गरीबीको नाममा राजनीति कहिलेसम्म?


अहिले भन्दा पहिले हाम्रो देशमा गरीबी ज्यादै भयावह थियो। सन् १९५० ताका साक्षरता २% को हाराहारीमा थियो रे। अहिलेको स्थिति निकै राम्रो त छैन, तर पहिले भन्दा धेरै सुधार भएको छ। प्रत्येक गाउँमा कम्तिमा एकपटक विदेश गएका मान्छेहरु होलान्। आज धेरै नेपालीहरुले हवाइजहाज र रेल चढेका छन्, जमीन मुनी हिँड्ने रेलहरु पनि चढेका होलान्, गगनचुम्बि घरहरु देखेका छन्, इन्टरनेट इमेलको बारेमा थाहा पाएका छन्, मोबाइल फोन चलाएका छन्, आफ्नो देशका ठुलाबढाहरुलाई टिभि रेडियोमा पहिलेभन्दा धेरै देखेका छन्। बाल र मातृ मृत्यु दर घटेको छ, औसत आयु बढेको छ। शिक्षीत जनसंख्या पनि बढेको छ। आफ्नै वरिपरिमा मान्छेहरुलाई हेर्नुस्- पहिलेभन्दा धेरै मान्छेहरु स्कूल, क्याम्पस गएका छन्, कतिले त देश-विदेशको शिक्षा र रोजगारी पनि देखेका छन्।

तुलनामा मलाई हाम्रो देश हाँक्ने राजनीतिज्ञहरु अलि पिछडिएका, असभ्य र दरीद्र छन् कि जस्तो लाग्छ। विदेश जाँदा उताका पदाधिकारीहरुको अगाडि शायद लाजैमर्दो स्थिति श्रृजना हुन्छ होला उनीहरुको व्यवहारले।

नेपालमा अधिकांश राजनीतिज्ञहरु गरीबको नाममा राजनीति गरिरहेका छन्। यो नेपाली जनताहरुको अपमान हो। कहिलेसम्म गरीबीको राजनीति गर्ने हो? विश्वमा धेरै देशहरुबाट ठूलो संख्यामा मानिसहरु गरीबीको रेखा मुनीबाट मध्यम वर्गमा पुगिरहेका छन्। जस्तै: भारत, चीन, बङ्गलादेश, ब्राजिल, अफ्रिका। नेपालको पनि स्वाभाविक गति यहि नै हो। विश्वमा चलिरहेको धारबाट यसरी नेपाल मात्र कहिलेसम्म अप्राभावि रहिरहन सक्छ? माथि भनेजस्तै केहि हदसम्म नेपालमा प्रभाव परेकै हुँदा थोरै भएपनि मानिसहरुले अवसर पाएका हुन् र गरीबी कम भएको हो। नेपालमा भन्दा अझै भयानक समस्याहरु भएका अफ्रिकी देशहरु पनि अहिले यो धारको फाइदा लिइरहेका छन्। पहिले हामीले पिछडिएको भन्ने गरेको बिहारले पनि विस्तारै काँचुली फेर्न थालेको छ अरे। हामीले हेप्न पाइरहेका अफ्रिकाका धेरै देशमा अहिले मानिसहरु त्यो भन्दा तीब्र दरमा गरीबबाट मध्यम वर्गमा उक्लिरहेका छन्। त्यसकारण नेपालको विशिष्ट स्थिति र समस्याहरुको कारणले (वा नेपालको संविधान नराम्रो भएकाले) गरीबी कम नभएको भन्ने तर्कमा त्यति दम देख्दिन।

