संविधान सभा निर्वाचन र नयाँ राजनीतिक सोचको अवसर


धेरै शाषकहरु चाहन्छन् सामान्य जनता राजनीतिप्रति चासो नराखुन् र अरु नै कुराहरुमा भुलिरहुन् । चासो राखेपनि “राजनीति फोहोर खेल हो” र “सबै उस्तै छन्” भन्दै जनता राजनीतिबाट टाढै र विभाजित भएरै बसुन् भन्ने तिनको इच्छा हुन्छ। विशेषगरी तानाशाही आकांक्षा भएका सत्ताहरु सकेसम्म मानिसलाई यसरी भुलाईराख्न चाहन्छन्। आफुलाई अप्ठेरो लाग्ने प्रश्नहरु नसोधिउन्, आफ्ना कृयाकलापहरुबारे निगरानी नहोस्, आफुले गरेका सबै जायज-नाजायज कामहरु सजिलोसँगै लागु गर्नु पाइयोस् र चुपचाप आफ्नो सत्ताको आयु बढाइरहन पाइयोस् भन्ने उनीहरुको चाहना हुन्छ। राजनीति र सरकारका काम कारवाहीका सुक्ष्म र विवेचनात्मक विश्लेषण हुन थाल्यो भने ती शाषकहरु बेचैन हुन्छन्।

‍आँखाको कसिङ्गर

केहि अघि संविधान सभा गृह बाहिर समयमै संविधान चाहियो, हाम्रो समय र श्रोत खेर फाल्न पाईँदैन भनेर सडकमा केहि हजार मानिसहरु आउँदा यो बेचैनी प्रष्टै देखिन्थ्यो। ती मान्छेहरु शान्तिपूर्ण र भलाद्मी तरीकाले सडकमा आएका थिए, तिनको विरोध शैली श्रृजनात्मक थियो। टायर जलाउने, रेलिङ्ग भाँच्ने, लाठी-मुङ्ग्राले तर्साउने बाहेकका शान्तिपूर्ण तरीकाहरु तिनले रोजेका थिए। करीब तिनै मानिसहरु बेला-बेलामा नेपाल बन्दको विरोधमा जोखिम उठाएर सडकमा आउँछन् र हाम्रो निम्ति बन्दरहीत वातावरण निर्माण गर्न दु:ख झेल्छन्। केहि समय अगाडी महिलामाथीको हिंसाको विरोधमा “सिंहदरबार ओगटौँ” (अकुपाई बालुवाटार) र राजनीतिमा हिंसाको विरोधमा अभियान चलाउनेहरुमा यि मध्ये केहि पनि थिए। सत्ताका समर्थक र सहभागीहरु यो देखेर नराम्ररी आत्तिएको र रिसाएको स्पष्ट देखियो। कसैले छापामा त कसैले अन्तैबाट यि मानिसहरुलाई सकेसम्म गाली, बदमान र हतोत्साहित गर्न प्रयास गरिरहे। अहिले तिनैमध्ये केहि मानिसहरु संविधान सभाको चुनावको निम्ति एउटा पार्टी बनाएर लड्दै छन्।

कसैको निम्ति राम्रो त यो हुन्थ्यो होला कि यी र यस्ता मानिसहरु युटुब भिडियो हेरेर बसिरहुन्, फेसबुक चलाएर खुशी भइरहुन्, ट्विटरमा हाँसो-ठट्टा गरीरहुन् तर राजनीतिमा चासो नदिउन्। धेरै हदमा यो भइरहेकै तथ्य हो। नेपालका अलि सम्पन्न परिवारका सदस्यहरु विरलै राजनीतिबारे सचेत जानकारी राख्छन्। शहरीयाहरु र विशेषगरी काठमाडौँका यस्ता मानिसहरु बरु छिटो-छिटो राम्रो विश्वविद्यालयमा पढ्न विदेश गइहाल्न र गएपछि उतैको जिन्दगी अङ्गालेर आफ्नो जीवनमा रमाउन चाहन्छन्। देशमै हुँदापनि संभव भएसम्म टिभी-फिल्ममा देखिनेजस्तै जीवन अनुशरण गर्न चाहन्छन् र नेपालको वास्तविकताबाट परै रहेर बस्न चाहन्छन्। वरीपरी समस्यै समस्या भएको समाजमा बसेर पनि केहि नभएजस्तो गरी जीवन गुजार्न पाउनु साँच्चै सौभाग्य हो। यो बेग्लै कुरा हो कि यस्तो समस्याग्रस्त देश बन्नुमा केहि जिम्मेवार उनीहरुकै वेवास्ता वा उनीहरुका परिवारहरुका हाल र विगतका गल्तिहरु पनि जिम्मेवार छन्। तैपनि यस्तै जीवन धेरैको चाहना हुन्छ। आखिर राम्रो, सुखद र सम्पन्न जीवनको आशा कसलाई हुँदैन र? वास्तवमा टिभि-फिल्ममा देखेको जस्तो गुलाबी जीवन विदेशमै पनि हुँदैन, तर तिर्खाएको मृगलाई मृगतृष्णा वास्तविक नै लाग्छ।

