेषगरी हाम्रो देशका लेख्ने मान्छेहरुको बारेमा जति धेरै थाहा हुँदै गयो, उती धेरै लेखन कार्यबाटै वितृष्णा जाग्ने भाव मलाई मात्रै होइन, अन्य धेरैलाई पनि रहेको मैले कुराकानीहरुको क्रममा पाएको छु।

त्यसकारण पाठकहरुले सबै राम्रो लेख्ने मान्छेलाई अनुसरण गर्न लायक व्यक्तिको रुपमा लिनु ठीक हुँदैन भन्ने यो “लेख्ने मान्छे” को विचार छ। पाठकहरुले कसैले भनेको-लेखेका कुरालाई जस्ताको त्यस्तै ग्रहण गर्नुको साटो प्रश्न गर्ने र आलोचनात्मक हिसावले विचारहरु ग्रहण गर्न जरुरी छ। लेखन र लेखकहरुको महत्व अवश्यै छ, तर लेखेर मात्रै कुनै समाज विकसित भएको उधाहरण छैन, र अन्य शीपहरुलाई पनि गम्भीरताका साथ लिनु जरुरी छ। खोक्रो विद्वत्ताको मात्रै पछाडि दौडिने समाज बनाउने कि अन्य अर्थपूर्ण योगदानहरुलाई पनि उचित स्थान दिने समाज बनाउने भन्ने कुरा पाठकहरुको रोजाई, निर्णय र चेतनामा पनि भर पर्दछ।


(यो लेख केहि महिना अघि सेतोपाटिमा प्रकाशित भएको थियो)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s