नेपालमा करीब एक-तिहाई जनसंख्यालाई अहिले मध्यमवर्गीय भएको तथ्याङ्कहरुले देखाएका छन्। तर पनि देश चलाउने योजनाहरु आफुसँग भएको दावि गर्ने मानिस र पार्टीहरुले आफ्नो पुरानो नारा र योजनामा खासै परिवर्तन गरेका छैनन्। नेपालीहरु अघि बढिरहेका छन् र अघि बढ्न चाहिरहेका छन्, उनीहरुलाई नेतृत्व गर्नेहरुले रोकिरहेका छन्। नेपालमा सुकिला-मुकिला र मैला-धैलाहरु बिचको कृतिम विभाजन हानीकारक छ। पहिले मैला-धैलाहरु अत्यधिक बहुमतमा हुँदा लौ ठिकै थियो भन्न सकिन्छ। नेपालीहरुले आफ्नै बलबुताले भ्याएसम्म गरेर आफुलाई सुकिला-मुकिला बनाउने प्रयत्न गरिरहेको र केहि सफलता पाइरहेको समयमा यस्तो किन गर्नुपर्यो? नेपालीहरुले युद्ध चलिरहेको समयमै यति उपलब्धि हासिल गरेका हुन्। कतिपय विषयहरुमा हामीले भारतले भन्दा राम्रो गरेका छौँ, भारतका धेरै पिछडिएका राज्यहरुभन्दा त हामीले अझै धेरै बढि सफलता पाएका छौँ।

यस्तै रहिरहने हो भने केहि दशकमा नेपालमा सुकिला-मुकिलाहरु को संख्या अझै बढ्ने छ, बहुमतमा पुग्नेछ। नेपालीहरु सँधै यस्तै दु:खमा बाँच्न चाहन्नन्, उनीहरुका शाषकहरुले त्यस्तै चाहेपनि। विश्वमा पनि यो धार चलिरहेको छ, नेपालमा पनि चलेकै हो। नेताहरु र सरकारले निकै कम सहयोग गरेपनि नेपालीहरु आफैँले आफुलाई सुकिला मुकिला बनाउने प्रयासमा मरिमेटेर लागि रहेछन्।

यस्तो अवस्थामा पनि उहि पुरानै गरीबीको नारा कति सान्दर्भिक छ? केवल गरीबहरुको मात्र प्रतिनिधित्व गर्छु भन्नेहरुले त्यस्तो तरिका भविष्यमा कति प्रभावशाली हुन्छ, विचार पुर्याइराखे राम्रो हुन्छ कि? के यस्तो संकुचीत किसिमको गरीबी केन्द्रित मानसिकता, भोट राजनीति र विभाजनकारी खेलहरुले साँच्चै हाम्रो हित गरिरहेको छ? कि अब अलि फराकिलो, सम्पन्नता उन्मुख र आधुनिक विचार र राजनीतिको बेला आएको हो? नेपाली जनताहरुलाई सधैँ गरीब, पछौटे र मैला-धैला भनेर अपमान गरिरहने कि उनीहरुको सम्पन्न र सभ्य हुने आकांक्षाको सम्मान गर्ने? के हामी आफूभन्दा पछौटे र मानसिक रुपमा दरीद्रहरुको यस किसिमको अपमान सहिराख्ने कि फरक किसीमको सोचाईको विकास गर्न अग्रसर हुने? मान्छेहरुलाई गरीब हुन दिनु हुँदैन र सम्पन्नता हाम्रो समाजको उद्देश्य हुनुपर्छ। तर गरीबी नभए आफ्नो राजनीति गर्ने आधार नै नहुने हुँदा त्यस्ताहरु बाटै कतै गरीबी नियन्त्रणमा उल्टो प्रभाव त परेको छैन?


यो लेख सेतोपाटीमा प्रकाशित भएको थियो ।


Advertisements

गरीब देश कि गरीब जनताहरुको देश?


भुतपूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले twitter मा लेख्नुभएछ: “नेपालका पहिलो डलर अरबपति विनोद चौधरीको आत्मकथा रोचक छ। तर अब गरीब देशको धनी मान्छेको सट्टा धनी देेशको धनी मान्छे बन्न कोशिश गर्ने हो कि?” केहि मित्रहरुले कुरा गरेको हुँदा मैले पनि देख्न पाएँ।

नेपालका पहिलो डलर अरबपति विनोद चौधरीको आत्मकथा रोचक छ। तर अब गरीब देशको धनी मान्छेको सट्टा धनी देेशको धनी मान्छे बन्न कोशिश गर्ने हो कि?