राजनीतिले तानेपछि

मध्यम वर्गीय परिवारका मानिसहरु अघि भनेजस्तै सम्पन्न वर्गीय जीवन त चाहन्छन्, र सिको पनि गर्छन्, तर चाहेरै पनि समस्या नभएको जस्तो गरी बस्न तिनीहरुको अवस्थाले संभव हुँदैन। आखिर लोडसेडिङ्गको मार छ, युट्युबमा फिल्म हेर्न चाहिने इन्टरनेट महङ्गो र सुस्त छ, काठमाडौँको कोठा भाडा चर्को छ, र यी सबै समस्याहरु बिच विदेशै गएर गुलाबी जीवन जिउन पनि प्रतिस्पर्धाको माझ सजिलो छैन र सबैलाई अवसर मिल्दैन। गर्ने के? अलि टाठाबाठाहरु सकेसम्म कुनै सम्बन्ध जोडिनसक्ने पहुँचवालाको नजिक परेर केहि पद वा अवसर पाइहालिन्छ कि भनेर प्रयास गर्छन्। त्यति गर्न नसक्नेहरुको निम्ति बिहान २ वटा क्याम्पस पढाउनु, दिउसो जागीर गर्नु र राती र बिदाका दिन फेरी कुनै अतिरिक्त आय जुटाउने काम गर्नु वाध्यता हो। कम्तीमा कुनै रोग वा प्रकोप आइपरेर फेरी निम्न वर्गमा झर्नु नपरोस् भन्ने यि चाहन्छन्। र बढीमा कि विदेशी निकायमा जागीर पाएर, कि डिभी परेर, वा त्यो पनि नभए सन्तानले राम्रो पढेर गुलाबी जीवन पाइयोस् भन्ने भविष्यको आशले यी बाँच्छन्।

निम्न वर्गीय परिवारमा समस्याको चाँग नै छ, चाहेरै पनि अर्को समस्यारहीत वास्तविकता निर्माण गर्न उनिहरु सक्षम छैनन्। कि देशमै दु:ख गरेर बस्नुपर्यो, केहि सम्पर्क भए कुनै नेताले केहि गरिदेला भन्ने आश गर्यो, नभए शहरमा, भारतमा वा अरु नै देशमा मजदुरी गर्न जानुपर्यो। “भाग्य” बाहेक अरु भरपर्न सक्ने केहि छैन। माथि भनेका कुराहरु गर्न नसक्ने मध्यम वर्गीय र सबै निम्नवर्गीहहरुका अन्य दु:खको वर्णनको निम्ति यो स्थान पर्याप्त छैन। यि विषयमा कतिपय कुराहरु अन्यत्रै पनि लेखिएका छन्।

यिनीहरु धेरैले केहि होला भन्ने आशमा थुप्रै फेसबुक पेजहरु लाइक गरे होलान्, धेरै ई-पेटिसनमा हस्ताक्षर गरे होलान्, अनेकौँ ब्लग र ट्विट गरे होलान्। पाउँदा मतदान गरे होलान्, केहिले हतियार उठाए होलान्, युवा संघ-संस्थाहरु मा लागे होलान्, अलिअलि राजनीति पनि गरे होलान्, टिभी-रेडियोमा बोल्न गए होलान् र पत्रिकामा लेखेर केहि हुन्छ कि भनेर प्रयास पनि गरे होलान्। तर स्थिति यस्तो भइसक्यो कि विदेशबाट पैसा पठाएर देशका परीवारलाई सहयोग गरौँ भन्दा पनि देशको महङ्गीले र गिर्दो अर्थतन्त्रले गर्दा कुन बेला विदेशमा र नेपालमा सामानको मूल्य एकै हुने हो भन्ने डर भैसक्यो। एक अमेरीकी डलरको क्रयशक्ति नेपालमा ९० हुँदासम्म वा एक मलेशियन रिङ्गिटको ३० हुँदासम्म त विदेश जाउँ र समस्या नरहेको स्वाङ्ग पारौँ भन्न हुन्थ्यो। जब मलेशियामा र नेपालमा कोकाकोलाको मूल्य करीब एकै हुन आउँछ, तब नेपालको वास्तविकताबाट भागेर जान सकिने ठाउँ विदेशमा पनि कमै रहनेछन्। त्यसबेला के गर्ने? एउटा भनाई छ: तिमी राजनीतिमा पस्न चाहदैनौँ होला, तर राजनीतिले तिमीलाई तानेरै छाड्छ।