— Baburam Bhattarai (@brb_laaldhwoj) June 22, 2013

डा बाबुराम भट्टराईले भन्न खोज्नुभएको कुरा के होला त? उहाँको tweet को आशय हेर्दा पहिलो महत्वको कुरा देश धनी हुनु हो जस्तो लाग्छ। पहिले देश धनी बन्नुपर्छ, अनि देश धनी बनिसकेपछि त्यस देशको धनी मान्छे हुनु राम्रो हो भनेजस्तो लाग्यो।

कुनै देश गरीब हुने आफ्ना जनताहरु गरीब भएर नै होइन र? धनी जनताहरु भएर पनि गरीब भएको देश कुन होला? नेपाल गरीब भएको हामी अधिकंश जनताहरु गरीब भएरै हो। हामीहरु धनी हुने हो भने देश पनि धनी बन्छ। जनताहरु गरीब नै रहिरहेर कुनै देश धनी बनेको पनि मलाई थाहा छैन। देश आफैँ धनी हुने त्यस्तो तरीका के होला त? कसैलाई थाहा छ?

काठमान्डुमा भारतीय शैक्षिक मेला र नेपालको गिर्दो स्थिती


केहि महिना अघि काठमान्डु घुम्दा मैले एउटा नयाँ कुरा देखेँ। पहिले पुतलीसडकजस्ता केहि स्थानहरुमा विदेश पढ्न पठाउने कन्सल्ट्यान्सिहरुका विज्ञापनहरु जताततै देखिन्थे। ती विज्ञापनहरु प्राय अमेरीका, अस्ट्रेलिया, क्यानाडा, बेलायत र अन्य युरोपेली देशमा पढ्न जानेबारे हुन्थे। यसपटक देखेको कुराले मलाई केहि आश्चर्यचकित र केहि दु:खि बनायो। माइतीघर, पुरानो बसपार्क नजिकको सडक र अन्य मुख्य सडकहरुमा आँखैमा पर्ने गरी भारतका विभिन्न कलेज र विश्वविद्यालयमा पढ्नेबारे मैले पहिलेभन्दा धेरै विज्ञापनहरु देखेँ।

भारतमा केहि राम्रा र विश्वस्तरीय शिक्षण संस्थाहरु छन्। प्राय तिनीहरु सबै सरकारी शिक्षण संस्थाहरु हुन् र थोरै राम्रा निजी हुन्, जो निकै महङ्गा छन्। विश्वस्तरीय कलेजमा पढ्न पाए राम्रो कुरा हो। नपाएपनि उदयिमान देश भएको हुँदा भारतका कतिपय शहरहरुमा केहि वर्ष समय विताउने अवशर पनि उपयोगी हुनसक्छन्।

केहि वर्षअघिसम्म भारतीय सरकारले नेपाली विद्यार्थीहरुलाई दिने छात्रवृत्ति कार्यक्रममा राम्रो दर्जाका कलेजहरु पर्ने गर्दथे। आजकल त्यो स्थिति पनि नरहेको र छात्रवृत्ति कार्यक्रममा तेश्रो-चौथो तहका कलेजहरुमा मात्र नेपालीहरु पढ्न जाने कुरा मैले थाहा पाएँ। यसका कारण धेरै हुनसक्छन्। भारतका प्रथम-द्वितीय तहका कलेजहरुको स्तर बढेको हुँदा तीनमा सजिलै प्रवेश नदिने नयाँ भारतीय नीति हुनसक्छ। अथवा नेपाली विद्यार्थीहरुको स्तर घटेको र ती लायक नभएको मुल्याङ्कन गरिएको हुनसक्छ। नेपाल र भारतबिच रहिआएको राज्यस्तरको र राजनीतिक सम्बन्ध कमजोर भएको हुँदा भारतले नेपाली विद्यार्थीहरुलाई त्यति महत्व नदिएको पनि हुनसक्छ। पहिले यस्ता छात्रवृत्तिहरुमा अनियमिताहरु भएका, नेताहरुले आफ्ना छोराछोरीहरु पठाएका खबरहरु हामीले सुनेकै हौँ। हामी कमजोर भएको यो एक सङ्केत हो।

दु:ख लाग्नुको कारण अर्को पनि छ। नेपालमा उच्च शिक्षाको माग र अवसरमा यति समस्याहरु रहेछन् कि भारतका शङ्कास्पद र कमसल कलेजहरुका पनि विज्ञापन काठमान्डुकै मुटुमा देखिन थालेका छन्। यो लज्जाजनक स्थिति हो। नेपालको भन्दा नराम्रो सामाजिक-आर्थिक स्थिति रहेका केहि भारतीय राज्यमा नेपालमा उपलब्ध भन्दा तल्को स्तरका कलेजमा धेरै पैसा तिरेर नेपालीहरु जानुपर्ने स्थिती पक्कै राम्रो होइन। कोही भारतीय काठमान्डु घुम्दा उसको देशका अति कमसल कलेजहरुले पनि काठमान्डुमा यस्तो आकर्षण कमाएको देखेपछि उसले हाम्रो स्थितिको बारेमा के धारणा बनाउँछ होला? उसको देशको पिछडिएको ठाउँका कलेज पनि नेपालीहरुमाझ कति लोकप्रोय र आकर्षक रहेछ भन्ने उसले सोच्छ होला। (हुन त मलाई हाम्रा माइक्रोहरुमा बज्ने हिन्दी गीतहरुको बारे पनि यस्तै लाग्छ। धेरै भारतीयहरुले पनि कहिल्यै नसुनेका र नरुचाएका हिन्दी गीतहरु उनीहरुले नेपाल आउँदा नेपालीहरुले बस-बसहरुमा मनपराएर सुनेको देख्न पाउँछन्।)

आज काठमान्डुमा भारतमै पढ्ने बारे एउटा विशेष प्रदर्शनी कार्यक्रम हुँदै रहेछ, ठुलै होटलमा। कान्तिपुरमा पेजभरको विज्ञापन पनि छापेको रहेछ। भनेपछि आयोजकहरुले राम्रै पैसा खर्च गरेका छन्। विगतका वर्षहरुको अनुभवले खर्च अनुरुपको आम्दानी हुने पक्का भएरै यस्तो आँट आएको हुनुपर्छ। तर प्रदर्शनीमा सहभागी कलेजहरुका नाम हेर्दा अधिकांश निम्न स्तरका कमाउ कलेजहरु भएको कुरा भारतीय शैक्षिक संस्थाहरुबारे जानकारी राख्ने कसैले पनि बुझ्नसक्छ। तिनमा पढाई त्यति स्तरीय हुनेवाला छैन। तर फेरी पनि लाजकै स्थिति हो हामी नेपालीहरु धेरैलाई यी विषयमा राम्रो जानकारी छैन।

नेपालमा सबै क्रियाकलापहरुमा जोखिम बढिरहँदा र पढाईको गुणस्तर घटिरहँदा धेरै परिवारहरुको कमाई र बचत यस्तै कमसल भारतीय कलेजहरुमा लगानी हुने सम्भावना देखिँदैछ। यस्तै गतिले हाम्रो प्रगति भइरहने हो भने अबको २-३ वर्षमा सिंहदरबारकै सामुन्ने ठुला अक्षरहरुमा भारतको नागाल्याण्ड राज्यको कुनै कलेज वा बर्माको कुनै स्थानीय विद्यालयमा पढ्ने सूवर्ण अवसरका बारे विज्ञापन देख्न पाइनेछ।