सत्ताधारीहरुको गुम्दो वैधानिकता

तर हालको सत्ता र यसका मतियारहरु चाहन्छन् कि हामी सबै युट्युब हेरेर र फेसबुकमा लाइक गरेरै बसिरहौँ। हामीले सबैजना खराब र भ्रष्ट छन्, जे गरे पनि, जो आएपनि केहि फरक हुँदैन र अरु राम्रो विकल्प नै के छ र भनेर बसुन्जेल उनीहरु खुशि हुन्छन्। आफुलाई निम्न वर्गको प्रतिनिधि भनेर यिनले आफ्नो सत्ताको वैधानिकता पुष्टि गर्न खोज्छन् र त्यसकै आधारमा मध्यम वर्गीयहरु चुपचाप बस्नुपर्ने तर्क गर्छन्। जनआन्दोलनले स्थापना गरेको सत्ता भएको हुँदा कसैले आफ्नो वैधानिकतामा प्रश्न उठाउन नपाउने तर्क उनीहरु गर्छन्, तर जनआन्दोलनले माग गरेका विषयहरुबाट पुरै अलग र विपरीत आफ्ना निहित स्वार्थहरुमा मात्र केन्द्रित हुँदा र जनजीवन झन् कष्टकर बन्दै जाँदा पनि सबैले बेरोकटोक छोडिदिनुपर्ने आशा गर्छन्। के आज निम्न वर्गको समस्या कम हुँदै गएको छ कि बढ्दै गएको छ? नेपालबाट मानिसहरु श्रमको निम्ति भारत बाहेकका मुलुकहरुमा यो रुपमा जान थालेका ५० को दशक पछि नै हो। त्यो भन्दा अघि स्थिति औधी राम्रो पक्कै थिएन, तर सुधारोन्मुख हुनु र अधोगतीउन्मुख हुनुमा फरक छ। अहिलेको स्थितीलाई केहि कागजी उपलब्धि र केहि सामाजिक उपलब्धि बाहेक अरु कुनै पनि मापदण्डमा सुधारोन्मुख भन्न सकिने स्थिती छैन। उसैपनि जेनतेन गरेर नेपालमा मध्यमवर्गको संख्या जनसंख्याको एक-तिहाई पुग्न लागेको छ र कृषिमा आश्रित जनसंख्याको हिस्सा पनि घटिरहेको छ। यस्तोमा कहिलेसम्म सबैलाई चुप लगाउन सकिन्छ होला?

राजनीति थाहा नभएका, शहरीया, कच्चा वा जे भनेर होच्याए पनि तिनलाई भुलाएर राख्न र विदेश जान दिएर चुप बनाउन समेत अहिलेको सत्ता संरचना विफल भइसकेको छ। अरु केहि गर्न नसके पनि कम्तिमा मनोरञ्जन प्रदान गरेर जनतालाई भुलाइराख्न पनि नसक्ने यस्तो सत्ताको वैधानिकता बारे अब बहस गरिरहनु पनि जरुरी छैन। त्यस्तै १६ देखि ६० वर्ष बिचको उमेर समूहको संख्या अत्यधिक छ र औसत आयु बढिरहेको तथा जन्मदर घटिरहेको छ। यिनलाई सुहाँउदो आर्थिक, सामाजिक र राजनीतिक संरचना देशमा नबन्ने हो भने यो समूह बुढो भएपछि देशमा कुन भयाभह स्थिति आउने हो? देशमा कमाउन सक्नेहरुले विदेश गएर केहि पठाउन सकुन्जेल त बाटोघाटो र अस्पताल राम्रो नभए पनि चलिरहला, तर त्यो जनसंख्या बुढो भएर अरुमा आश्रित रहने दिन आएपछि त्यतिबेलाको युवापुस्ताले के गर्ने होलान्, कुनै धारणा र योजना कतै सुन्न पाइएको छैन। यो दिन धेरै टाढा छैन, हाम्रै पुस्ताको जीवनकालमा देख्न पाइनेछ।

छटपटीबाट उर्जा

यस्तै सोच र प्रश्नहरुले घोचेर, दुखेर र छटपटी भएर माथी भनेको समुहका केहि मानिसहरु राजनीतिमा आफैँले हस्तक्षेप गर्न भनेर काठमाडौँका केहि क्षेत्रहरुबाट यो पटकको चुनावमा उमेद्वारी दिएका छन्। पार्टीको नाम हो “विवेकशील नेपाली” र उमेद्वारहरु काठमाडौँ क्षेत्र १, ४, ५, र ८ बाट “कुकुर” चुनाव चिन्ह सहित स्वतन्त्र उमेद्वारका रुपमा प्रतिस्पर्धामा उत्रेका छन्। उनीहरुका केहि राजनीतिक अडान वा अराजनीतिक चरित्रसँग म पनि सहमत छैन, तर म उनीहरुले यो जोखिम र कदम उठाएकोमा उनीहरुको समर्थन गर्न चाहन्छु। सत्ताका सहभागीहरुले फेरी पनि यिनलाई हलुका टिप्पणी गरेर होच्याउने र दुरुत्साहित गर्ने संभावना छ। तर धेरै घोचिएर काँडा उखेल्न र निदान खोज्न आफैँ तम्सिएकाहरुलाई त्यसले झन् उर्जा दिनेछ। घरमै चुप लागेर युट्युब हेरेर बस वा विदेश गएर त्यहिँ फेसबुकमा रमाइलो गर अनि हामीलाई युट्युब हेर्न र सत्ता चलाउन पैसा पठाऊ भन्नुमै सत्ताका सहभागीहरुको जीविका निर्भर रहेको छ। त्यसकारण तिनका हलुका टिप्पणी र होच्याईहरुलाई अन्यथा लिनु आवश्यक पनि छैन।

यो चुनावमा हार-जीत जे भएपनि आत्तिनुपर्ने छैन। यि उमेद्वारहरुले सिकेका अनुभवहरुले भविष्यमा एउटा सशक्त राजनीतिक शक्ति निर्माण गर्न सहयोग पुर्याउन सक्छ। हाल अराजनीतिक देखिन चाहने उनीहरुको मोह पनि यो अबुभव पछि भङ्ग होस् भन्ने म आशा गर्दछु। यस राजनीतिक अनुभवले उनीहरुलाई झन् निखार्ने छ र आफ्ना कमजोरीहरु सुधार्न मद्दत पुर्याउने छ। जित हासिल भएमा सानो संख्याको कारणले संविधान सभामा धेरै भुमिका खेल्न नसक्दा आउन सक्ने आलोचना र “केहि गर्न सकेनन्” भन्ने आरोपको निम्ति तयार हुनुपर्नेछ। हार हासिल भएमा सत्ताका सहभागीहरुले आफ्नो जीत भएको जिकिर गर्ने र जनसमुदायमा पनि आशा घट्ने संभावना छ। तर आफ्नो र आफ्ना पुस्ता र सारा नेपालीहरुको उद्देश्यको निम्ति गरीने यात्रालाई त्यतिसम्म मात्र देख्नु गल्ति हुनेछ।

“विवेकशील” मित्रहरुलाई मेरो सुझाव छ कि यो चुनावलाई एउटा सिक्ने अवसरको रुपमा लिनुहोस् र भविष्यका झन् अप्ठेरा संघर्षहरुको निम्ति तयार रहनुहोस्। अन्य जनसमुदायसँग मेरो अपील: कि अहिलेका राजनीतिक शक्तिहरुलाई सुधार्न प्रयास गर्नुहोस्, नभए भविष्यको राजनीतिक शक्ति निर्माण गर्न सहयोग गर्नुहोस्। यो नयाँ राजनीतिक शक्तिका सदस्यहरुलाई आर्थिक देखि नैतिक समर्थन, सहयोग र आलोचनाको पनि खाँचो छ। यीनिहरु मनपरेनन् भने पनि मेरो एउटा सुझाव छ। दुई रोजाई मध्ये एक हामीले छान्नुपर्नेछ: १) हामीलाई केहि थाहा नभएका र केहि गर्न नसक्ने युट्युबे मूर्खहरु बनाइरहन चाहनेहरुलाई देश सुम्पिने, २) राजनीतिक रुपमा सचेत भएर सम्पन्न, मध्यम र निम्न वर्गीय लगायत सबै जातजाती, समुदाय, भुगोल र आस्थाका मानिसहरुको निम्ति बस्नयोग्य र सुखी नेपाल बनाउने कार्यमा आवश्यक कदम र राजनीति गर्ने। कुन रोज्ने हो भनेर सोच्न शुरु गर्नुहोला। अरु कसैले आएर नेपाल बनाईँदिदैँन। हालका सत्ताधारीहरुले यो आवाज बुझेर नेपाल बनाएछन् भने राम्रै हो किनकी त्यसो भएमा हामीले आफ्ना श्रोतहरु अन्यत्रै खर्च गर्न पाउँछौँ। नभए ढिलो हुनु अगावै सोचौँ र गरौँ।


(यो लेख आज केहि फरक रुपमा सेतोपाटिमा प्रकाशित भएको छ)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s